बालबालिकाको आत्मविश्वास परीक्षा दिँदादिँदा घटिसक्छ

गुणस्तरीय शिक्षामा कति सिक्छ भन्दा पनि कसरी सिक्छ भन्ने कुरा महत्वपूर्ण हो । कुनै पनि शिक्षार्थी जीवनपर्यन्त सिकाइमा समाहित हुन सक्नुपर्छ । ऊ परीक्षाका लागि मात्र नभई जीवनसँग दौडिन सक्छ कि सक्दैन भन्ने कुरा बढी महत्वपूर्ण छ । प्राज्ञिक दृष्टिले नेपालको शैक्षिकस्तर एकदमै कमजोर छ । यसलाई विभिन्न पाटाहरूबाट हेर्नुपर्छ । कुनै पनि देशको शैक्षिकस्तर त्यहाँको अनुसन्धानले बताउँछ । हाम्रो प्राज्ञिकस्तर कमजोर हुनुका पछाडि कुन स्तरका अनुसन्धान हुन्छन्, कसरी गरिन्छन् र कस्ता विषयमा गरिन्छन् भन्नेमा भर पर्छ । 

अनुसन्धानात्मक आलेखहरू प्रकाशित हुने विश्वविद्यालय वा देशहरूसँग तुलना गर्ने हो भने हामी निकै पछाडि छौं । विश्व-ज्ञान उत्पादनमा हाम्रो उपस्थिति एकदमै कमजोर छ । यसलाई एक दृष्टिले औपनिवेशिक ढंगले चलेको मान्न पनि सकिएला, तर हामीले नव-उदारवादी भनिरहँदा कम्तीमा देशभित्रै कति योगदान गरेका छौं भन्ने प्रश्न त उठ्छ । हाम्रो प्राज्ञिक क्षेत्रले मुलुकलाई र अन्तर्राष्ट्रिय जगत्लाई कसरी योगदान पुर्‍याइरहेको छ भन्ने कुरा एकदमै महत्वपूर्ण छ । अनुसन्धानमुखी भएर काम गर्नेको संख्या हामीकहाँ एकदमै थोरै छ । अनुसन्धान र प्रमाणको आधारमा नीति बन्ने परिपाटी बनेकै छैन । हाम्रा विज्ञ र विद्वान्हरूको संख्या पनि एकदमै कम छ । प्राज्ञिक जगत्ले खास आकारै लिन सकेकै छैन । 

प्राज्ञिकता एउटा संस्कार र संस्कृति पनि हो । प्राज्ञिक कामहरूमा हाम्रो दैनिक जीवनसँग जोडिने आधारहरू हेर्नुपर्छ । हामीले आफूले गरेका काम, लेखन अथवा पठनको स्तरलाई कत्तिको ध्यान दिएका छौं भन्ने कुराले समग्र क्षेत्रको स्तर निर्धारण हुने हो । प्रत्येकले आफूलाई र आफ्ना कामहरूलाई ख्याल गर्यौं भने समग्र क्षेत्रको आकार कस्तो छ भन्ने थाहा भइहाल्छ । हामी कक्षा एक र स्नातकोत्तर तहका विद्यार्थीको मूल्यांकन गर्दा दुइटै तहमा तीनघण्टे परीक्षा लिन्छौं । यसको अर्थ हामीमा खोज र अनुसन्धानको कमी छ । जे गर्दै आइरहेका थियौं त्यही गर्नमै हामी अभ्यस्त छौं । 

विश्वविद्यालयहरूले खासमा ज्ञानको उत्पादन गर्नुपर्छ । त्यो ज्ञानको उत्पादनमा हामी कहाँ छौं ? ज्ञानको उत्पादन नाप्ने सूचक भनेका के कस्ता प्रकाशनहरू भए र कतिले रुचाइए भन्ने हो । हाम्रा सबैजसो विधामा पठन-पाठनदेखि लिएर ज्ञानको विस्तार एकदमै संकुचित छ । विगतमा पनि शिक्षाको गुणस्तर खासै राम्रो थिएन । उदाहरणै दिनुपर्दा, मसँगै हामी तीन जना साथीहरू मात्र एसएलसी उत्तीणर् भएका थियौं । हामीमध्ये धेरैले त्यसैलाई गुणस्तर ठान्दै आएका छौं । तर धेरै फेल हुनुलाई मात्रै गुणस्तर मान्न सकिन्न । गुणस्तर हिजो पनि सुध्रेको थिएन, आज पनि धेरै सुधार्न बाँकी छ । 

