जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार एवं उपचारसम्बन्धी जानकारी

१. जातीय भेदभाव तथा छुवाछुत भनेको के हो ? 

नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरूद्धको हकको उल्लेख गरिएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ कार्यान्वयनमा रहेको छ । संविधान तथा कानूनबमोजिम भेदभाव तथा छुवाछुत विरूद्धका अधिकारहरू स्थापित गरिएका छन् । साथै भेदभाव तथा छुवाछुत कार्यलाई कसूरको रूपमा परिभाषित गरी दण्ड सजायको व्यवस्था समेत गरिएको छ | 

२. जातीय भेदभाव तथा छुवाछुत विरुद्धका के कस्ता अधिकार छन् ? 

राज्यको सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने, 

देहायका विषयमा कानूनबमोजिम विशेष अवसर प्राप्त गर्ने हक रहने

  • सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा सशक्तीकरण, 

  • प्रतिनिधित्व र सहभागिताका लागि विशेष अवसर प्राप्त गर्ने, 

  • प्राथमिकदेखि उच्च शिक्षासम्म कानूनबमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षा प्राप्त गर्ने र प्राविधिक र व्यवसायिक उच्च शिक्षामा सहभागी हुने, 

  • स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने, 

  • आफ्नो परम्परागत पेशा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुने, 

3. जातीय भेदभाव एवं छुवाछुतको सम्बन्धमा के कस्तो दायित्व हुन्छ ? 

राज्यले कानूनबमोजिम देहायको व्यवस्था गर्नु पर्दछ- 

  • परम्परागत पेशासँग सम्बन्धित आधुनिक व्यवसायमा उनीहरूलाई प्राथमिकता दिई आवश्यक पर्ने सीप र स्रोत उपलब्ध गराउने, 

  • एक पटक जमिन उपलब्ध गराउने, 

  • आवासविहीनलाई बसोवासको व्यवस्था गर्ने, 

  • उल्लेखित सुविधा सबै समुदायलाई समानुपातिक रूपमा हुने, 

कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै पनि आधारमा भेदभाव गर्न नपाइने, 

कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा विक्री वितरण गर्दा कुनै प्रकारको भेदभाव नगरिने, कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न नपाइने, 

सबै प्रकारका भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा मानिने र कानून बमोजिम दण्डनीय हुने, 

त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुने । 

४. जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी के कस्ता अपराध पर्दछन ? 

जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ अनुसार प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा गरिने देहायका कार्यलाई जातीय भेदभाव तथा छुवाछुतको कसूरअपराध मानिन्छ : 

छुवाछुत गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिवन्ध लगाउने, 

व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन गर्ने, 

सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने 

वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रर्दशन गर्ने, 

सार्वजनिक सेवाको प्रयोग गर्न वा उपभोग गर्नबाट बन्चित गर्ने, 

सार्वजनिक समारोह आयोजना गर्ने वा सार्वजनिक रूपमा आयोजना हुने कुनै कार्य गर्नबाट बन्चित गर्ने, 

छुवाछूत वा भेदभाव हुने कार्य गर्न कसैलाई भड्काउने, उक्साउने वा त्यस्तो कार्य गर्न दुरूत्साहन हुने कुनै कार्य गर्न वा त्यस्तो कुनै क्रियाकलापमा जानी जानी सहभागी हुने, कुनै पनि पेशा वा व्यवसाय गर्न प्रतिवन्ध वा रोक लगाउने वा कुनै पनि व्यक्तिलाई कुनै पेशा वा व्यवसाय गर्न बाध्य गर्ने, 

कुनै धार्मिक कार्य गर्नबाट वन्चित गर्ने, 

कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, विक्री वा वितरण गर्नबाट रोक्ने वा रोक्न लगाउने, 

कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, विक्री वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र विक्री वा वितरण गर्ने वा गराउने, परिवारका कुनै सदस्यलाई बहिस्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाउँबाट निकाल्ने वा निस्कन वाध्य तुल्याउने कार्य गर्ने वा गराउने, 

उमेर पुगेका वर वधुबाट मन्जुर भएको अन्तरजातीय विवाह गर्नबाट रोक लगाउने तथा त्यस्तो विवाहबाट जन्मिएका सन्तानको न्वारान नगराउन वा भइसकेको विवाह विच्छेद गराउन कुनै किसिमले कर गर्न वा गर्न लगाउने, 

कुनै पनि व्यक्तिलाई कुनै प्रकारको श्रममा लगाउन इन्कार गर्ने वा श्रमबाट निष्काशन गर्ने वा पारिश्रमिकमा भेदभाव गर्ने वा गराउने, 

कसैले लैङ्गिक, आर्थिक, सामाजिक, साँस्कृतिक, प्रथा, परम्परा, वैवाहिक स्थिति वा जबरजस्ती करणीबाट पीडित भएको, कुनै रोग लागेको वा यस्तै अन्य कुनै आधारमा कसैलाई भेदभाव गर्ने, श्रव्य दृश्य सामाग्री, लेख रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठहर्याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउने वा दुरूत्साहन गर्ने वा गराउने, माथि उल्लेख भएका कार्यहरू गर्न मद्दत गर्ने, दुरूत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने। 

५. जातीय भेदभाव तथा छुवाछूतको कसुरमा कसरी उजुरी गर्ने ? 

