विश्वव्यापी बढ्दै विद्युतीय गाडीको माग

सय वर्षअघि अमेरिकामा मोटरगाडीले घोडालाई विस्थापित गरेको थियो। विद्युतीय गाडीको हालको गणितीय वृद्धिले सन् २०४० सम्म विश्व अटो बजारमा पेट्रोलियमबाट चल्ने गाडीको आधिपत्य समाप्त हुने अवस्था देखिएको छ। त्यतिबेला कच्चा तेलको माग  हालको कोइलाको जस्तै हुनेछ र प्रतिब्यारेल कच्चा तेलको मूल्य १५ अमेरिकी डलरमा झर्नेछ।यसले विश्वमा ठूलो आर्थिक तथा सामरिक प्रभाव पार्नेछ।

पछिल्ला वर्षमा यातायात क्षेत्रमा भएको क्रान्तिले अपेक्षा गरेभन्दा अत्यधिक गति लिएको छ।सन् २०२० मा विश्वमा विद्युतीय गाडीको संख्या एक करोड छ। पछिल्ला वर्षमा यस्ता खाले गाडीको वृद्धिदर ४० प्रतिशतभन्दा बढी छ।

बीसौं शताब्दीको सुरुमा मोटर गाडीप्रति जुन आकर्षण देखिएको थियो, त्यही आकर्षण र वृद्धिदर अहिले विद्युतीय गाडीमा देखिएको छ। यही क्रम जारी रहने हो भने सन् २०४० सम्म विश्व अटो बजारको ६० प्रतिशत हिस्सा विद्युतीय गाडीले लिनेछन्।सन् २०५० मा यो हिस्सा बढेर ९० प्रतिशत पुग्नेछ।

अन्तर्राष्ट्रिय इनर्जी एजेन्सी (आइइए) ले अनुमान गरेभन्दा बढी विद्युतीय गाडी बजारमा आउनेछन्।आइइएले सन् २०४० सम्म विद्युतीय गाडीको संख्या ३३ करोड पुग्ने प्रक्षेपण गरेको छ। यो अनुमान कार्बन ट्र्याकर र इम्पेरियल कलेज लन्डनले गरेको अनुमानसँग मिल्छ।उता ब्लुमवर्गले त्यति बेला विश्वका अटो बजारको ३० प्रतिशत हिस्सा विद्युतीय गाडीले लिइसकेको हुने आकलन गरेको छ।

विकसित देशको तुलनामा चीन र विकासोन्मुख देशले विद्युतीय गाडीप्रति अनिच्छा देखाउँदा विश्वमा तेलको मूल्यमा आउन सक्ने गिरावट केही वर्ष पछि धकेलिने अपेक्षा गरिएको थियो।तर सन् २०२० मा विद्युतीय गाडीको रजिस्ट्रेसनमा चीनले युरोपलाई उछिनिसकेको छ। हाल ४५ लाख गाडीसहित चीन विद्युतीय गाडीको सबैभन्दा ठूलो बजार बनेको छ।

कोभिड–१९ महामारीले कारको मागमा अत्यधिक ह्रास आए पनि विकासोन्मुख देशसहित विश्वका अधिकांश देशमा विद्युतीय गाडीको माग निरन्तर बढेको छ।विश्वका अधिकांश उदीयमान बजारले विद्युतीय गाडीप्रति रुचि देखाएका छन्।बजारमा विद्युतीय गाडीका नयाँनयाँ ब्रान्ड आउँदा चीनको विद्युतीय गाडी बजारमा मूल्यमा ठूलो प्रतिस्पर्धा देखिएको छ।यसबाट यस्ता गाडीको मूल्य उल्लेख्य हिसाबले घटेको छ।

अमेरिकामा अटो उद्योग सुरु हुँदा फोर्ड कम्पनी तथा क्राइस्लरसहित सयौं कम्पनीले प्रतिस्पर्धा गरेजस्तै अहिले चीनमा ४ सय कम्पनीले विद्युतीय गाडी उत्पादन गर्छन्। विद्युतीय गाडीमा आवश्यक पर्ने ब्याट्रीको मूल्यमा आएको कमीले यी गाडीको मूल्य अन्य मोटर गाडीको मूल्यसँग प्रतिस्पर्धी बनेको छ। विद्युतीय गाडीमा हाल सबैभन्दा लोकप्रिय मानिएको टेस्ला मोडल–३ भन्दा चीनको एसएआइसी मोटरले बनाएको गाडी सस्तो र प्रतिस्पर्धी देखिएको छ। केही हजार डलर मूल्यमा उपलब्ध एसएआइसी मोडेलका गाडी विकासोन्मुख देशमा सबैभन्दा बढी  खरिद हुन सक्ने गाडी बन्ने देखिएको छ।यस्ता देशमा सुरुमा भोल्सवागेन, बिट्ल र अन्य मोडलका गाडी लोकप्रिय थिए। त्यही हिसाबले यी देशमा यस्ता विद्युतीय गाडी लोकप्रिय हुने देखिएको छ। 

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url