सत्ताको भोगी किरो बाँसुरी बजाइरहेछ - सस्मितका गजलहरु

नाम : शिव सस्मित 

वास्तविक (देवीप्रसाद शर्मा)

प्रकाशित कृति: 

१. डायरीमा टाउकेहरू हास्यव्यङ्ग्य 

    निबन्धसङ्ग्रह २०६९

२. बहाब गजल सङ्ग्रह  २०७२

३. धुमिल आकाश शैक्षिक उपन्यास २०७२

४. विलोकन मुक्तक सङ्ग्रह २०७५


विभिन्न पत्रपत्रिका तथा अनलाइनमा थुप्रै फुटकर रचना प्रकाशन पहिलोपटक भावना छापिएको परिकल्पना साहित्यिक द्वैमासिक जुन जामुनाखर्क माविले प्रकाशन गर्थ्यो त्यहीँबाट साहित्यिक यात्रा शुरु।



बाँसुरी बजाइरहेछ

सत्ताको भोगी किरो बाँसुरी बजाइरहेछ
कुर्चीमा बसेर निरो बाँसुरी बजाइरहेछ ।

प्राणवायु नपाई छट्पटिएका दर्शक हेर्दै,
रङ्गमञ्चबाटै हिरो बाँसुरी बजाइरहेछ ।

महङ्गीको खारमा जाकेर आफै जनता,
मन्त्री भनाउँदो पिरो बाँसुरी बजाइरहेछ ।

वैद्य, डाक्टर, कलाकार सबै ठानेर आफैँ,
बुद्धि विवेकको जिरो बाँसुरी बजाइरहेछ ।

बसी सुरक्षाको घेरामा भएको जेथा सबै,
कुटुक्क पार्दै धमिरो बाँसुरी बजाइरहेछ ।

२०७८/२/३


मातातीर्थ औँशी

अपार त्यस्तै अपरीमित प्यार देखिन्छ आमाभित्र,
निर्मल निश्चल प्यार सदाबहार देखिन्छ आमाभित्र ।

अनेक ठक्कर खाई बग्ने अविचलित नदीजस्तै,
सङ्घर्षको अनौठो त्यो धार देखिन्छ आमाभित्र ।

सन्तानकै खुशी लिई आफ्नो मनको दैलो पोत्ने,
त्याग अनि धैर्यताको संस्कार देखिन्छ आमाभित्र ।

जतिसुकै होऊन् सन्तान मनमा सबैजना अट्ने,
मायाको नि बराबरी सञ्चार देखिन्छ आमाभित्र ।

यो सृष्टि र यो प्रकृति आमा नै हुन् साक्षात देवी,
हेर्न जानौँ बुझ्न सकौँ संसार देखिन्छ आमाभित्र ।

२०७८/१/२८ (मातातीर्थ औँशी)
सम्पूर्ण आमाहरूमा समर्पित


रात रह्यो भने

रात रह्यो भने यदि अग्राख पलाउँछ,
कसैको मनमा कुनै चाख पलाउँछ ।

दुई चार रुपैयाँ नरोप्नेको पनि यहाँ,
खै कताबाट लाखौँलाख पलाउँछ ।

ज्यानभन्दा जब प्यारो लाग्छ माटो,
काश्मिर पलाउँछ, लद्दाख पलाउँछ ।

प्रेमको मोल हुँदैन तर जोख्ने हो भने,
अरुको लाख आमाको काख पलाउँछ ।

जसले विवेक कसैको गुलाम बनाए,
तिनको अब कहिले साख पलाउँछ ?

