म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र

म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र

म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र

म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।

धौलागिरि –७ ताकममा पाँच र मङ्गला–५ हाँडेभिरमा १० शैया क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । निर्माण व्यवसायीले भवन निर्माणको काम रोकेपछि यहाँका दुवै अस्पताल योजना अलपत्र परेको हो । ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आइएस एसी जेभी बुर्तिबाङ बागलुङले भुईं ढलान गरेर पिल्लर मात्रै उठाएर कामलाई अधकल्चो बनाएर छाडेको धौलागिरि –७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।

“स्थानीयस्तरमा कुनै विवाद र समस्या छैन, निर्माण व्यवसायीलाई काममा फर्कन पटकपटक आग्रह गरेका छौँ, केही दिनमै काममा फर्कने प्रतिबद्धता आएको छ”, उनले भने । ताकममा अस्पताल भवन बनाउन रु चार करोड ८८ लाख ७२ हजार एक सय ३२ मा ठेक्का सम्झौता भएको थियो । निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण  सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको २० प्रतिशत भौतिक प्रगति भएको छ ।

भवन निर्माण गर्ने समय ब्यतित गरेको उक्त कम्पनीलाई १२ औँ संशोधन नियमावलीअनुसार एक वर्षका लागि म्याद थप भएको थियो । दुईतले अस्पताल भवनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतका संरचना रहने प्रस्ताव गरिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि दीपक अढाईले बजेटको सुनिश्चितालगायतका विविध कारणले आफूले समयमै काम सम्पन्न गर्न नसकेको बताउँदै पालिकाको नेतृत्वमा सबै समस्या हल भएकाले अब छिट्टै कार्यक्षेत्रमा फर्कने बताए । उनले निर्माण सामाग्री, मेसिन उपकरण तथा जनशक्ति व्यवस्थापनमा जुटेको जनाउँदै एक सातामै कार्यक्षेत्रमा काम सुरु हुने जानकारी दिए ।

मङ्गला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेपछि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । ठेकेदारको ढिलासुस्ती र लापर्वाहीका कारण यहाँको अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । भवनको ¥याप फाउन्डेसन तयार पारी पिल्लर उठाएर छाडिएको यस योजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएको छ । पिल्लरको  संरचना ठडाएर छाडिएको छ भने रडमा खिया लागेको छ । अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौंसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता भएको थियो ।

मुख्य ठेकेदारले योजनाको काम गर्न अर्को पेटी ठेक्का लगाएको र उनीहरुबीचको आन्तरिक विवादले योजना नै अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले जानकारी दिए । पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । यस भवनको आगामी असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप भएको छ ।

पालिकाको अस्पताल भवनलाई सम्पन्न गराउन निरन्तर ताकेता गरेको र मुख्य ठेकेदार नै पालिकामा आएर केही दिनमै काम अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । मङ्गलामा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री अस्पताल  भवन निर्माण हुनेछ ।

जिल्लाको मालिका गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पतालको रुपमा सञ्चालनमा ल्याएको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार, मेसिन उपकरण, जनशक्तिलगायतको बन्दोबस्त गरेर पाँच श्ययाको अस्पताल सञ्चालनमा ल्याइएको छ । अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबामा पाँच शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ भने रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगमा निर्माण हुने भनिएको अस्पताल योजना विवाद र जग्गा व्यवस्थापनको समस्याले अझै शिलान्यास हुन सकेको छैन ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url