नेपालको आधुनिक शिक्षाको जग भारतमा अंग्रेज आएर बसेपछि सुरु भएको हो । त्यो शिक्षा पद्धतिले गुणस्तरलाई परीक्षाले नियन्त्रण गर्ने परिपाटी ल्याएको थियो । सिकाइ प्रक्रियामा सुरुदेखि नै ध्यान नदिएको देखिन्छ । प्रक्रियाले नभई परीक्षाले नियन्त्रण गर्ने पद्धति अहिलेसम्मै चलिरहेको छ । यस्तो पद्धतिले हिजो पनि बिग्रेको थियो, आज पनि बिग्रेकै छ ।

पहिले एसएलसीमा प्रथम श्रेणी र अहिले एसईईमा ए-ग्रेड ल्याउनेको ज्ञानको दायरा हेर्ने विभिन्न पाटाहरू छन् । पहिले एउटा मौजामा एक जना उत्तीर्ण भएको देखिन्छ । उतिबेला ऊ एक्लैले धेरै विद्यालयमा पढाउनुपर्ने दायित्व थियो । कतिपय अवस्थामा त पासै नभए पनि पढाएकै हुन्थ्यो । अहिलेको परिप्रेक्ष्यमा धेरै संख्यामा विद्यार्थी पढ्ने भएपछि पहिले बराबरको उत्तरदायित्व हरेकको हुँदैन । यसो हेर्दा त्यतिवेला आठ/दश कक्षा पढेकाले पढाउन सक्थ्यो अहिले किन सक्दैन भन्ने लाग्न सक्छ । तर त्यतिबेला सानो संख्या, बाध्यता, मानव स्रोतको कमी लगायतका समस्या थिए । ४० वर्षअघि र अहिलेको स्थितिलाई दाँज्न मिल्दैन । पहिले दृश्य-साक्षरता थिएन होला तर अहिले त्यो छ ।

प्रविधि परिवर्तन भएको छ । पढाउने तौरतरिका, माध्यम परिवर्तन भएको छ । पहिले र अहिले दाँजेर पहिले गज्जब थियो भनेर भन्न मिल्दैन । हाम्रो शिक्षाको गुणस्तरमा हिजोदेखि आजसम्मै समस्या थियो/छ । परीक्षामा ध्यान दिने तर सिकाइ प्रक्रियामा ध्यान नदिने हुँदा यस्तो समस्या देखिन्छ । अहिले सानो कक्षादेखि माथिल्लो तहसम्मै परीक्षाबाटै मूल्यांकन भइरहेको छ । यो परिवर्तन हुन जरुरी छ । वास्तवमा सिकाइ प्रक्रिया एकदमै प्रभावकारी हुनुपर्छ । त्यसका लागि विभिन्न क्रियाकलाप गर्ने वातावरण हुनुपर्छ । शिक्षक र विद्यार्थी मिलेर परियोजना गर्न सकिने हुनुपर्छ । सिकाइ व्यावहारिक हुनपर्‍यो भनेर धेरै बहस हुने गरेको छ । म त्यसमा ठ्याक्कै सहमत छैन । सिकाइ सिकारु केन्द्रित हुनुपर्छ ।

सिकारुरूले सोध्छ, प्रश्न गर्छ अनि चुनौती गर्छ । तब पो सिकाइ हुन्छ । जबसम्म यस्तो किसिमको सिकाइ हुँदैन, तबसम्म हाम्रो सिकाइको गुणस्तर बढ्न सक्दैन । कण्ठ गर्ने सिकाइ परापूर्वकालदेखि अभ्यास भैरहेको छ । हामी योभन्दा अगाडि बढ्नुपर्छ ।  नेपालमा निजी र सरकारी संस्थाहरूका कारण विद्यार्थीहरूबीच विभाजन हुन गएको कुरा केही हदसम्म सही हो । तर अहिलेको सन्दर्भमा हामीले बिर्सन नसकिने कुरा वर्गभन्दा पनि ठूलो नेटवर्क हो । नेपालमा सबैभन्दा बिग्रेको ठाउँ सार्वजनिक प्रणाली हो । त्रिभुवन विश्वविद्यालय वा कुनै सार्वजनिक संस्थामा गएर अनुरोध गर्नुस्- मलाई यस्तो सेवा चाहिएको छ । मलाई कति दिनपछि प्रतिक्रिया आउँछ ? एक महिना लाग्न सक्छ । कर कार्यालय, मालपोत कार्यालय, यातायात कार्यालय, जहाँ जानुस् प्रायः सार्वजनिक संस्थामा त्यस्तै हालत छ । यो करदाताको नाममा गरिएको ज्यादती हो । 

