अविरल बर्षाका कारण काठमाडौँका धेरै ठाउँहरु जलमग्न

काठमाडौं,

वंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको मिश्रण हुँदा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यरातदेखि भारी वर्षा भइरहेको छ । जसका कारण यो क्षेत्रका सबै साना ठूला खोला तथा नदीहरुमा बाढी आइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनप्रसाद अर्यालले दिएको जानकारीअनुसार राती २ बजेदेखि मेघ गर्जनसहित भएको भारी वर्षा अझै रोकिएको छैन । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ‘हामीले हिजै वागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेका थियौं । राती २ बजेदेखि काठमाडौं आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ,’ उनले नेपाल प्रेससँग भने, ‘एयरपोर्ट वर्षा मापन केन्द्रमा रातीदेखि अहिले ७ बजेसम्म १ सय ५ मिलिलिटर वर्षा भएको छ । बुढानीलकण्ठ, भक्तपुर, बबरमहल केन्द्रमा पनि १ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।’

अघिल्लो साता झरीपछि चार दिनदेखि मौसममा सुधार भएको थियो । चर्को घामका कारण स्थानीय वायु सक्रिय भएको र बंगालको खाडीबाट उत्तर पश्चिम क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण नेपालतर्फ आएको जलवास्पयुक्त हावाका कारण वागमती प्रदेशका क्षेत्रहरुमा भारी वर्षा भएको अर्यालले जानकारी दिए । भारी वर्षाका कारण काठमाडौं उपत्यकाको वागमती, विष्णुमती लगायतका ठूला नदीहरुमा भीषण बाढी आएको छ । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ । काभ्रेको मुख्य बजार बनेपाल पूर्ण रुपमा जलमग्न बनेको छ । प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सजग रहन भनेको छ ।

तीजमा घाम लाग्ने

नेपाली हिन्दू नारीहरुको महान चाड तीन नजिकिँदो छ । दुई दिनअघिको यो भीषण वर्षापछि मानिसहरुले यसवर्ष हिले तीज हुने चिन्ता गर्न थालेका छन् । मौसमविद् अर्यालले तीजमा मौसम सुधार भइसक्ने अनुमान गरेका छन् । ‘आज र भोलि दिउँसोसम्म वर्षा हुनेछ । भोलि रातीदेखि मौसममा सुधार आउनेछ ।’ यसवर्ष तीज विहीबार परेको छ । मौसमविद् अर्यालले बुधबारदेखि नै मौसममा सुधार आउने बताएका छन् ।

काठमाण्डौमा ३ सय ८२ वटा घर डुबानमा

काठमाण्डौ उपत्यकामा रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । ३ सय ८२ वटा घर डुबानमा परेका र १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् । वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् ।

सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाण्डौसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ । वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । अहिले पानी पर्न कम भएपछि नदी, खोलामा पानीको सतह घट्दैछ ।

अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो। उनका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ। भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ। मौसमविद् अर्यालका अनुसार अहिले बागमती प्रदेशभरि वर्षा भइरहेको छ। केही घन्टाअघि लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो।

काभ्रे,

आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।  डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url