अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तानमा : कूटनीतिक कर्मचारीको उद्धार गर्ने

काठमाण्डाै,

तालिबान विद्रोहीको आक्रमण बढेपछि अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान आइपुगेको छ ।

कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट लैजान अमेरिकी सैनिकको टोली आइपुगेको बीबीसीले जनाएको छ ।

अमेरिकाले कूटनीतिक तथा अरु व्यक्तिको उद्धार गर्न तीन हजार सैनिक पठाएको हो । बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६ सय सैनिक पठाउने तयारी गरेको छ । डेनमार्क र नर्वेले अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुट्रेसले अफगानिस्तानको अवस्था खराब बन्दै गएको बताउनुभएको छ । हिंसाका कारण अहिलेसम्म दुई लाख ५० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन् । तालिबानले हिजो अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार र त्यसको नजिक रहेको लस्कर गाहमा कब्जा जमाएको छ ।

काबुलबाट बढीमा ८० किलोमिटर दक्षिणमा रहेको पुल–ए–आलम सहित आधा प्रान्तीय राजधानी तालिबानले कब्जा गरिसकेका खबरमा उल्लेख छ । राष्ट्र सङ्घका अनुसार पछिल्लो एक महिनामा मात्रै अफगानिस्तानमा एक हजार भन्दा बढी गैर-सैनिक मारिएका छन् ।

अफगानिस्तानमा झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय ओसीएचएका अनुसार मानिसहरु सुरक्षाको खोजीमा काबुल र अरु ठूला सहरमा आइपुगेका छन् ।

विस्थापित र उनीहरुको सुरक्षा निगरानीमा ध्यान केन्द्रित गरि तत्काल आवश्यक सहयोगबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसङ्घ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनहरूबीच छलफल भइरहेको ओसीएचएले जनाएको छ । अफगानिस्तानमा सरकारी सेना र तालिबान विद्रोहीबीच लडाइँ हुँदै आएको छ ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url