शिक्षकलाई अपमान गर्ने अधिकार युट्युबरले कहाँबाट कसरी पाए ?

कतिजनाको आमालाई किचेनको स्पेलिङ थाहा छ ? कतिका आमालाई स्ट्रगलको स्पेलिङ थाहा छ ? र, कतिको बुवालाई लाइफको स्पेलिङ लेख्‍न आउँछ ? नआए पनि कसरी उहाँहरूले जीवन र संघर्ष सिकाउन सक्नुभएको होला ? हो अहिलेका धेरै विद्यावारिधि गरेकाहरूलाई स्पेलिङ नआउने गुरुबा आमाले नै पढाएका हुन् । उहाँहरूले विज्ञान राम्ररी पढाउनुहुन्छ, लेख्‍नुहुन्छ तर साइन्सको स्पेलिङ आउँदैन । उहाँहरूले भूगोल पढाउनु हुन्छ । तर जिओग्राफी जान्‍नुहुन्‍न । गणित पढाउनु लेखाउनु हुन्छ तर म्याथम्याटिक्स जान्‍नुहुन्‍न । 

अंग्रेजी भाषा नजान्‍ने, क्यामेराअगाडि बोल्न डर मान्‍ने र सोझा सिधा शिक्षक अझै पनि धेरै छन् । जोसँग पढेर धेरैजना महान् डाक्टर, इन्जिनियर, मन्त्री, प्रधानमन्त्री बनिसके । तर उहाँहरूको स्थिति त्यही पुराना काठका डेस्क बेन्चसँग खेल्दैमा बितेको छ । के अंग्रेजीमा केही लेख्‍न नआउदै बेइज्जतको भागेदार बन्‍नुपर्ने ? हुन त टिचर खोजेकाहरूलाई गुरुबा गुरुआमाको महत्व र सम्मानबारे के थाहा ? हाम्रा लागि क्लासमा फरर अंग्रेजीमा लेक्चर दिएर जाने टिचरभन्दा जीवन सिकाउने अंग्रेजी नजान्‍ने कुना कन्दरामा बसेका गुरुबा गुरुआमा ठीक हुन् ।

यसको अर्थ शिक्षकहरू त्यही अवस्थामा रहने भन्‍ने होइन । त्यसको विषयमा छुट्टै बहस गर्न सकिन्छ । तर, गुरुबा गुरुआमाहरूको यस प्रकारको बेइज्जत गर्ने युट्युब स्टन्ट घातक हो । पाका उमेरका शिक्षक शिक्षिकाहरूले त्यो बेला कसरी आफूले शिक्षा हासिल गर्नुभयो र शिक्षा क्षेत्रमा उहाँहरूको के–कस्तो योगदान र संघर्ष छ भन्‍ने पनि खोजी गर्ने हो कि ? अथवा पार्टीका भक्ते शिक्षकहरूको केही कथा निकाल्ने हो कि ? शिक्षक शिक्षिकाको त्यो अवस्था कसको कारणले आएको भन्‍ने जवाफ सबैसँग छ । बोल्न सक्दैनन् त्यति हो । शिक्षामा जुवा खेल्नेहरूको कथा छ कि बजारमा ? 

यो पोस्ट अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ । सल्यानको श्री बालकल्याण माध्यमिक विद्यालयमा एक युट्युबरले पाँच कक्षामा विज्ञान पठाउने शिक्षिकालाई साइन्सको स्पेलिङ नआएपछि सामाजिक सञ्जालमा यो पोस्ट भाइरल बनेको हो । युट्युबरले साइन्सको स्पेलिङ सोधेर नआएपछि शिक्षिकको हाँसेर खिल्ली उडाएको भिडियोमा देखिन्छ । यो भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

शिक्षक अपडेटेड हुनै पर्दछ । आफूले पढाउने विषयवस्तुको जानकारी र ज्ञान हुनै पर्दछ । आफूले पढाउने विषयको न्यूनतम ज्ञान पनि नभई गलत पढाउनु शिक्षकको अक्षम्य अपराध हो । भिडियोमा भाइरल भएको शिक्षकको सवालमा साइन्सको स्पेलिङ नआएकै आधारमा मूल्याङ्कन गर्नु हुँदैन । यसो गर्नु शिक्षकलाई अपमान गरेको ठहर्छ । एक मिनेटको भिडियोमा शिक्षकलाई साइन्सको स्पेलिङ नआएकै आधारमा उसले केही कुरा जान्दै जान्दैन भन्‍न मिल्दैन । टेक्नोलोजी नजान्‍ने, आइटी फ्रेन्ड्ली नभएका, स्मार्ट फोन चलाउन नजान्‍ने शिक्षकलाई आउटडेटेड हुन् भन्‍न मिल्दैन । 

