सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

अभ्यास

1.  सामाजिक अध्ययन क्षेत्र व्यापक छ भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रष्ट पार्नुहोस्।

उत्तर:- (चार्ट क्रियाकलाप नं. १ मा ) सामाजिक अध्ययनको क्षेत्र व्यापक छ। मानिस परिवारमा जन्मन्छ, हुर्कन्छ तर ऊ परिवारमा मात्र सीमित रहँदैन । उमेर बढ्दै जाँदा उसले समुदायमा मिल्नुपर्छ। ठूलो भएर देशप्रतिको जिम्मेवारी वहन गर्नुपर्छ । आवश्यकता परेमा विश्वको अर्कै ठाउँमा गई काम गर्नुपर्ने हुन्छ । समाजमा विभिन्न गतिविधिहरु सञ्चालित हुन्छन् । उसले त्यो ठाउँमा सहभागी हुनुपर्छ । उसको क्रियाकलापले समुदाय तथा राष्ट्रमा प्रभाव पार्छ । राष्ट्रिय एवंम विश्वका गतिविधिहरूको प्रभाव पनि उमाथि पर्छ । सामाजिक अध्ययनले मानिसलाई परिस्थिति र वातावरणसँग मिलेर आचरण गर्ने ज्ञान दिन्छ। समाजिक अध्ययनले मानिसले राजनैतिक, सामाजिक, संस्कृतिक, आर्थिक, ऐतिहासिक तथा समाजिक अवस्था तथा मानिससँग सम्बन्धित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको बारेमा जनकारी दिन्छ । समाजिक अध्ययनको उद्देश्य व्यक्तिलाइ नैतिकवान, सिर्जनशील, सकरात्मक सोच भएको प्रजातान्त्रिक मूल्य र मान्यतालाई मान्ने, आफ्नो संस्कृति र परम्परालाई  संरक्षण गर्ने तथा सफल जीवन यापन गर्न सक्ने उत्तरदायी जनशक्तिको निर्माण गर्नु हो । यसका लागि व्यक्तिमा विभिन्न थरिको गुणको विकास गर्नुपर्ने हुन्छ । सामाजिक अध्ययन विषयले समुदाय तथा समाजको अध्ययन गर्छ । व्यक्तिमा प्रजातान्त्रिक आचरण गर्ने क्षमता विकास गर्छ । व्यक्तिलाई समाज, राष्ट्र तथा विश्वको परिवेशमा मिलेर आचरण गर्ने ज्ञान दिन्छ । आफ्नो देशको इतिहास, परम्परा तथा संस्कृतिको जानकारी गराउँछ । नकारात्मक सोचको सट्टा सबै मिलेर बस्ने सकरात्मक सोच ज्ञान दिन्छ । देशप्रति गौरव गर्ने देशभक्ति र राष्ट्रियताको भावनाको विकास गर्ने अभिप्रेरणा दिन्छ । जीवनमा समस्या आइपरेमा तनाव सिर्जना हुन्छ ।‌ तनावले मानसिक तथा शारीरिक स्वास्थ्यमा आघात पुर्याउँछ । यसैले समाजिक अध्ययनले समस्या समाधान गर्ने विभिन्न विकल्प ज्ञान खोजी गर्ने दिन्छ । सहकार्य, सञ्चार, सहानुभूति, आत्मबोध,‌ नेतृत्व क्षमताको विकास आदि विभिन्न जीवनोपयोगी शिक्षाको अध्ययन पनि समाजिक अध्ययनकै एउटा क्षेत्र हो । यसैले समाजिक अध्ययनको विषय अन्तर्गत मानव विकासक्रम देखि परिवार, समाज, राष्ट्र तथा विश्वको राजनैतिक, आर्थिक, सामाजिक, संस्कृतिक, एतिहासिक अवस्थाको ज्ञान तथा जीवनोपयोगी शिक्षा आदिहरु पर्छन्।

