सामाजिक अध्ययनको महत्त्व, आवश्यकता र चुनौतीहरु

सामाजिक अध्ययान को महत्व र आवस्यकता
सामाजिक अध्ययान को महत्व र आवस्यकता


सामाजिक अध्ययनको परिभाषा

सामाजिक अध्ययन के हो र यसमा कस्ता कस्ता खालका विषयवस्तुहरु समावेश हुन्छन् अर्थात् यसले कसका बारेमा अध्ययन गर्दछ भन्ने बारेमा विद्धान्हरुको विचार, धारणा र परिभाषामा एकमत पाइदैन् तथापि केही विद्धान र समाजशास्त्रीहरुले यस विषयमा दिएका विचारलाई अध्ययन गर्नु सान्दर्भिक देखिन्छ ।

सामाजिक विज्ञानको विश्व ज्ञानकोष

अध्ययन गर्ने उद्देश्यले सामाजिक विज्ञानहरुबाट छानिएका विषयहरुको सङ्कलनलाई सामाजिक अध्ययन भनिन्छ । समाजशास्त्री जोन यू. मिखालिसले भनेका छन् कि सामाजिक अध्ययन मानव र उसको सामाजिक तथा भौतिक वातावरणसँगको अन्तरक्रिया तथा मानवीय सम्बन्धको व्याख्या गर्ने विषय हो । 

 एफ.जे. ईष्टभान 

विद्यालयहरुमा पठनपाठन हेतु प्रयोग भए गरेका सामाजिक विज्ञानहरुको भागलाई नै साधारणतया सामाजिक अध्ययन भनिन्छ । त्यस्तै अर्का विद्धान् जे.एफ्. फारेष्टरको परिभाषा यस्तो रहेको पाइन्छ, सामाजिक अध्ययन भन्ने नामले नै यो समाजको अध्ययन हो भनि बुझिन्छ र यसको प्रमुख उद्देश्य आफू बस्ने संसारको यथास्थिति र उत्पत्तिबारे बोध गर्न विद्यार्थीहरुलाई सहयोग पु–याउनु हो, जसले गर्दा उनीहरु उत्तरदायी नागरिक बन्न सकून् ।  

 डब्लु. एच्. ग्रिफिन

सामाजिक अध्ययन मानिस र उसको वातावरणबीचको सम्बन्धमा अध्ययन गर्ने विषय हो । यसले सामाजिक विज्ञानबाट विषयवस्तु ग्रहण गर्दछ तर एउटै सामाजिक विज्ञानले यसको प्रकृति निर्धारण गर्न सक्दैन । यसमा सामाजिक विज्ञानबाट प्राप्त विषयवस्तु विभिन्न तरिकाले संगठित गरिन्छ ।

उपरोक्त परिभाषाहरुबाट के स्पष्ट हुन्छ भने मानिस जुन समाजमा जन्मन्छ, त्यहि समाज र त्यहाँको सबैखाले वातावरणसँग समायोजन गराउन सहयोग पु–याउने विषय नै सामाजिक अध्ययन हो । यसले मानिस मानिसबीच, मानिस र समुदायबीच तथा मानिस र आत्मबीच अन्तक्र्रिया र मनोवाद गराउँछ । परिवार समाजको प्रारम्भिक स्वरुप हो भने परिवारको बृहत र संगठित रुप समाज हो । समाजमा बस्ने हरेक मानिसलाई त्यो समाजको सामाजिक, साँस्कृतिक र भौतिक वातावरणले प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट प्रभावित गर्दछ । समाज नै मानिसको पहिलो पाठशाला हो किनकि समाजबाट मानिसले जीवनोपयोगी ज्ञान, सीप र अनुभवहरु प्राप्त गर्दछ । मानिस मानिसबीचको सम्बन्ध विना कुनै पनि मानिसले प्रगतिको पथमा लम्कन सक्दैन्, त्यसको लागि आवश्यकीय ज्ञान प्रदान गर्ने विषय सामाजिक अध्ययन हो । त्यसैले फ्रान्सिस बेकनले भनेका थिए कि अध्ययनले मानिसलाई एउटा पूर्ण मानिस बनाउँछ, छलफलले उसमा तत्परता ल्याउँछ र लेखाइले ठीक जस्तो हुनुपर्छ त्यस्तै बनाउँछ ।

