अविरल वर्षाका कारण देशभर पहिरो, ६३ जिल्ला प्रभावित

काठमाण्डाै ,

आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ ।

मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा तराईकाे भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद् मानन्धरले बताउनुभयो । तराई नजिकै मनसुनी न्यूनचापीय रेखा रहिरहेकाले मनसुनी गतिविधि सक्रिय नै रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज दिउँसाे ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, राति प्रदेश-१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लगातार वर्षा भइरहेकाले तराईका जिल्लामा डुबानको जोखिम उच्च छ । यस्तै, बाढी पहिरोको खतरा पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

पाल्पा,

निरन्तरको वर्षासँगै ठाउँठाउँमा पहिरो खसेर सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण सिद्धार्थ राजमार्गको राम्दीदेखि चिडियाखोलासम्म आधा दर्जनबढी स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय पालपाले जनाएको छ ।

पहिरोले उक्त राजमार्गमा पर्ने बगनासकाली ४ को सेरा, रम्भा गाउापालिका ३ को सीता पहाड, तिनाउ ३ को सिसुवा, दोभानको पौठेडाँडा, सिद्धबाबा मन्दिर क्षेत्रमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । यस्तै सोही राजमार्गको पर्ने तिनाउ ५ को केराबारी, झुम्सा, पानीमिल, गिट्टीखानी लगायतका स्थानमा पहिरो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै जिल्लाका अन्य सडकहरु पनि पहिरोले अवरुद्ध भएका छन् । तानसेन रिडी सडकखण्डको सम्मोबारी, आर्यभञ्याङ्ग रामपुर सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

निरनतको वर्षका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । अहिले पनि निरन्तर रुपमा पानी परेका कारण सडक सुचारु गर्न समस्या भएको सडक डिभिजन पालपाले जनाएको छ । यस्तै पहिरोले जिल्लाभरकै सडक अवरुद्ध रहेको हुँदा अत्यावश्यक काम नपरी यात्रा नर्गन प्रहरी प्रशासनले अनुरोध समेत गरेको छ ।

धादिङ,

सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो । पानी परिरहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएका कारण सवारी साधनको सात किलोमिटरसम्मको लाइन लागेको छ । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

गुल्मी,

गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोले गोठ भत्काउँदा पशुचौपाया पुरेको छ । जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले पशुचौपायाहरुमा क्षति पुर्‍याएको हो । अविरल वर्षाका कारण गएको पहिरोले धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कृष्ण कुँवरको घर–गोठ भत्किँदा गोठमा रहेका दुईवटा भैंसी, पाडो र दुईवटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति भने भएको छैन । घरपरिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीको मुसिकोट नगरपालिका–८ ठूलोखर्क बस्ने नरबहादुर पौडेलको गोठ पहिरोले भत्किँदा एउटा भैंसी र एउटा पाडो मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसैगरी अविरल वर्षाकै कारण गुल्मीदरबार गाउँपालिका–३ फुर्सेका कमलबहादुर कँुवरको दुईतले टिनले छाएको गोठ भत्किँदा चारवटा बाख्रा मरेका छन् । मुसिकोट नगरपालिका–१ पौदीअमराईमा पहिरोले हीराबहादुर रानाको घर भत्किएको छ । कुनै मानवीय क्षति नभए पनि घर भने पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण गुल्मीका अधिकांश ग्रामीण सडक बिग्रेका छन् ।

रामेछाप,

अविरल वर्षापछिको पहिरोले तिलगंगा आँखा केन्द्र मार्फत रामेछापको मन्थलीमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रमा क्षति पुगेको छ । पहिरोले भवन थिचेपछि आइतबार आँखा परीक्षण तथा उपचार सेवा प्रभावित भएको छ । केन्द्रका सबै सामाग्री सुरक्षित स्थानमा सारिएको केन्द्रका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार पहिरोले केन्द्र सञ्चालनमा रहेको भवन र शौचालयमा जान सक्ने अवस्था छैन । पहिरो झर्ने क्रम जारी रहेकोले थप क्षति हुने त्रास रहेको घिमिरेले बताए । घिमिरेका अनुसार करिब ५० लाख बराबरको भवन काम नलाग्ने अवस्थामा पुगेको छ । तिलगंगा आँखा केन्द्रले तामाकोसी अस्पतालको सहकार्यमा उक्त सामुदायिक केन्द्र सञ्चालनमा ल्याएको हो ।

नवलपरासी,

अविरल वर्षाका कारण नवलपरासीको पूर्व र पश्चिम दुवै जिल्लाको जनजीवन प्रभावित बनेको छ । अविरल वर्र्षासँगै आएको बाढीपहिरोमा परी नवलपरासी पूर्वमा ३ र पश्चिममा ३ गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भारी वर्र्षात्सँगै घर माथिबाट आएको पहिरोमा परी बेपत्ता भएका नवलपरासी पूर्वहुप्सेकोट–४ माथिल्लो चारघरेका ३ जनाको शव शनिबार अपराह्न सुरक्षाकर्मीले पुरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी मधुसूदन सिंहका अनुसार पहिरोमा परी मृत्यु हुनेमा ४० वर्षीया धनमाया पुलामी, नातिनीहरु ६ र ७ वर्षका देउमाया भूमिसरा रहेका छन् । उनीहरुको शव घटनाको करिब ३६ घण्टापछि पुरिएको अवस्थामा घटनास्थलमै भेटिएको थियो । प्रहरी र स्थानीयबासीले शुक्रबार दिनभर बेपत्ताको खोजी गरे पनि उनीहरुलाई फेला पार्न सकिएको थिएन । शनिबार करिब ५० सुरक्षाकर्मी परिचालन गरी खोजतलास गर्दा पुरिएको अवस्थामा ३ जनाको शव फेला परेको हो । सोही पहिरोमा परेका घरमुली हस्तबहादुर पुलामीलाई भने घटनालगत्तै स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए ।

त्यस्तै, बाढीपहिरोबाट नेपालमा हालसम्म ६३ वटा जिल्ला प्रभावित भएका छन् । जेठ ३१ देखि भदौ ११ गतेसम्म बाढीपहिरोका कारण ६३ वटा जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यो मनसुनमा बाढीपहिरोका कारण ९० जनाले ज्यान गुमाइसकेका छन् । ४५ जना बेपत्ता र ९६ जना घाइते भएको विपद् जोखिम न्यूनीकरण प्राधिकरणको विवरणमा उल्लेख छ । यसैगरी ४० जिल्लामा ७५९ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १६८ वटा घरमा आंशिक क्षति भएको छ ।

बाढीपहिरोका कारण ३७ वटा सरकारी कार्यालय, १५ वटा सामुदायिक भवन–स्कुल, २५ वटा जलविद्युत आयोजना, २९ वटा मोटरेबल पुलमध्ये ७ वटा काठेपुल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ । बाढीका कारण बाजुरामा एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् । त्यस्तै ११ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५ वटा घरमा आंशिक क्षति भएको छ । गोरखामा बाढीबाट चार जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै १६ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ५८ वटा घरमा आंशिक रुपमा क्षति भएको छ ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url