सरकारी निकायहरू कुनै पनि हिसावमा गुणस्तर कायम राख्नुपर्छ भनेर त्यस अनुसार परिचालित भएको देखिँदैन । जनता आजित भएर निजी रोज्न बाध्य छन् । मानौं, छ/सात जनाको समूहले लामो समयसम्म एउटा सार्वजनिक विद्यालयमा काम गरे । उनीहरूको त्यहाँ राम्रो भविष्य भएन । स्थायी भएनन् । आयोग खुलेन, भविष्य सुनिश्चित देखिएन । त्यही समूहले एउटा निजी संस्था खोल्यो । स्कुल, कलेज हुँदै उनीहरूको एउटा ठूलो साम्राज्य विकास भयो । धेरैलाई जागिर दिए । वरिपरि सबैले त्यै निजीमा आफ्ना सन्तान पढाउन पठाउन थाले । सँगै रहेको सार्वजनिक संस्थाको गुणस्तर खस्कँदो थियो । शिक्षकले समय कम दिएको देखियो । त्यसैले आम मानिस बाध्य भएर निजी संस्था छान्न पुगे ।

आजकल जुनसुकै क्षेत्रमा नेटवर्क चलेको छ । छिमेकी, आफन्त, इष्टमित्र लगायत सम्पूणर्ले  आफ्ना सन्तान त्यसैमा पढाएको देखिन्छ । तर करदाताबाट सञ्चालित संस्था न विश्वसनीय छन् न पारदर्शी ।  सेवा, गुणस्तर लगायत काम गर्ने तौरतरिकाको क्षेत्रमा निजी र सरकारीबीचको अन्तर कम गर्न जरुरी छ । निजी संस्थालाई धेरै जोड दिइराख्नै पर्दैन । तर सार्वजनिक स्कुललाई सुधार्न जरुरी छ । सरकारी स्कुललाई चाहिने स्रोत जुटाइदिनुपर्छ । तलब मात्रले विद्यालय बन्दैन । कम्प्युटर, ल्याब, किताब लगायत उपलब्ध गराउन जरुरी छ । सामन्य रूपमा हेर्दा पनि निजी विद्यालयभन्दा सार्वजनिक विद्यालय अझै राम्रो हुनुपर्छ । 

हामी सेवाग्राही हौं । हामीले हाम्रा भाइबहिनी, छोराछोरी लगेर राख्यौं भने मूल्य अनुसारको सेवा पाएका हुँदैनौं । लडेर चोटपटक लाग्यो भने हेरिदिने मान्छे छ ? तर निजीले त्यो सेवा उपलब्ध गराएको छ । त्यसैले सार्वजनिक स्कुल सुध्रनका लागि स्रोत त चाहिन्छ नै, साथसाथै उसलाई जवाफदेही पनि बनाउनुपर्छ । मानिस आज समाजभन्दा बढी स्वकेन्द्रित भएको छ । व्यक्ति केन्द्रित भएका कारण उसको स्वच्छन्दतामा ध्यान गयो । पुराना अनुशासन, जस्तै ठूलालाई आदर गर्ने एउटा महत्वपूर्ण पक्ष हो, अहिले कम हुँदै गएको छ । यसको अर्थ सधैं ठूलालाई सानाले नमस्कार गर्नु नै राम्रो संस्कार हो भन्न खोजिएको होइन । हामी जति विनम्र भयौं त्यति जित्न सक्छौं ।

अहिले विनम्रताका आयामहरू एकदमै कमजोर भएका छन् । स्वच्छन्दता र स्वतन्त्रता फरक कुरा हुन् । हामी स्वतन्त्र हुनुपर्छ । तर व्यक्तिगत स्वच्छन्दता एकदमै केन्द्रमा भएपछि परम्परागत मूल्य, मान्यता संस्कृति सबै हराएर जान्छन् । राम्रो शिक्षा पद्धति भएका देशमा विद्यार्थीलाई धेरै परीक्षा लिइँदैन । सिकाइमा जोड दिइन्छ । आठ घण्टासम्म पढाइ हुँदैन । अर्थपूर्ण सिकाइमा लगाइन्छ । तर्क गर्न सिकाइन्छ । 

मुलुक संघीय संरचनामा प्रवेश गरिसकेपछि अहिले स्थानीय निकायमा  पूर्वाधारको आवश्यकता छ । विद्वान् मान्छेहरूको खाँचो छ । निर्वाचित पधाधिकारीको कामको एउटा निश्चित सीमा हुन्छ । उनीहरूलाई सघाउने मान्छे त्यहाँ चाहिन्छन् । 

