भो आमा, अब म पढ्न जान्न - आयुष बडाल

भो आमा,अब म पढ्न जान्न !

किताब बोक्ने झोलामा नअटाउने
ति अजङका किताबलाई
हातमा बोकेर
हस्तका नशा फुलाइ फुलाइ
हड्डी दुखाइ दुखाइ
भो आमा, अब म पढ्न जान्न।

हातमा किताब
अनि
काँधमा झोला भिरेर
अलिकति  टेक्ने ठाउँ समेत नहुने
उपत्यकाको लोकल बस जस्तो स्कुल बस चढेर-
भो आमा,अब म पढ्न जान्न।

बल्ल बल्ल गुन्द्रक खादिए जसरी
बसमा कोचि कोचि विद्यालय पुग्यो
फेरि लाइन बस्नु पर्ने रे चौरमा-
कभर अप र ह्यान्ड साइड गर्न
अनि
लेफ्टराइट गर्दै चौरको परिक्रमा गर्न
हरे!
किताब अनि त्यो स्कुल बसले
शिथिल बनाएको मेरो शरीरलाई
थप थङथिलो बनाउन सक्दिन
भो आमा,अब म पढ्न जान्न।

अझै-
जुत्ता किन पोलिस गरिनस्
खैरो मोजा किन लाइनस्
आइडि कार्ड किन लाइनस्
जस्ता नानाथरी प्रश्नको जवाफ दिन नसक्दा
सारा विद्यार्थीको अगाडी घुँडा टेकि
तिम्रो बेइज्जत गर्न
भो आमा, अब म पढ्न जान्न।

सहनु जति पीडा सहेर
कक्षाभित्र छिर्यो-
कोहि मास्टर
आउछन्
पैतालिस मिनेट
खररर स्वस्थानी पढे जसरी किताब पढ्छन्
अनि आफ्नो बाटो लाग्छन्।

कोहि मास्टर
आउछन्
त्यहि किताब नि पढ्दैनन्
एक दुई जनाले हल्ला गरेको
निहुँमा
सबै विद्यार्थीलाई ४५ मिनेट थर्काउछन्
अनि आफ्नो बाटो लाग्छन्।

कोहि भने आउछन्
पढाउदै नपढाइ अभ्यास दिन्छन्
भोलिपल्ट आउछन्
होमवर्क चेक गरे जस्तो गर्छन्-
नआएर नगरेको भन्यो भने थर्काउछन्
चुप लागेर बस्यो भने
तिघ्रा भरि सुम्ला बसाइदिन्छ्न्
अनि बाटो लाग्छन्।

आमा,
बरु तिमिले पढेको स्वस्थानी नै सुन्छु
तिमिले गरेको गालीमा नै डराउछु
तिमिले कुटेको नै सहन्छु
भो आमा,अब म पढ्न जान्न।
 
बेकाम का गणित र विज्ञानका
पुराना सुत्रहरु रटेर
आइन्स्टाइनका पुराना सिद्धान्तहरु घोकेर दिमागलाई नचाइदो भारी बोकाउन
भो आमा,अब म पढ्न जान्न।

बा को लिटरका लिटर पसिना लगेर स्कुलमा खनाउछु
त्यसको बदलामा मैले सिक्दिन-
आफ्नै भूमिमा पसिना निकाल्ने तरिका
तर मैले त सिक्छु-
परदेशमा बोटबाट पैसा टिप्ने तरिका।
यस्ता वाइयात कुरा सिक्न
भो आमा, अब म पढ्न जान्न।

- आयुष बडाल
यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url