२०७८/१/१५


खुकुरी बजाउँछ

अचानो बजाउँछ आफैँ खुकुरी बजाउँछ,
खसी सम्झेर मान्छेलाई निठुरी बजाउँछ ।

व्यवस्थाको सहरमा आफैं झोसेर आगो,
कुर्चीमा टाँसिएर 'निरो' बाँसुरी बजाउँछ ।

हिजो जनताले उस्लाई के घोडा चढाएथे,
श्रीपेचको लालसामा आज धुरी बजाउँछ ।

घर घर पठाई झुटा समृद्धिका पुलिन्दा,
खोपीमा बसी किसानका मजुरी बजाउँछ ।

याद गर्नु भोलि त्यसलाई दास बनाउनेछ,
जस्ले आज उस्को पाउमा चुरी बजाउँछ ।।

२०७७/९/२७


उस्तै भयो - I

धर्मी पनि उस्तै भयो पापी पनि उस्तै भयो,
शीत पनि उस्तै भयो तापी पनि उस्तै भयो ।

खुशी थिए अलिकति खोलिएन मन्को दैलो,
ताला पनि उस्तै भयो चापी पनि उस्तै भयो ।

लुटिएको जायजेथा अझै फिर्ता आएन खै,
नक्सा पनि उस्तै भयो नापी पनि उस्तै भयो ।

प्यास मेट्ने केले होला धमिलो छ जताततै,
खोला पनि उस्तै भयो वापी पनि उस्तै भयो ।

लेख्न खोजेँ आफ्नो भाग्य लेखिएन कसैगरी,
मसी पनि उस्तै भयो कापी पनि उस्तै भयो ।
२०७७/७/१४


उस्तै भयो -II

आगो पनि उस्तै भयो पानी पनि उस्तै भयो,
मूर्ख पनि उस्तै भयो ज्ञानी पनि उस्तै भयो ।

सोचे जति घुमेन खै जिन्दगीको जाँतो पनि,
हातो पनि उस्तै भयो मानी पनि उस्तै भयो ।

सम्बन्धको हिसाबकिताब मिलेन खै कसै,
लाभ पनि उस्तै भयो हानी पनि उस्तै भयो ।

न त ऊ धनी बन्यो न त उसको सकियो क्यै,
माग्ने पनि उस्तै भयो दानी पनि उस्तै भयो ।

धेरै हल्ला नगर भो दोष दिनु नि कस्लाई,
साने पनि उस्तै भयो सानी पनि उस्तै भयो ।

२०७७/८/२५


उस्तै भयो - III

चाचा पनि उस्तै भयो नाना पनि उस्तै भयो
दाना पनि उस्तै भयो खाना पनि उस्तै भयो ।

लेख्छु भन्थेँ आफ्नो भाग्य आफ्नै हातबाट,
मसी पनि उस्तै भयो पाना पनि उस्तै भयो ।

मनमा ओत्ने ठाउँ छैन वेदनाको झरी पर्दा,
धुरी पनि उस्तै भयो छाना पनि उस्तै भयो ।

पटक पटक भरेँ रहर दुई मुठी नै पुग्दैन खै,
पाथी पनि उस्तै भयो माना पनि उस्तै भयो ।

कता कता मिलेन खै सुर ताल जिन्दगीको,
लय पनि उस्तै भयो गाना पनि उस्तै भयो ।।

२०७७/११/०५


दाइले भाइ चिनाएन

दाइले भाइ चिनाएन भाइले दाइ चिनाएन,
समयले नि आफ्नो अनि पराइ चिनाएन ।

जसको लागि बाँसझैं नुँगेका थियौ तिमी,
हेर ! आखिर उसैले तिम्रो उचाइ चिनाएन ।

सडकमै त टायर देखायो गणतन्त्रले पनि,
नागरिकलाई प्रगतिशील सोचाइ चिनाएन ।

विदेशिनु रहर नभै बाध्यता भो उस्ले भन्यो,
- स्वदेशले खान पुग्ने गरी कमाइ चिनाएन ।

मैले कोरिरहें उसले आत्मसन्तुष्टि दिइरह्यो,
तर मेरो सिर्जनाले भीडमा मलाई चिनाएन ।

२०७७/६/१७


उस्तै भएपछि

गलेर पो के भो रात, दिन उस्तै भएपछि
ढलेर पो के भो रात, दिन उस्तै भएपछि

खरानीको रासमाथि, परेड खेल्न आफै
जलेर पो के भो रात, दिन उस्तै भएपछि

गोराहरुको कालोबजार, तस्करीका कुम्भमेला
चलेर पो के भो रात, दिन उस्तै भएपछि

हिंसाकारी जनावर, भूतप्रेत पिचाश ती
छलेर पो के भो रात, दिन उस्तै भएपछि

निमुखाका कल्पनामा, आकाशका फलहरु
फलेर पो के भो रात, दिन उस्तै भएपछि  ।

©सस्मित
यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url