२.  सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्व दर्शाउनुहोस्।

उत्तर:- सामाजिक अध्ययनले नागरिकको सक्षमता विकास गरी समुदाय, राष्ट्र एवं विश्व परिवेशमा मिलेर आचरण गर्न सक्ने ज्ञान दिन्छ। यसैले आजको समाजिक अध्ययनले भौतिक, सांस्कृतिक, ऐतिहासिक, राजनैतिक, विभिन्न सङ्घ संस्थाको जानकारी, स्वास्थ्य सेवा आदि विभिन्न पक्ष समेटेको छ। समुदाय तथा वातावरणले मनुष्यको जीवनमाथि पार्ने प्रभाव तथा मानिसको गतिविधिले समुदाय तथा वातावरणमा पार्ने प्रभावको अध्ययन  पनि यो विषयमा समेटिएको छ। मनुष्य जीवनसँग सम्बन्धित विभिन्न पक्षको अध्ययनले मानिसलाई चेतनशील एवं जागरूक बनाउँछ। समुदाय तथा राष्ट्रको चौतर्फी विकासका लागि चरित्रवान, इमान्दार, सिर्जनात्मक सोच, भएका दक्ष जनशक्तिको खाचो पर्छ। समाजिक अध्ययन विषयले मानिसमा नैतिकता, सच्चरित्रता, इमान्दारी, सिर्जनात्मक सोच, परिश्रम गर्ने बानी, राष्ट्रभक्ति, आफ्नो परम्परा, संस्कृति तथा राष्ट्रिय सम्पदाको संरक्षण गर्ने तथा विश्व वातावरणसँग सामांजस्य स्थापित गरी आचरण गर्न सक्ने क्षमता भएको कुशल नागरिक उत्पादन गर्नमा सहयोग गर्छ।

मनुष्य जीवनको उद्देश्य ज्ञान मात्र प्राप्त्त गर्नु होइन, यसका साथै आफ्नो तथा परिवारको पालणपोषण गरी शान्तिपूर्वक सबैसँग मिलेर सामाजमा बस्न सक्नु पनि हो। पालणपोषणका लागि मानिसले आवश्यक परे अन्य क्षेत्र वा अन्य देशमा पनि जानुपर्छ। यसैले आजको मानिसलाई जीवनोपयोगी शिक्षाको पनि आवश्यकता छ। अंहवादी प्रवृत्तिका मानिसले कतै सहयोग पाउँदैन। म एक्लै बाँच्न सक्छु , जीविकोपार्जन गर्नसक्छु तथा उन्नति गर्न सक्छु भन्नु मूर्खता हो। आज मानिसलाई हरेक क्षेत्रमा तथा हरेक पाइलामा अरुसँग मिलेर काम गर्नुपर्छ। सञ्चार, सहकार्य, आत्मबोध, समानुभूति, नेतृत्वक्षमता, आइपरेका समस्याको समाधान निकाल्न सक्ने क्षमता, अन्य व्यक्तिहरुसँग असल सम्बन्ध स्थापना, तथा वसुधैव कुटुम्बकम्को भावना जीवनोपयोगी सिप हुन्।  आजको युगमा सञ्चार प्रविधिको विकास भएको छ। यसको सिप पनि मानिसलाई आवश्यक छ। काम गर्दै जाँदा जीवनमा आइपरेका समस्याबाट सिर्जित तनावको व्यवस्थापन गर्ने सिप चाहिन्छ। पढ्यो, लेख्यो के काम, हलो जोत्यो, खायो काम भन्ने बेला गइसक्यो। सफल र स्वास्थ्य जीवन बिताउनका लागि आज मानिसलाई सामाजिक अध्ययनको ज्ञानका साथै जीवनोपयोगी शिक्षाको पनि आवश्यकता पर्छ।

थप प्रश्नहरू

1.  सामाजिक अध्ययन विषय भन्नाले कस्तो विषय बुझिन्छ ? प्रष्ट पार्नुहोस्।

उत्तर:- सामाजिक अध्ययन विषयको अध्ययन गत केही वर्षदेखि सुरु गरिएको हो ।  पहिले भूगोल, इतिहास, नागरिकशास्त्र आदि विषयहरू छुट्टाछुट्टै अध्ययन गर्नुपर्थ्यो । यसबाट विधार्थीहरूलाई आफ्नै देशको इतिहास, भूगोल , सामाजिक गतिविधि एवं आर्थिक गतिविधिहरू आदिको बारेमा जानकारी हुँदैन्थ्यो । यसैले आफ्नो देशको भौतिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, ऐतिहासिक आदि पक्षका साथै विश्व परिवेशको जानकारी गराई आधुनिक युगको विकासबारे  अवगत गराई कुशल नेतृत्व लिन सक्ने सिर्जनशील ईमान्दार, परिश्रमी, मितव्ययी एवम् जागरूक दक्ष जनशक्ति खाचो देखा पर्यो। यसैले भौतिक, सामाजिक, आर्थिक, राजनैतिक, एतिहासिक, सांस्कृतिक आदि विभिन्न क्षेत्रलाई एकीकृत गरी यो विषय बनाइएको हो। मानिसको गतिविधिले समुदाय, राष्ट्र र विश्व वातावरणमा प्रभाव पार्छ, तथा समुदाय, राष्ट्र एवं विश्व वातावरणले मनुष्य जीवनलाई प्रभाव पार्छ। मनुष्य विनाको विश्व कल्पना गर्न सकिँदैन। मानिसमा सामाजिक गुणको विकास जरुरी छ शान्तिपूर्वक आफुपनि बाँच्ने र अरुलाई पनि बाँच्न दिने भावनाको आज आवश्यकता छ । आफ्नो देश, संस्कृति र इतिहासमाथि गर्व गर्ने र विश्व परिवेशका विभिन्न आयामहरुको जानकारी गराई समुदाय, राष्ट्र र विश्व वातावरणसँग मिलेर आचरण गर्न सक्ने ज्ञान दिने विषय सामाजिक अध्ययन हो।

