माधव नेपाललसँग भीम रावल र योगेश भट्टराईको ट्विटर प्रतिवाद

काठमाडौं, 

अन्तिम समयमा माधवकुमार नेपालको साथ छोडेका भीम रावल र योगश भट्टराईले माधवकुमार नेपालका विषयमा समाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

नेता नेपालले पार्टी फुटाउनुपर्छ भनेर बहस गर्ने र केपी शर्मा ओलीसँग बस्न हुँदैन भनेर ओलीसँगै जानेहरूलाई अगाडि धकेलेर भागेकाहरूको संज्ञा दिएका थिए । उनले सबल पार्टी निर्माण गर्ने हो भने दोस्रो तहकालाई नेतृत्व हस्तान्तरणका लागि तयार छु भनेर पनि बोलेका थिए । खासगरी तिनै अभिव्यक्तिलाई लिएर रावल र भट्टराईले नेपालप्रति लक्षित टिप्पणी गरेका हुन् ।

“कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने हो,” रावलले ट्विटमा लेखेका छन्, “द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो 

आज बिहान ११ बजेर ५ मिनेट जाँदा प्रकाशित रावलको ट्विटमा दिउँसो साढे १ बजेसम्म ७४ रिट्विट र ३७ कोट ट्विट भइसकेका छन् भने सयौँ रिप्लाइ पनि आएका छन् । अधिकांशले भीम रावललाई विगत सम्झाउँदै नैतिकताका कुरा नगर्न ध्यानाकर्षण गराएका छन् ।

ट्विटरमा टपरे बाहुन नाम रहेका एकजनाले कोट ट्विटमा लेखेका छन्, “प्रिय कमरेड, मैले अस्ति पनि भनेको अलि दिन चुप लाग्नुस् न मिडियामा नआइदिनुस् न । आजकल तपाईंलाई पढ्दा–सुन्दा किन–किन वाक–वाक लाग्छ के । हिजो तपाईंले गरेको फोहर यता मिडियामा अझै छ ।”

कमलप्रसाद गौतमले त रावलको ट्विट देखेर लाज लागेको टिप्पणी गरेका छन् ।  “लाज लागेर आयो यो मान्छेको छेपारे रङ देखेर, पदको लागि यो हद छि.... शब्द नै बिटुलो हुन्छ,” उनले रावललाई कोट गरेका छन् ।

सुरेश गौतम ‘गोठालो’ खोप चाहियो सरकार नाम भएका ट्विटर प्रयोगकर्ताले त रावलले कसरी लाज पचाएको ? भन्दै प्रश्न उठाएका छन् । “मान्छे ओलीको हनुमान भएपछि लाज पच्ने हो कि लाज पचेपछि ओलीको हनुमान हुने हो ?,” गौतमले कोटमा लेखेका छन् ।

अल्टरनेटिभ फोर्स ह्यान्डल भएका नेपाल पोलिटिक्स नाम राखेका प्रयोगकर्ताले भने रावलले दूतको धर्मसमेत निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् ।

“दुनियाँमा वार्ता गर्न गएका दूतहरू त्यतै गएर बसेको देखिँदैन । रावललगायत नेपालपक्षीय स्वमार्गी नेता नेपाललाई देखाएर सधैँ सुविधा लिए र अहिले फेरि पार्टीमा बसेर आफूलाई एकताका महान् सूत्रधारका रूपमा उभ्याएका छन्,” ट्विटमा लेखिएको छ, “यो तिनको नक्कली स्वरूप हो भन्ने जगत्लाई थाहा छ ।”

रावलको ट्विटमा सुरेश सुवेदी नाम गरेका ट्विटर प्रयोगकर्ताले रावलको औकात थाहा भइसकेको भन्दै बोल्नुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् ।

रावललाई सुवेदीले कोट गर्दै लेखेका छन्, “कमरेड, तपाईंको औकात थाहा भइसक्यो दुनियाँलाई, अब चुप लाग्नुस् ।”

योगेशजंग नाममका ट्विटर प्रयोगकर्ताले त रावललाई रत्नपार्कबाट ट्विटर छिरेका मुकुन्द घिमिरेसँग तुलना गरेका छन् । “यी पनि मुकेन्दभन्दा उपल्लो क्याटगोरीको नहुने भए,” योगेशजंगले लेखेका छन्, “धत् ! यिनका राजनीति । ‘लाज’ स्वयम् लजाएर धुम्टो ओढ्छ ।”

ट्विटर प्रयोगकर्ता अरुण साहले भने धकेलेको आरोप नभएर तथ्यका रूपमा प्रयोग गर्दै हात दिएर पछाडि तान्न रावललाई सुझाव दिएका छन् । “धकेलेर खाल्डोमा हालेपछि अब हात मागेर माथि तान्नुहोस्,” साहले रावललाई गरेको कोटमा लेखेका छन् ।

निर्मल भण्डारीले रावललाई नेता मान्दै आएकोमा हालत देखेर विरक्त लागेका टिप्पणी गरेका छन् । “हिजो नेता मानेर हिँडेको मान्छेको हालत यस्तो देख्दा विरक्त लाग्छ,” भण्डारीले कोटमा भनेका छन् ।

अर्का ट्विटर प्रयोगकर्ता विश्वदीप लामिछानेले रावललाई पहिला ऐना हेर्न र लाज नलागे मात्र सामाजिक सञ्जालमा लेख्न सुझाव दिएका छन् । लामिछानेले कोटमा लेखेका छन्, “ऐना हेर्नुस् महासय ! हेर्दाखेरी आफ्नै अनुहार देखेर लाज लागेन भने यता कुर्लिनुस्, नत्र भेरी, कर्णाली नजिकै छन् गएर नुहाउनुहोस् ।”

ट्विटरमा तारा नाम राखेका प्रयोगकर्ताले त रावललाई नै प्रश्न गरेका छन् । “पछाडि फर्किनको लागि के–के सच्चिइयो त ?,” ताराले प्रश्न गरेका छन्, “तपाईंहरूले वचन– कविताको माग ? कि १० बुँदे तमसुकमै सीमित हो ?”