जातीय भेदभाव तथा छुवाछूतको कसूर गरेको वा गर्न लागेको थाहा पाउने जोसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सकिने, 

यस्तो कसूर नेपाल बाहिर गरेमा कसुरदार बसोबास रहेको वा निज रहेको जिल्लाको नजिकको प्रहरी कार्यालयमा उजुर गर्न सकिने, 

६. उजुरी दर्ता नगरेमा कस्तो प्रक्रिया अपनाउने ? 

प्रहरी कार्यालयले उजुरी दर्ता नगरेमा वा उजुरी उपर कारबाही नगरेमा सो कुराको उजुरी राष्ट्रिय दलित आयोग वा स्थानीय निकायमा समेत गर्न सक्नेछ । यसरी प्राप्त उजुरीलाई राष्ट्रिय दलित आयोग वा स्थानीय निकायले सम्बन्धित प्रहरी कार्यालयमा लेखी पठाउनु पर्नेछ। राष्ट्रिय दलित आयोग र स्थानीय निकायबाट लेखी आएमा सम्बन्धित प्रहरी कार्यालयले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो उजुरीउपर कारवाही अगाडि बढाउनु पर्ने, 

जातीय भेदभाव तथा छुवाछूत भएको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नु पर्ने, 

यस्तो मुद्दाको अनुसन्धान गर्दा जातीय भेदभाव वा छुवाछुत पीडितहरूको हक अधिकार वा उत्थानसम्बन्धी कार्यमा संलग्न रहेका स्थानीय अगुवा, नागरिक समाज समेतको सहयोग लिन सकिने, 

यस्तो कसूरको अनुसन्धान तहकिकातको काममा वाधाविरोध गर्नेलाई अदालतले कसूरदारलाई हुने सजायको आधा सजाय गर्न सकिने, 

७. जातीय भेदभाव तथा छुवाछूतको मुद्दा कसरी दर्ता हुन्छ ? 

जातीय भेदभाव तथा छुवाछूतको मुद्दा सरकारवादी हुने, त्यस्तो मुद्दामा नेपाल सरकार वादी भै मुद्दा दर्ता हुने, 

पीडित स्वयं पक्ष भै मुद्दा दर्ता गर्नु नपर्ने, जो कोहीले उजूरी दिन सक्ने, जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दामा कस्तो कायविधि अपनाइन्छ ? 

जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दाको कारवाही र किनारा गर्दा संक्षिप्त कायविधि ऐन, २०२८ बमोजिमको कायविधि अपनाउनु पर्दछ । यस ऐनबमोजम प्रतिवादीको वयान भएको वा प्रतिवादी उपस्थित हुने म्याद भुक्तान भएको नब्बे दिनभित्र मुद्दाको किनारा गर्नु पर्दछ । 

८. निःशुल्क कानूनी सहायता कसरी प्राप्त गर्न सकिन्छ ? 

पीडितले सरकारवादी भई मुद्दा चल्ने विषय बाहेक अन्य विषयमा निःशुल्क कानूनी सेवा प्राप्त गर्न सक्दछ, 

सम्बन्धित जिल्ला कानूनी सहायता समितिबाट निःशुल्क कानूनी सहायता प्राप्त गर्न सकिने, सम्बन्धित जिल्ला अदालतमा सम्पर्क गरी बैतनिक कानून व्यवसायी बाट निःशुल्क कानूनी सहायता प्राप्त गर्न सकिने, 

९. भेदभाव तथा छुवाछूतको कसूर गरेमा कस्तो सजाय हुन सक्छ ? 

जातीय भेदभाव तथा छुवाछुतको कसूर गर्नेलाई अपराधको प्रकृतिबमोजिम अधिकतम तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रूपैयाँदेखि पच्चिस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने, 

सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय भेदभाव तथा छुवाछुतको कसूर गरेमा निजलाई पचास प्रतिशत थप सजाय हुन्छ . जातीय भेदभाव वा छुवाछुत गर्न मद्दत गर्ने, दुरूत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुने, 

१०. भेदभाव तथा छुवाछूतको कसूरबाट पीडितलाई के कस्तो क्षतिपूर्ति उपलब्ध हुन्छ ? 

अदालतले कसूरदारबाट पीडितलाई पच्चिस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म क्षतिपूर्ति भराई पाउने, क्षतिपूर्ति बाहेक कसूरदारले पीडितलाई कुनै हानी नोक्सनी पुऱ्याएको रहेछ भने अदालतले सोको प्रकृतिका आधारमा उपचार खर्च वा थप हानी नोक्सानीको मनासिव रकम कसूरदारबाट पीडितलाई भराई दिनु पर्ने हुन्छ । 

सर्वोच्च अदालत 

न्यायमा पहुँच आयोग 

रामशाहपथ, काठमाडौं 

२०७४

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url