शिक्षकको काम कन्टेन्ट पढाउने होइन । गुगल र युट्युबमा शिक्षकले दिनेभन्दा थुप्रै कन्टेन्ट पाइन्छ । कन्टेन्टकै लागि हो भने शिक्षक चाहिँदैन । शिक्षकले साइन्सको स्पेलिङभन्दा त्यसभित्रका कुरा सिकाउने हो । विषयभित्रका रहस्य खोतल्न उत्सुक बनाउने हो । त्यो भिडियोले अहिले पनि समाजले शिक्षकलाई हेर्ने नजर कस्तो छ भनेर देखाउँछ । शिक्षकलाई लिएर हामीभित्र भएको कुण्ठा त्यहाँ पोखिएको जस्तो देखिन्छ । 

थोमस इडिसन राम्ररी सुन्‍न र बोल्न सक्दैनथे । तीन कक्षा मात्र औपचारिक शिक्षा लिएका उनलाई उनकी आमाले घरमै राखेर पढाएकी हुन् । उनकी आमाले सबै जानेर सिकाएकी होइनन् । तिमीले पढ्नुपर्छ, मेहनत गर्नुपर्छ, अरुभन्दा अब्बल छौ भनेर उत्प्रेरणा दिएकी हुन् । शिक्षकले पनि बालबालिकालाई तिमीसँग अरुभन्दा अब्बल क्षमता छ, आफूले आफूलाई चिन्‍नुपर्छ, हिम्मत हार्नु हुँदैन भनेर सिकाउने हो । शिक्षकले कन्टेन्टभन्दा बढी उत्प्रेरणा दिने हो । 

बालबालिकाहरूलाई कन्टेन्ट दिने शिक्षकभन्दा पनि उत्प्रेरणा दिने शिक्षक चाहिएको छ । बाँकी कुरा सबै उनीहरू भित्रै हुन्छ । शिक्षकको काम क्षमता उजागर गर्ने हो । सामुदायिक विद्यालयबाट नेपाली माध्यमबाट पढेका धेरै शिक्षक आफ्नो विषयवस्तुमा अब्बल भए पनि अंग्रेजी भाषाको सवालमा कमजोर देखिन्छन् । यो भने साँचो हो ।

यसको मतलब शिक्षक जस्तो छ, त्यस्तै ठीक छ भन्‍न खोजेको होइन । विषयगत शिक्षकले आफ्नो विषयमा जान्‍नुपर्छ । त्यो नजान्‍नु अपराध हो । अबको समयअनुसार शिक्षक ढल्किनुपर्छ । अपडेटेड हुनुपर्छ । किनभने, उनीहरूले २०-२५ वर्षपछिको जेनेरेसनलाई तयार गरिरहेका छन् । अबको समय प्रतिस्पर्धात्मक बन्दै छ । हामीले ग्लोबल सिटिजन तयार पार्नुपर्ने भएको छ । यसर्थ पनि शिक्षक आजको दिनमा अपडेटेड हुनुपर्दछ । तर, यसको मतलब स्पेलिङ नजानेकै आधारमा शिक्षकलाई मूल्याङ्कन गर्न भने मिल्दैन । 

स्कुलका पाठ्यक्रम फेरिएर आएका छन् । शिक्षक अपडेट नहुने हो भने पाठ्यक्रमको मर्मअनुसार सिकाउन सक्दैनन् । केही जान्दै नजानी शिक्षक भनेको महान् प्राणी हो भनेर मात्र पनि भन्‍न मिल्दैन । शिक्षकले एउटा कुरा मात्र जानेर हुँदैन । समयअनुसार शिक्षक नाच्ने, गाउने, कलाकार, चित्रकार सबै हुनुपर्छ । 

शिक्षक बन्‍न मेहनत गर्नुपर्छ । शिक्षक समाजका फ्रन्टलाइनर हुन् । समाजलाई कुन दिशामा लैजाने भनेर बाटो देखाउने नाइके उनीहरू नै हुन् । नेपाली समाज आडम्बरी छ । ज्ञानको आधारमा भन्दा सतही कुराको आधारमा मूल्याङ्कन गरिन्छ । अंग्रेजी जानेको छ भने सबैकुरा जानेको छ भन्‍ने आडम्बर छ । शिक्षकलाई फेन्सी आइटम बनाइदिएका छौँ ।

थोरै तलबमा पैसाको पछाडी नलागी काम गर्ने शिक्षकहरू धेरै छन् । शिक्षक यस्तो व्यक्ति हो जो आफू जहाँको त्यहीँ हुन्छ तर, आफूले पढाएका विद्यार्थीले प्रगति गर्दा सबैभन्दा बढी खुसी हुन्छ । उनीहरूको ज्ञान, निरन्तरता, धैर्य, सहनशीलता जस्ता कुरालाई लिएर सम्मान गर्नुपर्छ । उनीहरूलाई गाली गरेर चरित्रहत्या गर्ने काम गर्न पाइँदैन । शिक्षकले पनि आफ्नो विकासका लागि समय दिनुपर्छ । समयअनुसार आफूलाई अपडेट गर्नुपर्छ ।

- अभिषेक घिमिरे


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url