2.  सामाजिक अध्ययन विषयको आवयकता किन परेको हो ? खुलस्त पार्नुहोस्।

उत्तर:- शिक्षा प्राप्ति गरी मानिस ज्ञानी बन्छ । उसमा भएको ज्ञान अझ  परिष्कृत हुन्छ । शिक्षा पाउने बित्तिकै व्यक्ति समाजको लागि उपयोगी हुन्छ भन्न सकिँदैन । रावण शिक्षित थिए तर दुराचारी थिए । कंश शक्तिशाली थिए तर अहंकारी थिए । व्यक्तिले परिवार, समुदाय, राष्ट्र र विश्वको वातावरणमा मिलेर आचरण गर्नुपर्छ। आफ्नो कामले अरुलाई अन्याय पर्न हुँदैन । यसप्रति  पनि मानिस सजग हुनुपर्छ । लगामको सहायताले मानिसले घोडालाई आफूखुशी डोर्याउन सक्छ । यसैले मानिसलाई परिवार तथा समुदायप्रति जिम्मेवारी बोध गराई समाजमा मिल्न सक्ने गुणको विकास गरी सही बाटोमा डोर्याउन सामाजिक अध्ययन विषयको आवश्यकता परेको हो । सामाजिक अध्ययनले मानिसमा सिर्जनशील सोच, नैतिकता, परिश्रमीपना‌, उत्तरदायित्व बोध, सहकार्य, उचित विकल्प छनोट गरी समस्या समाधान गर्ने गुण, विश्व वातावरणको जानकारी, आफ्नो संस्कृति तथा इतिहासको जानकारी, नवीनतम सूचना  प्रविधीको ज्ञान आदि विभिन्न गुणहरूको विकास भएमा मात्र मानिस समाजिक र विवेकशील प्राणीमा  रुपान्तर हुन्छ । त्यसता मानिसहरु अरूको सम्मान गर्ने, मिलेर बस्न सक्ने, समुदाय र देशलाई नेतृत्व प्रदान गरी सबै जनतालाई उचित दिशा निर्देश गर्न सक्ने , विश्व वातावरण अनुसार आचरण गर्ने हुन्छन् । यसैले आजको सन्दर्भमा सामाजिक अध्ययन विषयको महत्व छ ।

