होमवर्क बच्चालाई चाहिन्छ कि अभिभावकलाई ? अभिभावकले बुझ्नै पर्ने कुरा

होमवर्क बच्चालाई चाहिन्छ कि अभिभावकलाई ? अभिभावकले बुझ्नै पर्ने कुरा

विद्यालयबाट घर फर्किएपछि बच्चाहरुले होमवर्क गर्नुपर्ने हुन्छ । दिनभर विद्यालयमा पढेको कुरालाई पुनः स्मरण गर्न सकोस् भन्नका खातिर दिइएको यस्तो होमवर्क अहिले भने बिरालोलाई घण्टी बाँध्ने परम्परा जस्तै भएको छ । हरेक विद्यालयले के बुझेका छन् भने, विद्यार्थीलाई होमवर्क दिनैपर्छ । र, विद्यार्थीले पनि के बुझेका छन् भने विद्यालयका लागि होमवर्क गरिदिनुपर्छ । यस्तो बुझाई अभिभावकमा समेत पाइन्छ । अभिभावकहरु चाहन्छन्, छोराछोरीले होमवर्क गरोस् ।

विद्यालयबाट घर फर्केपछि मात्र होइन, बिदाको समयमा समेत बच्चाहरुले होमवर्क गर्नुपर्ने हुन्छ । उनीहरुलाई बिदाको समयमा पढाइबाट अन्यत्र नमोडियोस् भनेर होमवर्क दिइन्छ । अहिले गर्मी लाग्दैछ । यो मौसममा गर्मीको बिदा हुन्छ । यसै मेसोमा एक विद्यालयले बच्चालाई होइन, अभिभावकलाई होमवर्क दिएको कुराले चर्चा पाएको छ । प्रसंग भारत, तामिलनाडुको हो । त्यहाँको एक उच्च माध्यामिक विद्यालयले पाँचौ कक्षामा अध्ययनरत विद्यार्थीका बुबाआमालाई होमवर्क दिएको कुराले सोशल मिडिया तताएको छ ।

यस्तो होमवर्क अन्नाई भायलेट मेट्रीकुलेशन एन्ड हायर सेकेन्डरी स्कुलले होमवर्कका लागि अभिभावकलाई पत्रचार गरेको हो । यस पत्रमा अभिभावकका लागि १७ बुँदामा काम दिइएको छ । यो होमवर्क वास्तवमा उपयोगी छ । बच्चालाई कसरी घरमै व्यवहारिक शिक्षा दिलाउने भन्ने सन्दर्भमा उक्त विद्यालयले दिएको होमवर्क उपयोगी हुनसक्छ । 

  1. अभिभावकले दिनमा दुई पटक आफ्ना बच्चासँगै खाना खानुपर्नेछ 

  2. खाना खाइसकेपछि आफ्नो भाँडाबर्तन बच्चालाई धुन सिकाउनुहोस् 

  3. बिदाको समयमा अभिभावकले आफ्ना बच्चालाई खाना बनाउन पनि सिकाउनुहोस्

  4.  बच्चालाई लिएर छिमेकीको घर जानुहोस्, आफ्नो कार्यलयमा पनि लिएर जानुहोस्

  5. टिभी, मोबाइल, कम्प्युटर जस्ता विद्युतिय यन्त्रबाट बच्चालाई टाढै राख्नुहोस्  

किन अभिभावकलाई होमवर्क ?

यसरी अभिभावकका लागि जारी गरिएको होमवर्कको बिषयमा विद्यालय व्यवस्थापकको आफ्नै तर्क छ । उनीहरुका अनु्सार, ‘अभिभावकसँग बच्चाको लागि समय छैन । आमाबुबा अफिसमा । बच्चा दिनभर मोबाइलमा व्यस्त हुन्छन् । त्यसैले हामी चाहन्छौं कि, अभिभावकले धेरै समय बच्चासँग व्यतित गरोस् ।’

खासमा बच्चालाई सामाजिक जीवन बाँच्न सिकाउन यस्तो अभ्यास गरिएको विद्यालयको भनाई छ । विद्यालयमा बच्चालाई पुस्तक पढ्न लगाइन्छ । घरमा अभिभावकले पनि त्यस्तै गर्छन् । तर, यसले उनीहरुमा व्यवहारिक परिपक्कता नआउन सक्छ । त्यसैले उक्त विद्यालयले घरमै व्यवहारिक ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यताका साथ अभिभावकलाई होमवर्क दिएको पाइन्छ । विद्यालयका अनुसार बच्चाहरुलाई अब सामाजिक जीवन बाँच्न पनि सिकाउनुपर्छ । खासगरी ६ देखि १० बर्ष उमेर समूहका बच्चाको सामाजिक विकास र पढाई एकसाथ अगाडि बढाउनुपर्छ ।

बिदामा बच्चालाई होमवर्क किन ?

अहिले हामीकहाँ पनि होमवर्क दिनैपर्छ भन्ने मान्यता छ । हरेक विद्यालयले बिदाको समयमा बच्चाहरुलाई होमवर्क दिएर पठाउँछ । होमवर्क यस्तो हुन्छ कि, उसले विदा अवधीभर होमवर्कमै ध्यान लगाउनु परोस् । अभिभावक पनि के ठान्छन् भने, फुर्सदमा बच्चाहरुलाई होमवर्क दिइयो भने उनीहरु अन्यत्र भुल्दैनन् । पढाईमा ध्यान दिन्छन् । तर, यो सकारात्मक कुरा होइन । अहिलेका बच्चामा मानविय संवेदना, सामाजिक सोंच-चिन्तन कम हुँदै गएको छ । बच्चालाई केवल पढाईमा मात्र केन्द्रित गर्दा उनीहरु सामाजिक जीवनबाट ओझेल पर्दैछन् । यो सही होइन ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url