दशै पर्व र यसको सामाजिक महत्त्व

विजयादशमी

दशैं वा बडा दशैं (अन्य नाम: दशहरा, विजयादशमी, नवरात्र, आयुध-पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ ।

यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

दशैं वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन् : चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ।

रावणको विशाल पुतला बनाएर जलाईन्छ। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो। दसैँ पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ।

सामाजिक महत्व

भारत तथा नेपाल कृषिप्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुसी एवम् उमङ्गको सीमा हुँदैन।

यस खुसीको अवसरमा भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र बर्मा (म्यानमार)मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ।

नेपाली समाज

दशैं नेपालीहरूको सबैभन्दाविशेष पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’का नामले पनि चिनिन्छ।

हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्य देखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ |

यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी,विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।

घटस्थापना

आश्विन शुक्ल पक्षदेवी भागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी-देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ ।

प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँ घरमा चलिआएको अन्न छरिन्छ ।

दशै पर्व र यसको सामाजिक महत्त्व


जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ ।

अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ। ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश।

पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । षष्ठी तिथिमा विशेष कार्य-: बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन विशेष कार्य-: दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ ।

अष्टमीमा विशेष कार्य-:कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र -हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा विशेष कार्य-:नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ।

यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ ।

नौ रात्रिसम्म पूजा गरेर दशौं दिन विहान टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ । जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ ।

जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ।

पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url