किरणसिंह धामी नामका ट्विटर प्रयोकर्ताले फेरि दुःख पाउने भन्दै ओलीसँग बसेको गर्व नगर्न सुझाव दिएका छन् ।

“असोजको पहिलो सातादेखि के हुन्छ हेर्दै जाऊ ! गधाले नपाएको दुःख पाउनेछौ,” धामीले रावललाई प्रश्न गर्दै लेखेको छन्, “केपी ओली र उसका आसेपासेलाई सत्ताबाट बाहिरिनु कुकुरको मुखबाट हड्डी खोसेझैँ भएको छ । खोसिने पो हो कि भन्ने आशंकामा भुक्दै झम्टिन आउनेले खान लागेको हड्डी अर्कैलाई दिँदा चाहिँ यत्तिकै छोड्दिन्छ जस्तो लाग्छ ?”

पत्रकार जुगल भूर्तेलले पनि रावललाई ट्विट गर्दै प्रश्न उठाएका छन् । “उहाँले ट्विटरमार्फत माधवजीसँग वार्ता गरिरहेको हो ?,” प्रश्न गर्दै भूर्तेलले प्रश्न उठाउँदै लेखेका छन्, “आउजाउ त अझै होला कि उही लेनिनवादी तालले गद्दार–सद्दार गरिसकेर सब बाटो बन्द भइसक्या हो ?”

गौतम नाम भएका ट्विटर प्रयोकर्ताले भने रावललाई धोकेबाजको संज्ञा दिएका छन् । “लडाइँमा होमिइसकेपछि अर्कोलाई अगाडी धकेलेर आफू पछाडि भाग्ने कायर हो,” गौतमले लेखेका छन्, “तिमी अवसरवादी, भ्रमवादी छेपारोलाई जनताले राम्रोसँग चिनिसके । बेकाममा यता आयर फ्याउ–फ्याउ गर्नभन्दा बरु अलि दिन भूमिगत भयर बस के !”

शुक्रबार राति योगश भट्टराईले पनि माधव नेपाललाई लक्षित गरेर ट्विट गरेका छन् । खासगरी माधव नेपालले ‘आउनुस्, दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छु’ भनेको विषयलाई भट्टराईले ट्विटरमा जवाफ दिएका हुन् ।

“राम्रो कुरा हो, स्वागत गर्दछु,” भट्टराईले दोस्रो पुस्ताललाई दिन्छु भनेको विषयमा जवाफ लेखेका छन्, “आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।”

भट्टराईले लेखेको ट्विटमा पनि आइतबार दिउँसो साढे १ बजेसम्म ६८ रिट्विट र २८ कोट ट्विट भएका छन् । रावलको तुलनामा भट्टराईका समर्थकहरू ट्विटरमा बढी देखिएका छन् ।

ट्विटर प्रयोगकर्ता रोशन खड्काले ‘करोडौँ मूल्य पर्ने सही जवाफ’ भन्दै समर्थन जनाएका छन् भने दीपेन्द्र डिसीले ‘यो हो नि त कुरो ! त्यसो गर्ने मन छ’ भन्दै माधवकुमार नेपाललाई मेन्सन गरेका छन् ।

बराल रविन नाम राखेका ट्विटर प्रयोकर्ताले भने योगेशमा अवसरवाद देखिएको भन्दै कहिले ओलीलाई, कहिले माधवलाई धोका दिएको टिप्पणी गरेका छन् ।

“कहिले ओलीलाई पुक्क लातले हान्यो माकुनेतिर लाग्यो, फेरि माकुनेलाई पुक्क लात्ताले हान्यो ओलीतिर लाग्यो !,” रविनलले कोट गर्दै लेखेका छन्, “बैगुनी केटो यसै भन्या रैनछन् ओलीले ।”

सुदीप अधिकारीले भने भट्टराईलाई कोट गर्दै उठाएका मुद्दा सम्बोधन भए त ? भन्दै प्रश्न गरेका छन् । “अहिले त एउटै प्रश्न– उठाएका मुद्दाहरू समाधान गर्नुभयो त ?, अबको चुनावपछि थपिने प्रश्न– एमालेलाई जोगाउनुभयो त ? ‘बा’लाई देशको कार्यकारी प्रमुखमा फेरि पुर्‍याउनुभयो त ?” एउटा भन्दै तीन प्रश्न सोधेका अधिकारीले कोटमा योगशेलाई भनेका छन्, “खुराफात जोगाउन देश र जनता भुलेका असक्षम कथित दोस्रो पुस्ताका नेता !”

ट्विटरमा दाह्री नभाको तालिबान नाम राखेका प्रयोगकर्ताहरूले भने बुढा र युवा कसका कुरा पत्याउने भन्दै प्रश्न उठाएका छन् । “केटो बैगुनी भा हो कि बुढाहरू बेइमान ? एउटा बुढाले पुक्क लाताले हानेर गयो भन्थे ! अर्को बुढाले घचेटेर भाग्यो भन्दै छन !,” कोटमा लेखिएको छ ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url