महेश बस्नेतको प्रस्ताव - संघीयता र धर्मनिरपेक्षताको बहस

    काठमाडौं,

तातो विषयका रुपमा उठिरहेको संघीयता र धर्मनिरपेक्षताको बहस नेकपा एमालेभित्र औपचारिक रुपमा पसेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता महेश बस्नेतले धर्म निरपेक्षता र संघीयताको विषयमा पार्टीभित्र औपचारिक रुपमा बहस उठाउनुभएको छ । 

जारी केन्द्रीय समितिको बैठकमा उहाँले विभिन्न आठ विषय प्रस्ताव गर्नुभएको छ । तीमध्ये धर्मनिरपेक्षता र संघीयता पनि छ । नेता बस्नेतले मुलुकको विशिष्ट पहिचान के हो भन्ने पहिचान गरी घोषणा गर्न पनि प्रस्ताव गर्नुभएको छ । केन्द्रीय समितिको आजको बैठकमा मन्तब्य राख्दै उहाँले आठ प्रस्ताव राख्नुभएको हो । उहाँले ‘संघियताको बारेमा समीक्षा गरौं’ भनेर लिखित प्रस्ताव गर्नुभएको हो । त्यसैगरी धर्मनिरपेक्षताको सन्दर्भमा भने ‘बहस गरौं’ शब्दावली प्रयोग गरेर उहाँले लिखित प्रस्ताव पनि नेतृत्व समक्ष दिनुभएको छ ।

एमालेभित्र धर्म निरपेक्षता र संघीयताको विषयमा सामान्य बहस हुने गरेको भए पनि यसरी केन्द्रीय समितिमा औपचारिक रुपमा बहस तथा लिखित मत भित्रिएको थिएन ।  नेता बस्नेतले केन्द्रीय समिति बैठकमा बोल्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको छ । उहाँले एकजना व्यक्ति दुई कार्यकाल भन्दा धेरैपटक प्रधानमन्त्री नबनाउने संवैधानिक ब्यवस्था गर्नुपर्ने विचार राख्नुभएको छ । 

नेता बस्नेतले पार्टी अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकाल भन्दा धेरै बस्न नपाउने व्यवस्था पनि प्रस्ताव गर्नुभएको छ । पार्टी तथा राज्यका विभिन्न पदहरुमा ४० प्रतिशत युवालाई ठाउँ दिन पनि प्रस्ताव गर्नुभएको छ ।  नेता बस्नेतको प्रस्तावसँगै अब एमालेभित्र धर्म निरपेक्षता र संघीयताको औचित्यमा व्यापक बहस हुने अपेक्षा गरिएको छ । 

आफूले उठाएका विभिन्न विषयहरु राष्ट्रिय जीवनको अत्यन्तै महत्वपूर्ण विषय भएकाले यी विषयलाई सम्बोधन गरिनुपर्ने नेता बस्नेतले बताउनुभएको छ । उहाँले केन्द्रीय समिति बैठकमा पार्टी महाधिवेशनमा पेस गरिने राजनीतिक प्रतिवेदन सहितका दस्तावेजहरु, विधान संशोधन प्रस्ताव तथा आम चुनावको घोषणा पत्रमा धर्म निरपेक्षता, संघीयता लगायतका विषयलाई सम्बोधन गर्न कार्यदल बनाउनुपर्ने प्रस्ताव पनि गर्नुभएको छ । 
यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url