स्वास्थ्यकर्मी कविता - सरिता गौतम
सरिता गौतम |
म महिला , एक नर्स !
न बिदा लिन मिल्छ
न बिदा दिन मिल्छ !
म घर बसे तिमीलाइ कस्ले हेर्छ ?
म माथि यत्रो दुर्व्यवहार किन गर्छौ ?
म जस्तो अर्को कोही बनाउन
तिमी फेरि २०-२५ बर्ष कुर्छौ ?
त्यतिन्जेल त तिमी
यो धर्ती पनि छाडिसक्छौ ।
तिमीलाइ धर्ती देख्न सघाउने पनि म !
मरणपछि सघाउने पनि म !
आँखा खोल्दा पनि म
आँखा बन्द गर्दा पनि म !
सुख मोजमस्ति तिमी एक्लै गर्छौ !
जब चोट लाग्छ ! दुख हुन्छ ,
जब रोग लाग्छ ! दुख हुन्छ ,
अनि चाहिन्छ डाक्टर , नर्स
अनि अरु स्वास्थ्यकर्मी !
अब भन !
आफ्नो ज्यान नभनी ,
दिन र रात नभनी ,
घाम र पानी नभनी ,
आफ्नो पीडा मारेर तिम्रो लागि लड्नु
मैले कुनै अपराध गरेको हो र ?
तिमी मात्र हैन तिमी जस्ता हजार !
तिम्रा आफन्त तिम्रा नातेदार !
सबै सबैको सेवामा खटेको लगातार !
हौसलाको बदलामा तेर्साउँछौ हातहतियार !
यो कस्तो न्याय हो ?
यो कस्तो सजाय हो ?
पिपिइभित्र प्रसब पीडाले छट्पटिदै
पसिना र रगतमा लुट्पुटिदै !
पौडी खेल्दै पिपिइभित्रै !
मात्र तिम्रै सेवामा खटिन्छु म ,
न खाना खाएँ ,
न चर्पी गएँ
न त खोल्न मिल्यो ,
न त तिमीलाइ एक्लै छोड्न मिल्यो !
अब बुझ यो दुख !
तब पो पाइएला सँगै सुख !
तिमी हाम्रो हौसला बढाउ ,
दुःख सुख जे भए पनि घरमै बसेर सघाऊ ,!
गार्हो पर्दा आऊ !
नत्र कदापि नआऊ!
आऊ आऊ मिलेर यो कोरोनालाइ भगाऊँ
एक हुल भएर चोकमा निस्केर हैन ,
बिनाकाम बाटोमा निस्केर हैन ,
घरमै बसेर ! हात धोएर ! मास्क लगाएर !
नुहाएर ! सफा भएर !
तिमी त घरमा बस्न मिल्छ नि !
अनि पो पाइन्छ त शान्ति !
म त एक नर्स !
न बिदा लिन मिल्छ !
न बिदा दिन मिल्छ !
सास
यो जिन्दगी,
केवल एक मुठ्ठी सासमा अड्केको छ ।
कति खेर फुस्किन्छ ?
कति खेर खोसिन्छ
अत्तो पत्तो छैन ।
यति हतार हतार गरेर,
लाखौं लाख कमाएर,
रिंगटा लाग्ने गरि
पसिना छुट्ने गरि
यत्रो मेहेनत गरेर के गर्नु
आखिर कति खेर फुस्किन्छ
अत्तो पत्तो छैन !
सम्पती छ भनेर धाक किन ?
मर्दा लाने केही छैन !
अरबौ अरब कमाएपनी ,
मृत्यु भन्दा अघि को छ र
चिहान भन्दा अघि को छ र
एक मुठ्ठी सास
कति खेर फुस्किन्छ
अत्तो पत्तो छैन ।
न गरिब न धनी कोहि भन्दैन !
चिहान र धन कदापी तौलिन मिल्दैन ।
सास रहुन्जेल ,
सुखले बाँच्नु ,
खुसीले बाँच्नु ,
एक मुठ्ठी सास हो
कति खेर फुस्किन्छ ,
अत्तो पत्तो छैन ।
©तेजस्वी सरिता गौतम
राप्ती -७ चितवन