सप्तकोसीमा पानीकाे बहाव यस वर्षकै उच्च

काठमाण्डाै,

सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज आइतवार दिउँसाे यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनअनुसार सप्तकोसीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेक प्रति–सेकेन्ड बहाव पुगेको छ । नदीको बहाव बढेसँगै कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।

यसअघि साउन ३२ गते कोसीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्युसेक प्रति–सेकेन्ड बहाव मापन गरिएको थियो । पछिल्लाे मापनले त्याे रेकर्डलाई उछिनेको हाे ।  पूर्वका धेरैजसाे भेगमा वर्षा भइरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा रहेकाे देखाएको छ । जसका कारण कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आँकलन गरिएको छ । 

यसैबीच निरन्तरको वर्षासँगै कोसीको बहावमा उतार–चढाव देखिँदा सुनसरीकाे श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान गर्न थालेको छ । नदीमा आएको उतार–चढावका कारण यसअघिका हप्तामा कटान भएकाे त्याे क्षेत्रको कतिपय ठाउँमा फेरि कटान सुरु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही ठाउँमा कटान गरेको खबर प्राप्त भएको बताउनुभयाे । उहाँका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअसहितको टोली कोसी क्षेत्रको निरीक्षणमा निस्किएको छ । 

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url