मानिसको उत्पति कहाँ भएको हो ?

मानिसको उत्पति

हामी नेपालका नेपालीहरु चाहे जुनसुकै समुदायको होस् ,आफ्नो ईतिहास खोज्नका लागि कोही दखिनतिर आँखा तानी तानी हेर्छौं । कोही मुख आँ गरेर उत्तरतिर हेर्छौं । अझ आफुलाई नेपालको खाँटी भूमिपुत्र भन्न चाहनेहरु आफुलाई मङ्गोलियाबाट बसाईँ सरेर आएको मङ्गोलवंश भनेर गर्व गर्छन् । के मङ्गोलियाबाट बसाईँ सरेर आएका मङ्गोलहरु नेपालको भूमिपुत्र बन्न सक्छ ? नेपालको भूमिपुत्र हुनलाई त नेपालकै धर्तीले थापेर, नेपालकै आकाशले छोपेर नेपालकै धार्तीमा सृष्टि भएको जीवबाट विकाश भएको मानिस हुनुपर्छ ।

के नेपालमा जीवको सृष्टि हुन सक्तैन ? के नेपालमा मानववंशको विकास हुन सक्तैन ? आजको यक्ष प्रश्न यो हो। नेपालका हिमालयपुत्र शेर्पाहरुमा यति र म्हितिको अवधारणा र मान्यता छ । यति हिमालमा माथि माथि बस्ने हिममानव हो । म्हिति चाहिँ हिमालमा तल तल फेदीमा बस्दछ । हिउँमा पनि बस्छ, जमिनमा पनि बस्छ, कहिले कहिँ चौँरीगोठमा पसेर चौँरीको दूध दही चोरेर खाइदिन्छ भन्ने मान्यता पनि छ। म्हिको अर्थ मानिस हो । अत: हिममानव यतिबाट म्हि(पूर्णमानव) बन्नु भन्दा अघिको अवस्था म्हिति हो । यसरी यति-म्हिति-म्हि भएर म्हि(मानिस) को विकास भएको छ । आधुनिक वैज्ञानिकहरुले पनि बाँदरबाट मान्छे बनेको भनेकाछन् । बाँदरबाट मान्छे बन्नु भन्दा अघिको अवस्थालाई Pithecus भन्दछ । आधुनिक वैज्ञानिकहरुका अनुसार बाँदर-Pithecus र मानिस भए जस्तै शेर्पाहरुको यति -म्हिति र म्हि(मानव) विकासको अवधारणा बडो वैज्ञानिक छ तर हामीलाई अर्काको कुरा धेरै सुन्ने बानी परिसकेकाले आफ्नो रैथाने विचारलाई वास्ता नगरेको मात्रै हो

गुरुङहरुमा यती र म्हितिको अवधारणा छैन तर गुरुङहरुमा मान्छे हराए हिमालमा खोज्न जानू भन्ने मान्यता छ । यसको आशय यहाँ हराएको मान्छे हिमालमा पाइन्छ भनेको होइन कि मानिसको बीउ हराए हिमालमा खोज्न जाउ भनेको हो । यसबाट म्हि (मानिस) को सृष्टि हिमालमा भएको हो भन्ने गुरुङहरुको अवधारणा रहेको स्पष्ट हुन्छ । मान्छे अथवा आफ्नो पुर्खाको सृष्टि हिमालमा भएको हुँदा गुरुङहरुले मान्छे मरे पछि आफ्नो पितृको हंसको विसर्जन पनि हिमालमा नै गर्दछन् ।

हाम्रो गाउँमा एउटा वंशावली छ । त्यस वंशावली अनुसार कलियुगको अन्तिम पाउमा सबै जमिनलाई पानीले डुबाउँछ । केवल हिमालय मात्र बाँकी रहन्छ । त्यस हिमगिरिकाण्डमहा पूर्व दिशातिर एकजना मेहेर( पुरुष) र पश्चिमतिर एकजना मेहेरी( स्त्री) बाँकी रहन्छ।ती दुई मेहेर( पुरुष) र मेहेरी( स्त्री) को जोरान हुन्छ । तिनैले सृष्टि गर्छ र सत्ययुग शुरु हुन्छ भनेको छ । यसरी मानिसको सृष्टि हिमालबाट भएको हो र फेरि पनि हिमालबाटै मानिसको सृष्टि हुनेछ भन्ने सत्यता पुष्टि हुन्छ ।

यस पृथ्वीमा जीवको सृष्टि सवभन्दा पहिले नेपालमा भएको हो । मैले पटक पटक यो कुरा भनी रहेको छु । मलाई यस्तो नचाहिँदो कुरा नगर, मर्ने बेलामा दु:ख पाउलास् भनेर डर ,धम्की र ध्वाँस पनि दिइरहेको छ । मैले कसैले अह्राएर यो कुरा लेखेको पनि होइन, कसैलाई रिझाउन यो कुरा लेखेको पनि होइन । आफ्नै मन ज्ञानले यो कुरा लेखेको हुँ र जगतको हितका लागि आफ्नो मनको कुरा लेखि रहनेछु ।