सामाजिक  अध्ययनको आवश्यकता तथा महत्व

सामाजिक विज्ञानका विषयवस्तु तथा अवधारणाहरुलाई एकीकृत गरी तयार गरिएको पुस्तक सामाजिक अध्ययन भएकोले यसको महत्व तथा आवश्यकता दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो हरेक मानिस र समाजको सकारात्मक परिवर्तनको लागि अनिवार्य र महत्वपूर्ण विषयको रुपमा स्थापित भएको छ । त्यसै तथ्यलाई मध्यनजर राखेर विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले आधारभूत तह र माध्यमिक तहमा सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षालाई अनिवार्य विषयको रुपमा शिक्षण गर्ने व्यवस्था गरेको देखिन्छ । जोन डिवेका अनुसार दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीचको सञ्चार शिक्षण हो, जसमा एकले अर्कालाई आफ्ना विचारहरुले प्रभावित पार्दछ र अन्तरक्रियाको प्रक्रियाबाट केही सिक्दछ । व्यक्तिमा सामाजिकीकरण, सामाजिक समस्या समाधान गर्ने सीप र नेत्तृत्व सीपको माध्यमबाट आत्मनिर्भर तर्फ उन्मुख गराई सहयोगी र उत्तरदायी भावनाको विकास गराउनु नै सामाजिक अध्ययन शिक्षणको महत्वपूर्ण पक्ष हो । यसको मुख्य उद्देश्य लोकतान्त्रिक नागरिक उत्पादन गर्नु नै हो ।

यो पनि पढ्नुहोस:

पाठ्यक्रम सम्बन्धी प्रश्नोत्तर

एकीकृत पाठ्यक्रम प्रायोग र मुल्यांकन कसरि गर्ने ?

समाजको परिवर्तन सकारात्मक सोचाइ भएका नागरिकहरुको उत्पादनबाट मात्र संभव हुन्छ । आज विश्वको शक्तिशाली र विकसित रुपमा स्थापित देशहरुमा सामाजिक अध्ययन शिक्षण सिकाइलाई व्यवस्थित र व्यावहारिक रुपले प्रविधिसँगै जोडिएको छ । सामाजिक अध्ययनको शिक्षण मार्फत् नागरिकहरुलाई सामाजिक दायित्व, कर्तव्य र अधिकारप्रति सचेत तुल्याइएको छ । जसको परिणाम नागरिकहरु समाजमा र्सििर्जत कुनै पनि किसिमका समस्याहरु समाधान गर्न उनीहरु आफँै स्वावलम्वी छन् । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमण र प्राकृतिक विपत्ति (भूकम्प, वाढी, पहिरो, डुवान) जस्ता समस्याहरुबाट जोगिन सामाजिक दायित्व, सचेतता र सर्तकता साथै विपत्तिको विरुद्ध मानवीय शक्ति भने अझै अभाव महसुस भएको छ । यसको मुख्य कारण सामाजिक अध्ययन सम्बन्धी ज्ञान र यसको प्रभावकारी शिक्षणको अभाव हुनु हो ।

सामाजिक अध्ययनको क्षेत्र

सामाजिक अध्ययनको क्षेत्र विस्तृत रहेको छ किनकि सामाजिक विज्ञानहरुका विषयहरुबाट सामाजिक अध्ययनको विषयवस्तु छनोट र निर्माण गरिन्छ । सामाजिक विज्ञानको क्षेत्र भन्दा सामाजिक अध्ययनको क्षेत्र सीमाङ्कन गर्न कठिन हुन्छ । परिवर्तनशील समाजको कारण सामाजिक अध्ययनको विषयवस्तुहरुमा पनि स्वाभाविक रुपले परिवर्तन आउँछन् । मानवीय सम्बन्ध, मानिस र वातावरणबीचको सम्बन्ध, मानिसको आत्म सम्बन्ध, सामाजिक विज्ञानहरु र समकालीन समाज नै सामाजिक अध्ययनको मुख्य क्षेत्रहरुमा पर्दछन् । वास्तवमा सामाजिक अध्ययनले कुनै एक क्षेत्र, पक्ष वा विषयलाई प्रतिनिधित्व नगरी समाजको सर्वाङ्गिण पक्षलाई समेटेको हुन्छ । विशेष गरेर मानिस जीवनसँग सम्बन्धित आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, ऐतिहासिक र वातावरणीय लगायत विविध पक्षलाई सामाजिक अध्ययनले समेटेको हुन्छ । एउटा मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट समुदायदेखि विश्व भरिका घटना र समस्याहरुबाट प्रभावित रहेको हुन्छ । सामाजिक अध्ययन व्यक्तिको चरित्र निर्माण गर्नेसँग सम्बन्धित हुन्छ । मानिसको चरित्र निर्माण तथा लोकतान्त्रिक नागरिक उत्पादन गर्न समाजसँग सम्बन्धित संपूर्ण पक्षहरुको ज्ञान र जानकारीहरुको समुचित उपयोग जरुरी हुन्छ । प्लेटोले भनेका छन् कि आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्ने व्यक्तिलाई नै पूरा शिक्षा पाएको मानिन्छ । व्यक्तिमा समाजको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, धार्मिक, प्राकृतिक वातावरण लगायत अन्य पक्षहरुको जानकारी दिनका लागि सामाजिक अध्ययन र त्यसको उचित पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण प्रक्रियामा सुधारको आवश्यकता पर्दछ ।

