पढाउनेको इच्छाले पढाउँदा बच्चाले सिक्दैनन्, उनीहरुका इच्छा यति गरे थाहा हुन्छ

पढाउनेको इच्छाले पढाउँदा बच्चाले सिक्दैनन्, उनीहरुका इच्छा यति गरे थाहा हुन्छ

नयाँ शैक्षिक सत्र सुरु भएको छ । केही समयको विश्रामपछि विद्यार्थीहरु बिद्यालय फर्केका छन् । हामी विद्यार्थीलाई होइन, शिक्षकलाई पढाउँछौं । शिक्षकलाई त्यही कुरा पढाउँछौं कि, तिमीले क्लास- रुममा पढाउनुपर्दैन । पढाउने अर्थात घोकाउने शिक्षा अहिलेको आवश्यक्ता होइन । किनभने हामीले विद्यार्थीलाई अहिले पाठ्यपुस्तक घोकाइरहनु आवश्यक छैन । उनीहरु आफै जान्ने छन् । अहिलेका बच्चाहरुसँग जानकारीको कमी छैन । उनीहरुलाई भूगोल, प्रविधि, इतिहास, विज्ञान धेरै कुराको जानकारी छ । यस्ता जानकारी उनीहरुले स्मार्टफोन, ल्यापटपको माध्यामबाट हासिल गरिरहेका छन् ।

विद्यार्थीलाई जानकारीको कमी छैन

अक्सर हाम्रो शिक्षा पद्धती अनुसार शिक्षकले जे-जति जानेका छन्, ति सबै विद्यार्थीले जान्नुपर्छ भनिन्छ । अर्थात शिक्षकले जानेको कुरा विद्यार्थीलाई सिकाउँछन् । जुन विद्यार्थीले शिक्षकको कुरा हु-बहु भन्न, लेख्न सक्छन्, उनीहरु ‘अब्बल’ हुन् । तर, अहिलेको परिस्थिती त्यस्तो छैन । बच्चाहरुसँग आफैमा जानकारीको अथाह भण्डार छ ।

भनिन्छ, जानकारी भनेको ज्ञान हो । र, ज्ञान भनेकै शक्ति हो । आफुमा जान्ने उत्सुकता मेट्न अहिलको बच्चाहरुले अनेक माध्याम पाएका छन् । उनीहरुको हातमा स्मार्टफोन छ, ल्यापटप छ । इन्टरनेटमा जोडिएर उनीहरुले संसारभरका जानकारी संकलन गर्न सक्छन् । संग्रहित गर्न सक्छन् । अहिलेका बच्चाहरुलाई समयले जिज्ञासु बनाएको छ । उनीहरु आफ्नो जिज्ञासा मेट्नका लागि गुगल सर्च गर्छन् । विभिन्न अनलाइन सामाग्रीहरु पढ्छन्, हेर्छन् । यसर्थ अहिलेका बच्चालाई निर्धारित पाठ्यपुस्तक घोकाउनु, रटाउनु, पढाउनुको अर्थ छैन । महत्व छैन । त्यसो गर्नु भनेको विद्यार्थीको क्षमतालाई संकुचित बनाउनु हो । त्यसैले बच्चाहरुलाई अब शिक्षकले पढाउने नभई सहयोग गर्ने मात्र हो ।

क्लासरुममा शिक्षक होइन, सहयोगी

हामी शिक्षकलाई शिक्षक भन्दैनौ । फेसिलेटर भन्छौं । अर्थात सहजकर्ता । सहयोगी । क्लासरुममा बसेर विद्यार्थीलाई सहयोग गर्ने । अबको शिक्षकले शिक्षक नभई सहयोगीको रुपमा खटिनुपर्छ । विद्यार्थीलाई पढाउनुपर्दैन । उनीहरु आफै पढ्छन्, आफै सिक्छन् । त्यसमा हामीले सहयोगीको भूमिका मात्र खेल्ने हो । अब शिक्षकले क्लासरुममा प्रवेश गरिसकेपछि विद्यार्थीलाई नियन्त्रण गर्ने, कुनै कुरा पढ्न, घोक्न लगाउने, अनुशासनको नाममा डर-त्रास देखाउने होइन । बरु, उनीहरुका लागि सहजकर्ता बन्ने हो । विद्यार्थीले जान्न चाहेको, बुझ्न चाहेको कुरा सिकाउने हो ।

बच्चालाई त्यही कुरा सिकाउने, जो उसले सिक्न चाहेको छ

अब पुरातन ढर्रामा हामी अगाडि बढ्न सक्दैनौं । बच्चालाई जबरजस्ती हामी आफुले चाहेजस्तो बनाउने होइन । अभिभावकले चाहेजस्तो पनि होइन । डाक्टर, इन्जिनियर, पाइलट नै बनाउने भन्ने होइन ।

हरके बच्चाको आ-आफ्नै क्षमता हुन्छ । उनीहरुको आ-आफ्नै रुची हुन्छ । त्यही रुची, क्षमतालाई पहिल्याउन सक्नुपर्छ । अतः बच्चाको रुची र क्षमताको आधारमा उनलाई के कुरा सिकाउने भन्ने निक्र्यौल गर्नुपर्छ । त्यसैले हामीले शिक्षकलाई सहजकर्ता भनेका हौं । बच्चालाई जबरजस्ती ज्ञान भरिदिने नभई, बच्चाले सिक्न चाहेको कुरामा सहजकर्ताको भूमिका खेलिदिने । बच्चालाई हामीले जे बनाउन चाहन्छौ, जबरजस्ती त्यस्तै बनाउने होइन । बरु बच्चा आफु के बन्न चाहन्छन्, के सिक्न चाहन्छन्, त्यसमा सहयोग गरिदिने हो ।

बच्चालाई त्यसरी सिकाउने, जसरी सिक्न चाहन्छ

सामान्य ज्ञानको कुरा हो, कुनैपनि कुरालाई बुझ्ने क्षमता सबैको एकनास हुँदैन । एउटै कुरा कसैले सजिलै बुझ्छ भने कसैले जटिल ढंगले । एउटै कुरा कसैलाई सहज लाग्छ, कसैलाई जटिल । बच्चाको हकमा हामी के गर्छौ भने, एकसाथ कुनै कुरा भन्ने र त्यो सबै उनीहरुले खरर भन्न सकोस् भन्ने चाहन्छौ । यो एकदमै त्रुटीपूर्ण सोंच हो । हरेक बच्चाले कुनैपनि कुरा सिक्ने ढंग, शैली फरक हुन्छ । उनीहरुलाई हामीले त्यसरी नै सिकाउनुपर्छ, जसरी उसले सिक्न चाहेको छ । यस किसिमको सिकाई पद्धती बच्चाको लागि प्रभावकारी र जीवनोपयोगी हुन्छ ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url