खोपको पूर्ण मात्रा लगाउँदा पनि कोरोना संक्रमण किन हुन्छ ?


काठमाडौँ,

अहिले विश्वभर कोरोना भाइरसविरुद्धको खोप अभियान चालिरहेको छ । धनी राष्ट्रहरुमा त पूर्ण मात्राको खोप लगाउने उच्च मात्रामा रहेका छन् । तर धेरैको प्रश्न छ, पूर्ण मात्राको खोप लगाउँदा पनि कोरोनाको संक्रमण किन देखिन्छ त? कोहीलाई त अस्पताल भर्ना समेत हुनुपरेको छ । 

विज्ञहरुका अनुसार ‘ब्रेकथ्रु इन्फेक्सन’ हुन सक्छ । त्यो भनेको खोप लगाइसकेपछि पनि संक्रमणको सम्भावना पनि हो । खोप लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गरिराख्नुपर्ने विज्ञहरूको सुझाव छ ।

खोपको प्रभावकारिता

ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसनका अनुसार कुनै पनि खोप शतप्रतिशत प्रभावकारी हुँदैनन् । दादुरा, रुबेलाविरुद्धका खोप पनि शतप्रतिशत प्रभावकारी छैनन् । दादुराविरुद्धको दुई डोजको पूर्ण खोप ९६ प्रतिशत प्रभावकारी पाइएको छ । त्यसैगरी मौसमी फ्लूको खोप ४५ प्रतिशत मात्र प्रभावकारी हुन्छ । तर यसले अमेरिकामा प्रत्येक वर्ष हुने कम्तीमा १ लाख ३० हजारको मृत्यु हुनबाट जोगाउने तथ्यांक छ ।

फाइजर तथा मोडर्नाको खोप क्लिनिकल ट्रायलमा दुई डोजको खोप प्राप्तिपछि लक्षणसहितको कोभिडविरुद्ध ९४ देखि ९५ प्रतिशत प्रभावकारी देखिएका छन् । खोप लगाएका १०० जनामध्ये ५ देखि ६ जनामा संक्रमण हुने सम्भावना देखिएको छ । खोप नलगाउनेमा भन्दा लगाउनेमा ९४-९५ प्रतिशतसम्म नयाँ केस नदेखिएको तथ्यांक रहेको छ ।

क्लिनिकल ट्रायलमा चीनको सिनोफार्म खोप ७८ प्रतिशत प्रभावकारी देखिएको छ भने अक्सफोर्ड/एस्ट्राजेनेका खोप ६७ प्रतिशत प्रभावकारी देखिएको छ । खोपले कोभिड-१९ को संक्रमणले अस्पताल भर्ना हुने र मृत्यु हुनबाट सुरक्षा प्रदान गरेको देखाएको छ ।

खोपको पूर्ण मात्रा लिने संख्या बढिरहेको छ । केही देशहरुले कोभिड-१९ नियन्त्रण र रोकथामका लागि कडा लकडाउन गरेका छन् । खोप लगाएकालाई संक्रमण हुने सम्भावना कम रहने पनि चिकित्सकहरूको भनाइ छ । खोप लगाएकाहरूलाई कोरोना भाइरसले सिकिस्त बनाउने सम्भावना कम हुने र अस्पतालसम्म पुग्न पर्ने अवस्था पनि न्यून हुने उनीहरूको दाबी छ ।

ब्रेकथ्रु इन्फेक्सन

खोप लगाएपछि पनि कति संख्यामा कोरोनाको संक्रमण भयो भन्नेमा नेपालमा अध्ययन गरिएको छैन । अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल(सीडीसी)का अनुसार जनवरी १ देखि ३० अप्रिलसम्म १० हजार २६२ जनामा ब्रेकथ्रु इन्फेक्सन देखिएको छ । त्यतिबेला अमेरिकामा १० करोडभन्दा बढीले खोपको पूर्ण मात्रा लगाइसकेका थिए । त्यसबेलासम्म १ करोड १० लाखलाई कोरोना संक्रमण भएको थियो । यो तथ्यांकले पनि खोपका लगाएपछि ब्रेकथ्रु इन्फेक्सन हुने सम्भावना कम रहेको देखाउँछ। संक्रमण भएका २७ प्रतिशतलाई कुनै पनि लक्षण देखिएको थिएज । मे १ देखि सीडीसीले ब्रेकथ्रुका केशहरु अध्ययन गरिरहेको छ ।

अमेरिकामा अगस्ट दुईसम्म १६४ मिलियन मानिसहरुको खोप लगाइसकेकोमा ७ हजार ५२५ जनामा ब्रेकथ्रु इन्फेक्सन देखिएको थियो जो अस्पताल भर्ना तथा मृत्यु भएको थियो । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा हालसालै प्रकाशित विश्लेषणअनुसार अमेरिकाको एरिजोनामा फाइजर तथा मोडर्ना खोप लगाएका ४ हजार फ्रन्टलाइनरमा २०५ मा ब्रेकथ्रु इन्फेक्सन देखिएको थियो ।

विश्व स्वास्थ्य संगठनकी डा. केट ओ ब्रेयिनका अनुसार कोभिड-१९ विरुद्धको खोपहरु ८० देखि ९० प्रतिशत प्रभावकारी देखिए पनि शतप्रतिशत छैनन् । डा. केट भन्छिन् –‘संक्रमण भएमा खोपले काम नगर्ने भन्ने होइन । कुनै पनि खोपहरुले सय प्रतिशत सुरक्षा प्रदान गर्ने भन्ने हुँदैन । खोप सबैले लगाउनुपर्छ।’ डा. केटले खोपले संक्रमण भए पनि गम्भीर हुन रोक्ने बताउँदै अरुलाई सार्न सक्ने सम्भावना पनि कम रहेको बताउँछिन् ।

डेल्टा भेरियन्ट र संक्रमण

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले देशमा ब्रेकथ्रु इन्फेक्सनको विश्लेषण गरी एउटा अध्ययन गरेको थियो । अध्ययनमा सिनोफार्म, कोभाक्सीन, अक्सफोर्डको एउटा तथा दुईवटा खोप पाइसकेका ६७७ जनाको नाक तथा घाँटीको स्वाब लिइएको थियो । जेनेटिक विश्लेषणमा ८६ प्रतिशतलाई डेल्टा भेरियन्टको ब्रेकथ्रु इन्फेक्सन देखिएको थियो ।

त्यसैगरी एकदम संक्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध खोप कम प्रभावकारी हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनको एउटा अध्ययनमा फाइजर/मोडर्नाको खोपले लक्षणसहितको संक्रमणलाई ८८ प्रतिशतले रोक्ने तथा अक्सफोर्ड/एस्ट्राजेनेकाको खोप ६७ प्रतिशत प्रभावकारी रहेको देखाएको छ । त्यसैगरी एउटा डोज मात्र ३७ प्रतिशत प्रभावकारी देखिएको छ । कोभिड-१९ विरुद्धको खोपले अस्पताल भर्ना तथा मृत्युको संख्या कम गराएको चिकित्सकको दाबी छ ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url