सामाजिक अध्ययन एकीकृत विषय हो । यो विद्यालय स्तरमा समावेश गरिएको एक शिक्षण प्रधान प्रकृतिको विषय हो । एकीकृत पाठ्यक्रमको कार्यान्वयन गर्नु एक जटील कार्य हो । यसको विषयवस्तु छनोट र सङ्कलन सबैखाले मानसिक स्तरका बालबालिकाको क्षमतालाई ध्यानमा राखी सङ्गठित गरिन्छ । त्यसकारण पनि अन्य विषयको तुलनामा यस विषयको महत्व विकसित तथा विकासोन्मुख दुबै प्रकारका देशहरुमा बढी रहेको स्पष्ट हुन्छ । हर्नवाईका अनुसार कुनै निश्चित उद्देश्य लिएका व्यक्तिहरुको संगठन नै समाज हो । यसको विविध पक्षको जानकारी दिन सामाजिक अध्ययनमा आवश्यकीय विषयवस्तु समावेश गरिन्छ । यसले व्यक्तिलाई जीवनोपयोगी सीप सिक्न प्रोत्साहन गराउँछ । मानव र समुदायलाई केन्द्रविन्दुमा राखेर शिक्षण सिकाई क्रियाकलापमा जोड दिनुपर्ने यस सामाजिक अध्ययन शिक्षणमा शिक्षकको मात्र भर नपरी आवश्यकीय स्रोत साधन भौतिक तथा शैक्षिक पूर्वाधारको सहयोग लिनुपर्दछ तर गरिव तथा कम विकसित देशहरुमा सवै सामग्रीहरु उपलब्ध हुँदैनन् । जसले गर्दा शिक्षण सिकाइ क्रियाकलापलाई व्यवहारपयोगी र उपयोगी बनाउन शिक्षकको एक्लो प्रयास मात्र प्रर्याप्त हुँदैन ।

सामाजिक अध्ययनका समस्याहरु

विद्यालय र सामाजिक अध्ययन कक्षाकोठामा सामाजिक अध्ययन विषयवस्तु शिक्षण सिकाइको क्रममा विद्यार्थी र शिक्षकले व्यहोर्नु परेका सबै समस्याहरु नै सामाजिक अध्ययन शिक्षणका साझा समस्याहरु हुन् । दक्ष र योग्य विषयगत शिक्षकको अभाव, दोषपूर्ण पाठ्यक्रम र पाठ्यपुस्तक, सामाजिक विविधता, भौतिक सुविधा र शैक्षिक सामग्रीको अभाव, विषयगत व्यापकताको अभाव, समायोजनमा समस्या, परिवर्तनशील समाज अनुकूल पाठ्यक्रम परिमार्जन नहुनु, शिक्षण सिकाइमा प्रविधिको प्रयोग र पहँुचमा कमी, प्राकृतिक विपद् व्यवस्थापन सम्बन्धी सीपको अभाव र सहभागितामूलक संस्कारको अभावलाई मुख्य समस्याको रुपमा लिन सकिन्छ । उक्त समस्याहरु सामाजिक अध्ययनमा रहेका प्रतिनिधि समस्याहरु मात्र हुन । यस विषयमा उल्लेखित बाहेक अतिरिक्त अन्य थुप्रै समस्याहरु सिर्जित छन् र हुन सक्छन् । समस्याहरुलाई सम्वद्ध पक्षहरुले घटाउँदै लैजानु सामुहिक जिम्मेवारी पनि हो । समस्याहरु समाधान गर्ने नसक्ने हुँदैनन् । धेरैजसो समस्याहरु स्थानीय प्रविधिबाट समाधान हुन सक्ने खालका हुन्छन् त कुनै समस्या समाधान गर्न सम्बन्धित विशेषज्ञको जरुरत पर्दछ । केही समस्या स्रोत र साधन खर्च नगरी समाधान खोज्न सकिन्छ भने कुनै समस्या समाधान गर्न केही आर्थिक सहयोग संयोजन गर्नुपर्ने हुन्छ । सामाजिक अध्ययनमा देखिएका केही समस्याहरु अन्य विषयसँग मिल्दोजुल्दो पनि हुन्छन् । एउटा विषयमा रहेका र सिर्जित समस्या समाधान हुँदा अन्य धेरै विषय शिक्षणलाई समेत सहयोग पुग्दछ । कुनै समस्या यस्ता हुन्छन् जून समस्याले विषय शिक्षणमा दीर्घकालीन असर गर्दछ भने कुनै समस्याले अल्पकालीन असर गर्दछ । कुनै समस्या समाधान गर्न सामुहिक प्रयत्न जरुरी हुन्छ भने कुनै समस्याको समाधान व्यक्तिगत प्रयासमा एक व्यक्तिबाट नै संभव हुन सक्छ । तसर्थ सामाजिक अध्ययनमा रहेका समस्याहरुलाई पनि समस्याको प्रकृति हेरेर नै समाधान खोज्नुपर्दछ र कठीन प्रकृतिको समस्याहरुलाई चरणवद्ध रुपबाट समाधान खोज्ने परम्पराको विकास गर्न सक्नुपर्दछ ।

