श्रीलङ्कामा गम्भीर आर्थिक सङ्कट

श्रीलङ्कामा आजदेखि डिजल बिक्री बन्द, दैनिक १३ घण्टा लोडशेडिङ

श्रीलङ्कामा गम्भीर आर्थिक सङ्कट

काठमाण्डाै, 

गम्भीर आर्थिक सङ्कट भोगिरहेको दक्षिण एसियाली श्रीलङ्कामा आज बिहीवारदेखि डिजलको बिक्री ठप्प भएको छ। विदेशी मुद्रा नहुँदा आयात रोकिएको र भण्डारणमा रहेको डिजल सकिएकाले आजदेखि श्रीलङ्कामा बिक्री बन्द भएको समाचार संस्था एएफपीले जनाएको छ।

डिजल नहुँदा सार्वजनिक गाडी, उद्योग कलकारखाना र विद्युत् उत्पादन गर्ने प्लान्ट पनि सञ्चालन हुन सकेका छैनन्। पेट्रोल पम्पको बाहिर कैयौँ किलोमिटर गाडीको लामो लाइन लागेको खबरमा उल्लेख छ। श्रीलङ्काका यातायात मन्त्री दिलम मुनुगामाले देशसँग निकै थोरै मात्र डिजल रहेको र यो डिजल अत्यावश्यक कामका लागि मात्रै वितरण हुने बताउनुभएको छ। 

यस्तै हिजो बुधवार १० घण्टा लोडशेडिङ गरेको सरकारले आजदेखि दैनिक १३ घण्टा लोडशेडिङ गर्ने भएको छ। इन्धन र बिजुली उपलब्ध नभएपछि नागरिकले आक्रोशित हुँदै प्रदर्शन गरेका छन्। इन्धन र स्वास्थ्य सामग्रीको अभावका कारण कैयौँ सरकारी अस्पतालले शल्यक्रिया सेवा बन्द गरेका छन्। रसायन आपूर्ति गर्ने पैसा नहुँदा प्रयोगशालाको काम पनि ठप्प भएको छ। 

श्रीलङ्काले स्वतन्त्र देशको मान्यता पाएयताकै खराब आर्थिक सङ्कटमा परेको छ। चुनाव जित्नका लागि यसअघिको सरकारले गरेको घर कर छुट, कोरोना महामारीका कारण पर्यटक आगमन रोकिनु लगायतका कारण श्रीलङ्का आर्थिक सङ्कटमा फसेको हो।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url