3.  सामाजिक अध्ययन विषय कसरी विश्व परिवेशसँग सम्बन्धित छ ? प्रष्ट्याउनुहोस् ।

उत्तर:- समाज गतिशील छ। प्राचीन समाज र आजको समाज फरक छ । आज यातायात तथा सञ्चारको विकासले विश्वका सबै देशहरु नजिकिएका छन् । विश्व नै एउटा समाज जस्तो भएको छ। कुनै एउटा देशमा भएको घटनाको प्रभाव अर्को देशमा पर्छ । एउटा देशको विकासले अर्को देशमा विकासको तरङ्ग ल्याउँछ ।  खानपान, भेषभुषा, खानेपानी र रोजगारी एउटा देशमा मात्र सीमित छैन । आज रोजगारीका लागि नेपालीहरु ब्रिटेन, क्यानडा, अमेरिका, अस्ट्रेलिया , न्युजिल्यान्ड, कोरिया, जापान, अरब मुलुक, भारत आदि विभिन्न देशमा पुगेका छन्‌ । त्यहाँको परिवेशमा रहेर काम गर्नुपरेको छ । विभिन्न मुलुकका पर्यटकहरु हाम्रो मुलुकमा घुम्न आउँछन् । हाम्रो समाजिक, आर्थिक तथा सांस्कृतिक गतिविधिहरु अवलोकन गर्छन् । विदेशी रोजगारीमा नगए हाम्रो देशमा बेरोजगारी बढ्छ । यसबाट देशमा नकारात्मक प्रभाव पर्छ । वैदेशिक रोजगारीबाट भएको विप्रेषणले हामीलाई ठूलो अर्थिक टेवा दिएको छ । हाम्रो देशका  युवाहरुले रोजगारीका लागि वैदेशिक भाषाको अध्ययन गर्नु परेको छ । चिनबाट निक्लेको कोभिड १९ ले विश्वलाई आक्रान्त पारिरहेको छ । विश्वका ठूलाठूला औषधि निर्माताहरु यसलाई नियन्त्रण गर्ने औषधि निर्माण गर्न लागेका छन् । निकट भविष्यमा नै यो रोगलाई रोकथाम गर्न सकिएला । अन्य देशहरुबाट हामी अन्न, मेसिनरी, प्रविधि आदि  आयात गर्छौं र हामी पनि हाम्रो उत्पादन विदेशमा निर्यात गर्छौं । गौतम बुद्धको ज्ञान नेपालमा मात्र सिमित छैन । विश्वका कतिपय मुलुकमा यो धर्म चलेको छ । क्रिश्चियन धर्म  पश्चिम देशमा मात्र सीमित नभई विश्वमा नै फैलिएको छ । नेपाली सङ्गीत विश्वका अन्य मुलुकमा पनि सुनिन्छन् । यसैले कुनै पनि घटनाको प्रभाव सो देशमा मात्र सीमित नरही अन्य देशहरूमा पनि पर्न जान्छ । यसबाट हाम्रो समाजिक , आर्थिक तथा अन्य क्षेत्रमा प्रभाव पर्छ । यी सबै कुराहरूको अध्ययन समाजिक अध्ययनमा समेटिएका छन् । यसकारण सामाजिक अध्ययन विश्व परिवेशसँग सम्बन्धित छ ।

4.   जीवनोपयोगी शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ? जीवनोपयोगी शिक्षाको महत्व के हो ? प्रष्ट पार्नुहोस् ।

उत्तर:- जीवन शिक्षाको लागि होइन , शिक्षा जीवनको लागि हो । हाम्रो सम्पुर्ण जीवन शिक्षा प्राप्ति गर्नुको लागि मात्र होइन, शिक्षा प्राप्तिका साथै हामीले आफ्नो तथा परिवारको पालणपोषण गर्नु पर्छ । हामीले आफ्ना इस्टमित्र, नाताकुटुम्ब तथा समाजका अन्य मानिसहरूसँग सम्बन्ध राख्नुपर्छ । समाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक तथा अन्य गतिविधिहरूमा समेत सहभागी बन्नुपर्छ । समाजिक राष्ट्रिय तथा मानव समाजप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ । हामीलाई धुन्धकारी बन्ने शिक्षा होइन, समाजमा, परिवारमा, राष्ट्रमा तथा विश्वका परिवेशमा मिलेर सफल र स्वास्थ्य जीवन यापन गर्ने सिप दिने शिक्षा चाहिन्छ । यो शिक्षा हामी जीवनोपयोगी शिक्षाबाट पाउँछौ । जीवनोपयोगी शिक्षाले हामीलाई जीवनमा आवश्यक सिपहरुको बारेमा ज्ञान दिन्छ । सहकार्य, सहयोग, जिम्मेवारी बोध, सिर्जनात्मक सोच, समस्या समाधान गर्न उचित विकल्पको छनोट गर्ने तनाव तथा वेग व्यवस्थापन गर्ने, समानुभूति, अरूको पनि गुनासो सुन्ने, आवश्यकता परे नेतृत्व लिन सक्ने, आफ्नो तथा परिवारको राम्ररी पालणपोषण गर्न सक्ने, सूचना प्रविधिको ज्ञान, परिश्रमी, नैतिकता, स्वास्थ्यप्रति सजगता तथा इमान्दारी आदि जीवनोपयोगी सिपहरु हुन् । यी सिपहरूको ज्ञान भएमा व्यक्तिले समुदाय, राष्ट्र तथा विश्वको वातावरणसँग सामन्जस्य राखी स्वस्थ एवं सफल जीवन यापन गर्न  सक्छ । यसैले आज हामीलाई जीवनोपयोगी शिक्षाको आवश्यकता परेको हो ।

5.  सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कसरी जीवनोपयोगी सिप सिक्न सकिन्छ ? प्रष्ट पार्नुहोस् ।