यो पनि पढ्नुहोस:

शैक्षिक भ्रष्टचार र यसका कारणहरू
सामाजिक अध्ययनको आवश्यकता, महत्व र चुनौतीहरु

निष्कर्ष

निष्कर्षमा सामाजिक अध्ययन आजको विश्व परिवेशमा अति नै जरुरी विषय हो र यसलाई निरन्तर सामयिक बनाएर लैजानु जरुरी पनि छ । त्यसका लागि पाठ्यक्रममा पनि समयोचित सुधार तथा शिक्षकहरुका लागि समेत यथोचित प्रशिक्षणको जरुरी छ । सभ्य र सचेत नागरिक उत्पादनका लागि पनि सामाजिक अध्ययनको समसामयिकताको खाँचो छ । सामाजिक अध्ययनमा जसको उच्च विशिष्ट ज्ञान छ, त्यसैले समाजलाई मार्गनिर्देश गर्न सक्छ । विषयको गाम्भीर्यता र महत्वलाई मध्यनजर गर्दै यसको पाठ्यक्रममा यथोचित परिमार्जन एवं समसामयिक विषयहरुको समाबेश गर्दै लैजानु आजको आवश्यकता हो । मानिस सामाजिक प्राणी भएकोले पनि समाजप्रति नागरिकको अधिकार र दायित्व बढी रहेको हुन्छ । सामाजिक अध्ययनको माध्यमबाट व्यक्तिलाई सामाजिकीकरण गर्दै लोकतान्त्रिक व्यवहार सिकाउनु नै यस अध्ययनको मुख्य ध्येय हो । यसका लागि अन्य विषयसँग सामाजिक अध्ययन विषयको सम्बन्ध बढाउन आवश्यक छ । बालबालिकाहरुलाई पनि कक्षा कार्य, परियोजना कार्य, निरन्तर अभ्यास, अनुसन्धानमूलक कार्य र सामुदायिक क्रियाकलापको माध्यमबाट विषयवस्तु केन्द्रित बनाई सहभागिता बढाउन जरुरी छ । यसमा सामाजिक अध्ययन शिक्षक स्वयं रचनात्मक र जिम्मेवार ढंगबाट प्रस्तुत हुनुपर्छ । सामाजिक अध्ययन शिक्षणमा आएका र आउन सक्ने संभावित समस्याहरुको निराकरणको लागि सचेत र सजग रहनुपर्छ । शिक्षण सिकाइको क्रममा समस्यालाई छलफल, अन्तक्र्रिया र अनुभव विनिमयद्धारा समाधान खोज्नु पर्दछ । साथै यसका लागि सम्वद्ध सरोकारवाला व्यक्तिहरुको सक्रिय र सकारात्मक भूमिका आवश्यक हुन्छ । यसो भएमा सामाजिक अध्ययन शिक्षणका समस्याहरुलाई न्यूनीकरण गर्दै आदर्श, लोकतान्त्रिक, चरित्रवान् र उत्तरदायित्व वहन गर्न सक्ने नागरिक उत्पादन गर्ने उद्देश्य प्राप्ति गर्न सकिन्छ ।

Previous Post Next Post