यात्रा

राजमार्गबाट एउटा पक्की तर सानो बाटो उकालो लाग्यो। मलाई पछ्याउन मन लाग्यो। आधा किलोमीटर जति पछि बाटोले कालोपत्रे फुकाल्यो। 

मैले चलाइ रहेको होंचो गाडीलाई अप्ठेरो नपर्ने जस्तो मानेर पछ्याउन छोडिन।

घरहरु पछाडि छुटे। बन र मुनि खोला, फाँटमा तोरीबारीले मात्र साथ दियो। 

अलि पर बाटोमा स्कूल ड्रेसमा एक्लै हिड्दै गरेकी भेटिइन यी नानी। सुस्त गाडी नजिकै रोकें, र केही जानकारी लिन खोजें, नयाँ ठाउँबारे। 

'नमस्ते!'

उनी मुस्कुराइन मात्र। र टक्क अडिइन। केही बोलिनन। 

'आज त शुक्रबार पनि हैन, अनि यतिबेला (साढे एक बजेको थियो) कसरी यता तिर आउनुभयो त नानी?'

फेरि टक्क अडिइन मात्र, मुस्कुराउँदै। केही बोलिनन। 

अब मलाई नै डर जस्तो लाग्न थाल्यो।

त्यो उभ्याइ र मौनतामा एउटा सहजता र निर्भीकता थियो। डर वा लाज थिएन। 

उनले गाडी भित्रे हेरिन। खाली थियो, म बाहेक। अगाडि र पछाडि स्लो मोशनमा हेरेपछि फेरि मुस्कुराइन। 

'मेरो घर अलि माथि हो। म बसम?' 

मलाई हुन्छ भन्नै पर्ने बाध्यतामा परेको महसूस हुँदाहुँदै पनि धेरै कुराको आँधीबेहरी मनमा खेलेको जस्तो लाग्न थाल्यो। गाडीबाट ओर्लेर बाहिर निस्कें। उनी पट्टी गएँ। पछाडिको ढोका आँफै खोलें। मुस्कुराउने प्रयास गर्दै उनी गाडी भित्र पसेको हेरें। 

आफ्नै अनेक भावनाहरुसँग पैठाजोरी खेल्दै चुपचाप ढोका ढ्याप्प पारिदिएँ। र अगाडि आएर ड्राइभर सिटमा बसें। 

म गाडी स्टार्ट गर्दागर्दै नै कसरी कुरा शुरु गरौं भनेर सोच्दै थिएँ, उनी बोल्न थालिन्।

'डर लाग्दैन हजुरलाइ? यसरी एक्लै हिड्न?' स्पष्ट आवाजमा सँधै चिने जस्तै गरि सोधिन्। 

'किन नि? हजुरलाई डर लाग्छ र?' 

'मेरो त घर हो यो। यहाँको सप्पै कुराले मलाई चिन्छ। हजुर पो बाहिरबाट आउनुभाको।' 

'नाम के हो नि हजुरको?'

अलि कडा स्वरमा नाम भनिन्। 

'सपना परियार। अनि, हजुरको नि?'

'दिनकर। घर वालिङ। .... एक्लै हिड्दा, घर बाहिर हिड्दा अप्ठ्यारो त हुन्छ। तर डर लाग्दैन। घर छोडेपछि धेरै कुरा सिकिन्छ।'

'आज डान्स प्र्याक्टिस भनेर छिटो छुट्टी भयो।' 

'ए। म त यस्सै घुम्न आएको। नयाँ बाटो खोज्दै।'

'यो गाउँ धाक्से हो। अलि माथि मन्दिर छ। मन्दिर थिम हाम्रो गाउँ छ। त्यो भन्दा माथी बन छ। बन भन्दा अझै माथी कोट छ।'

'ए। ए। गाडी जान्छ?' 

'हजुर। माथी कोट सम्म नै जान्छ।' 

'ए। ए।' 

'हजुर सँधै एक्लै हिड्नुहुन्छ?'

'धेरै जसो त्यस्तै पर्छ।' 

'यो स्यान्डल हजुरको म्याडेमको हो?'

पछाडि फर्केर हेरें। एक जोडी स्यान्डल रहेछ सिट मुनि।

अगाडि एउटा खाल्डोमा घन्द्रक्क भयो गाडीको एउटा पाङ्रो। भर्खरै प्लास्टर खोलेको दाहिने हात दुख्यो बेस्सरी। 

'उ त्यही हो मेरो घर त। माथी कोटसम्म बनको बाटो छ। हजुर एक्लै नजानु। म त्यो मन्दिर माथी सम्म जान्छु। हजुर पनि फर्किनु त्यहींबाट।' 

किन किन मलाई धेरै प्रश्न गर्ने कुरा नै आएनन्। कति धेरै कुराहरु एकैपल्टमा दिमागले प्रोसेस गर्दै थियो। सायद जीवनमा पहिलोपटक कुनै वार्तालापमा म आँफु नियन्त्रणमा थिइन। 

मन्दिर नजिकै गाडी रोकें। 

अगाडि खुला भ्यु। आँधीखोला फाँटमा पहेंलपूर तोरी फुलेको। बीच बीचमा कतै रातो टीका जस्तो, कतै खत जस्तो फापर खेती।  राजमार्गमा लहरे बजार। वरिपरि बन। र यस्सो तल सुन्तलाबारी। 

धेरै बेर छेउमा बसेर हेरी रहें। निक्कै बेर पछि उनको आवाज आयो। सँगै भएको पनि बिर्सेको रहेछु।

'ल अब छिटो मन्दिरको फोटो खिचेर जानू। रात पर्छ नत्र हजुरलाई घर पुग्न।'

यस्तो यात्रामा फोटो खिच्न भन्दा अनुभुतिमा नै म रमाउँछु।

'मन्दिरको त खिच्दिन। हजुरसँग एउटा सेल्फी खिच्छु है।'

'मेरो त फेसबूक छैन अहिले। म नौमा छु। दस पास भएपछि बल्ल बनाउँछु फेस्बूक।'

'दस पास भएपछि के गर्ने?'

'म त कलाकार बन्ने हो। डान्स सिकेर।' 

' हिरोनी हुनी?'

'त्यस्तै जसतै।  सकिन्छ कि सकिन्न कुन्नी तर... !' 

'अरुले त नसक्ने बनाउन खोज्छन्। तर कसैको कुरा नसुनेर त्यही मात्र ध्यान दिएर जसरी पनि गरेरै छोड्छु भने सकिन्छ।'

'हामी त बाउ छोरी जस्तो देखियो।' सेल्फीको पोजका लागि नजिकै हुँदा फोनमा हेरेर हाँस्दै भनिन्। 

म बेस्सरी हाँसे। मेरो बुवा छत्तीस बर्षको हुँदा म सत्र वर्षको थिएँ। झन् बढी हाँसो लाग्यो।

जुरुक्कै उठें। 

कहिलेकाहीं नसोचेको ठाउँबाट ब्रह्माण्डले सन्देश दिँदो रहेछ। कहिलेकाहीँ ईश्वर सचेतनाका लागि नसोचेको रूपमा प्रकट हुन्छन्। र कहिलेकाहीँ अनर्थमा अनेक अर्थ लुकेको हुन्छ। 

'मेरो घर हिड्नुस। बुवा आमा सँग भेटाउँछु। पानी र सुन्तला खाएर जानू होला।'

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url