अहिले हिमाल उत्तरतिर छ, समुद्र दखिनतिर छ तर अघि समुद्र उत्तरतिर थियो । समुद्रको पिँध भरिए पछि पानी जति तलतिर बग्यो र उत्तरतिर हिमाल बन्यो।त्यो महाप्रलयकालमा जलजन्तुहरु एक ठाउँमा थेग्रिए र ती जलजन्तुहरु जीवाश्ममा परिणत भए, जसलाई हामी शालिग्रामको रूपमा पूजा गर्दछौँ । ती शालिग्राम नेपाल वाहेक अन्त पाइँदैन । यसरी यस पृथ्वीमा सबभन्दा पहिले जीवको सृष्टि नेपालमा भएको हो भन्ने प्रमाणित हुन्छ । त्यसकारण शालिग्रागी कालीगण्डकीको मुहान दामोदरकुण्ड यस पृथ्वीमा सबभन्दा पहिले जीवलाई गर्भ धारण गर्ने धर्तीमाताको उदर हो । त्यसकारण सबभन्दा पहिले हामीले हाम्रा यी वैज्ञानिक तथ्यहरुलाई बुझ्नु पर्दछ र अरुलाई पनि राम्ररी बुझाउन सक्नुपर्छ । केवल अर्काको सिद्धान्तलाई मात्रै घोकेर आफुलाई विद्वान् भनाउन सुहाउँदैन ।

अर्को कुरा सबै विदेशीहरु बदमास हुँदैनन् । विदेशीहरु असल पनि हुन्छन् । नेपाललाई माया गर्ने पनि हुन्छन् । त्यस्ता विदेशी विद्वानहरुले नेपालमा अनुसन्धान गरेर नयाँ तथ्यहरु पत्ता लगाएकाछन्। विदेशीले जस्तरी हामीले गहिरिएर अनुसन्धान गर्न सकेका छैनौँ । विदेशीहरु एउटा विषयको अनुसन्धानका लागि आफ्नो जीवन अर्पण गरेका हुन्छन् तर हामी जान्नु न सुन्नु , आफू केही गर्दैनौँ, अर्काको कुरा काटी हिँड्छौँ।

Perdita Pohle नामक एकजना जर्मन विद्वानले मुस्ताङको कागवेणी र बाह्रगाउँ इलाकामा प्रागैतिहासिककालका मानिसहरुले ढुङ्गाको पहरोमा खोपेका कलाकृतिहरुको अध्ययन गरेर नेपाल सरकार, पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपालको संख्या १५३(२०६०) को पृ.१-१४ मा त्यस सम्वन्धी एउटा महत्त्वपूर्ण आलेख प्रकाशित गरेकाछन् । काक निङबा,ते र समर यी तीन ठाउँको अध्ययनबाट उनले ती ठाउँका ढुङ्गाका पहरोमा लेखिएका विभिन्न पशुपंक्षीका आकृतिलाई प्रागैतिहासिककालका मानिसको कलाकृति मानेका छन् । यस मध्ये नाउर( Blu Sheep ) को एउटा आकृति नमूनाका लागि यहाँ प्रस्तुत गरिएको छ । पोहलेले यहाँका यी कलाकृतिहरुलाई नवपाषाणकाल भन्दा अघिको मानेकाछन्।ई.पू. ३००० देखि ई.पू .७००० सम्म नव पाषाणकाल मानिएको छ।यसरी नव पाषाणकाल भन्दा अघिको भने पछि यी कलाकृतिहरु ई. पू.७००० भन्दा अघिको देखिन्छ।अर्को मार्मिक कुरा पोहलेले यी कलाकृतिहरु अहिले बाह्रगाउँ इलाकाका सेक्ये( से भाषा) बोल्ने समुदायका पुर्खाका हुन् भनेकाछन् ।

थाकखोलामा टुकुचेदेखि पारिपट्टी कालीगण्डकीको बायाँतिरको पाखामा अवस्थित चोखोपानीमा प्रागैतिहासिक चिहान फेला परेको छ । त्यहाँ माटाका भाँडाहरु फेला परेको छ । अहिले माटाका भाँडाहरु कपिलवस्तुको तिलौराकोटको संग्रहालयमा राखिएकाछन् । पुरातत्त्वविद् देवेन्द्रनाथ तिवारीको यस सम्वन्धी लेख प्राचीन नेपाल, संख्या ८५(२०४१), पृ. १- १२ मा प्रकाशित छ।चोखोपानीको गुफा चिहानमा पाइएका यी माटाका भाँडाहरुलाई ई.पू. १००० भन्दा अघिको मानिएको छ ।