उत्तर:- सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कक्षामा साथीहरुसँग छलफल गर्नुपर्छ । दिइएका विषयवस्तु माथि आफ्नो विचार साथीहरुमाझ राख्नुपर्छ अरू साथीहरूको बिचार सुन्नुपर्छ । परियोजना कार्य गर्दा कक्षामा साथीहरूको समूह बनाई अन्तरक्रिया गर्नुपर्छ । कहिलेकाहीँ समूहको नेतृत्व लिनुपर्छ । साथीहरुसँग मिलेर काम गर्नुपर्छ । अरूको चित्त नबुझ्ने कुरा सुनेर रिसाउनु हुँदैन् । आफ्नो संवेगलाई नियन्त्रण गर्नुपर्छ । कुनै  बखत परियोजना कार्य गर्दा समुदायमा गएर छलफल गर्ने र उनीहरूको  राय पनि लिनुपर्छ । प्राचीन इतिहासका बारेमा अनुभवी इतिहासविद्हरूसँग जानकारी लिनुपर्छ । समुदायमा तथा अन्य क्षेत्रमा घटनाहरुप्रति जानकारी राख्नु पर्छ । समाजिक तथा आर्थिक गतिविधिहरुको  बारेमा कक्षाका साथीहरु तथा शिक्षकहरुबाट जानकारी प्राप्त हुन्छ। रोगव्याधिबाट कसरी जोगिने तथा आफ्ना भाइबहिनीहरूलाई कसरी जोगाउने बारेमा विभिन्न संघसंस्थाबाट विद्यालयमा आएका प्रतिनिधिहरूले दिएको प्रवचनबाट थाहा पाइन्छ । विभिन्न स्थानमा शैक्षिक भ्रमणमा जाँदा अनुशासनमा रहने, मिलेर रहने, सद्भाव, सहानुभूति आदि गुण विकास गर्ने मौका पाइन्छ । यसरी सञ्चार, सहकार्य, समानुभूति, संवेग व्यवस्थापन, समस्या समाधान गर्न उचित विकल्प छनोट गर्न सक्ने सिर्जनात्मक सोच, सहयोग आदि जिवनोपयोगी सिप समाजिक अध्ययनको सिकाइ क्रियाकलाप तथा परियोजना कार्य गर्दा सिकिन्छ ।

6.  सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सिकारी सहजीकरण कसरी हुनुपर्छ ? खुलस्त पार्नुहोस् ।

उत्तर:- सामाजिक अध्ययन विषयको उद्देश्य व्यक्तिमा समाजिक गुणहरूको विकास गर्नु हो । नैतिकता,  सच्चरित्रता, राष्ट्रभक्ति, आफ्नो परम्परा र संस्कृतिप्रति जागरुक हुने, राष्ट्रिय सम्पदाको संरक्षण गर्ने भावना, अरूको सम्मान गर्ने, अतिवादी सोच नराख्ने, आफ्नो उत्तरदायित्व बोध गर्ने आवश्यकता परे समुदाय तथा राष्ट्रको नेतृत्व लिन सक्ने मिहिनेती तथा विश्व परिवेशसँग मिलेर आचरण गर्न सक्ने आदि समाजिक गुणहरू हुन् । यो गुणहरूको विकासबाट जीवनोपयोगी सिपको जानकारी हुन्छ यसकारण अरूको कुरा सुनेर, टिपोट गरेर, दिएका पाठकहरुलाई घोकेर तथा शिक्षकहरूको व्याख्यान सुनेर यस्ता गुणहरूको विकास सम्भव छैन । यसैले समाजिक अध्ययनको विषयवस्तुलाई बुझ्नुपर्छ । समाजिक अध्ययनका विषयवस्तुसँग सम्बन्धित तथ्य तथ्याङ्कहरुको खोजी गर्ने तथा विश्लेषण गर्ने, समुदायमा गएर अवलोकन गर्ने, सम्बद्ध पक्षसँग छलफल गर्ने र अन्तरक्रिया गरेर सिक्नुपर्छ । समाजिक तथा सांस्कृतिक गतिविधिहरूमा सहभागी हुनुपर्छ र अनुभूति गर्नुपर्छ । समाजमा गएर अनुसन्धान गर्ने , परीक्षण गर्ने ,समस्या समाधानमा सहभागी बन्ने, विकास निर्माणका काममा सहयोग गर्ने आदि कार्यहरूमा सम्मिलित भएमा सामाजिक गुणको विकास गर्ने अवसर प्राप्त हुन्छ । यसरी जीवनोपयोगी सिपहरु पनि सिकिन्छ।

Previous Post Next Post