David P.Jackson ले अमपालले मुस्ताङलाई स्वतन्त्र राज्य कायम गर्नु भन्दा अघि उपल्लो कालीगण्डकीक्षेत्रमा सेरिब नामक राज्य अस्तित्त्वमा थियो भनेकाछन् । त्यस सेरिब राज्यमा तमाङ, से, मोन आदि समुदायको बसोबास थियो भनेकाछन् ।KAILASH, Vol.VI, Num.3! PP. 195-227 मा Jackson को यस सम्वन्धी लामो लेख छापिएको छ।

Ramble नामक विद्वानले बाह्रगाउँ इलाकामा बोलिने सेक्ये (से भाषा) को बारेमा राम्रो अध्ययन गरेकाछन् । मुस्ताङको बाह्रगाउँ इलाकामा बोलिने भाषा सेक्ये( से भाषा) को नामबाट प्रसिद्ध छ । बाह्रगाउँदेखि मुस्ताङ सात थपौला लोक्षेत्रमा बोलिने भाषालाई लोक्ये (लो भाषा) भनिन्छ तापनि यो लोक्ये (लो भाषा) तिब्बती भाषा नै हो । फरक छैन । एक दुइवटा लवज फरक होला त्यत्ति हो। थाकखोलाका चाहे पाँचगाउँले थकाली होस् वा चाहे थाक सातसयका थकाली होस् , सबै थकालीको भाषा एउटै छ तर बाह्रगाउँलेको से भाषाले मुस्ताङ सात थपौलाको भाषा र थाकखोलाको थकाली भाषासंग भिन्नता राख्दछ। मुस्ताङ सात थपौलाको तिब्बती Dialect र थकाली भाषाको बीचको अवस्था से भाषा हो। संस्कृत भाषाबाट प्राकृत हुँदै नेपाली र हिन्दी आदि भाषाहरुको विकाश भए जस्तै मुस्ताङ सात थपौलाको लोक्ये तिब्बती Dialect बाट से भाषा हुँदै थकाली भाषाको विकास भएको छ ।

बाह्रगाउँलेको से भाषा र मनाङ्गे भाषा एक समान छ । बाह्रगाउँ र मनाङको बीचमा भाषागत समानता मात्रै नभएर उनीहरुको बीचमा कुटुम्बेरी पनि चल्दछ।यसबाट मनाङ्गे भाषा पनि से भाषा नै हो भन्ने बुझिन्छ । बाह्रगाउँको से भाषाबाट थकाली भाषाको विकास भए जस्तै मनाङ्गे भाषाबाट लमजुङेँ गुरुङ भाषाको विकास भएको छ ।

गुरुङहरुले आफ्नो प्राचीन भाषालाई चोँक्युई ( चोँ भाषा) भन्दछ । चोँनाँस भनेको उच्चभूमि High Land हो।त्यसकारण चोँक्यई ( चोँ भाषा) भनेको High Lander हरुको भाषा हो । अहिले मनाङ्गेहरुले जुन भाषा बोल्दछन् र मुस्ताङको बाह्रगाउँ इलाकामा जसलाई सेक्ये ( से भाषा) भन्दछ, गुरुङहरुको चोँक्युई त्यही भाषा हो। गुरुङहरुले आफुलाई तमु भन्दछन् तर गुरुङहरुको प्ये( पुरानो कथा) मा गुरुङलाई से भनेकोछ, जस्तै- सोँबु से र कुबु सेको कथा प्रसिद्ध छ। यसबाट गुरुङहरु गुरुङ र तमु भनेर जानिनु भन्दा अघि आदिमकालमा से भनेर जानिदो रहेछ भन्ने प्रष्ट हुन्छ । यसबाट से भाषा बोलिने मुस्ताङको बाह्रगाउँक्षेत्रका ती ई. पू.७००० वर्ष अघिको प्रागैतिहासिक मानवका कलाकृतिसंग प्रकारान्तरले गुरुङहरु पनि जोरिन पुग्छ्न् ।

त्यसकारण आफ्नो ईतिहास केलाउँदा तलतिर र माथीतिर नहेरेर आफ्नै धर्तीमा आफ्नै आकाश मुन्तिर आफ्नै ढुङ्गा र माटो जिलाउनु पर्छ । आफ्नै धर्ती , आफ्नै आकाश र आफ्नै ढुङ्गा- माटोबाटै आफ्नो साँचो ईतिहास निस्कन्छ। दामोदरकुण्डको जीवाश्म र बाह्रगाउँको मानव संसाधनको विकाशको थलो ती ढुङ्गामा कोरिएका प्रागैतिहासिक कलाकृतिको क्षेत्र संगसंगै छ । अत: आफ्नो थात थलो पहिचानौँ, सम्पदाको संरक्षण गरौँ र नेपाल राष्ट्रको गौरव बढाउँ । यसबाट सर्व लोकको कल्याण होस् ।

🎓️✍  डा. जगमान गुरुङ

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url