स्थानीय तहहरूका समस्यासम्मै पुगेर विश्वविद्यालयहरूले अनुसन्धानको दायरालाई फराकिलो बनाउन सक्नुपर्छ । विश्वविद्यालयका, खासगरी स्कुल अफ एजुकेसनको अनुसन्धान, विद्यालय र समुदायसँग जोडिएको हुन्छ । अनुसन्धानका केही शीर्षक विद्यालयतर्फ नबढी पनि हुन सक्छन् । अथवा विद्यार्थीलाई सहभागी नगराई पनि हुन सक्छन् । तर मेरो विचारमा समुदायलाई नजोडी शैक्षिक अनुसन्धान अर्थपूर्ण नबन्लाजस्तो लाग्छ । विद्यालय कसरी सुध्रन्छ ? कसरी शिक्षकसँगै काम गरेर प्रभावकारिता बढाउन सकिन्छ ? यस्ता प्रश्नहरूको जवाफ थाहा पाउन विद्यालयका शिक्षक, प्रधानाध्यापक लागयतसँग मिलेर उनीहरूकै ठाउँमा गएर उनीहरूकै सन्दर्भमा काम गर्नुपर्ने हुन्छ । स्थानीय समुदाय भनेको हाम्रा लागि सन्दर्भ हुन् जहाँबाट जानकारी र तथ्य, तथ्यांक आउँछन् । 

हामी घोकिएको र कण्ठ गरिएको कुरा सम्झन (रट-स्मरण) लाई बढी जोड दिइरहेका हुन्छौं । परिवेश गाउँघर छर-छिमेक समुदाय जोडेर पढाउँदा अझ बढी प्रभावकारी हुन्छ । त्यसका लागि बालबालिकाहरूलाई सक्रिय बनाउन आवश्यक छ । शिक्षक मात्र सक्रिय भएर हुँदैन । के कसरी आयो भन्ने कुरालाई स्थानीय समुदायसँग जोडेर परियोजनाका कामहरू गर्न सकिन्छ । 

हाम्रो पाठ्यक्रम विषयवस्तु केन्द्रित छ । विषयवस्तु केन्द्रित पाठ्यक्रमले विद्यार्थीलाई रचनात्मक हुन सिकाउँदैन । क्रियाकलाप केन्द्रित पाठ्यक्रम चाहिन्छ । विद्यार्थीले कक्षाकोठामा पस्नासाथ प्रश्न गर्ने, समूहमा काम गर्ने लगायतको वातावरण हुनुपर्छ । अहिले प्रविधिको एकदमै विकास भैइरहेको छ । शिक्षणमा पनि प्रविधिको प्रयोग भैइरहेको छ । तर प्रविधिको विकास हुँदैमा शिक्षकको दायित्व कम हुँदैन । दायित्व पूरा गर्ने क्रममा प्रविधि प्रयोग गर्न सक्छन्, तर दायित्व नै पन्छाउने काम हुन सक्दैन ।

पुस्तान्तरणमा चाहिँ फरक भएको छ । नेपाली समाज परिवर्तन भएको छ । मेरो पुस्ताले पढ्दा शिक्षकको गाली खाएर पढ्नुपर्थ्याे भने अहिले त्यो अवस्था छैन । हामी अहिलेका विद्यार्थीको चासो नबुझी पढाउन सक्तैनौं । अबको पुस्ताले जबर्जस्ती गरेर पढ्दैन । पढाउनु साधन हो कि साध्य ? को साधन, को साध्य बुझ्न जरुरी छ । बच्चाहरू आफैंमा साध्य हुन् । साधन हाम्रो सिकाइ हो । हाम्रो प्रणालीले परीक्षामा मात्र ध्यान दिएको छ । परीक्षामा कस्ता विद्यालयले कति अंक ल्याए भनेर देखाउने प्रवृत्ति बढेको छ । त्यसको अर्थ परीक्षा वा मूल्यांकन चाहिँदैन भनेको होइन । तर अति धेरै परीक्षाले उचित मूल्यांकन हुन सक्दैन । 

फिनल्यान्डमा परीक्षा एकदमै कम हुन्छ । तर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा त्यहाँका विद्यार्थी सधै अगाडि आउँछन् । यहाँ त परीक्षा दिँदादिँदा आत्मविश्वास नै घटिसकेको हुन्छ । गुणस्तरीय शिक्षामा कति सिक्छ भन्दा पनि कसरी सिक्छ भन्ने कुरा महत्वपूणर् हो । कुनै पनि शिक्षार्थी जीवनपर्यन्त सिकाइमा समाहित हुन सक्नुपर्छ । ऊ परीक्षाका लागि मात्र नभई जीवनसँग दौडिन सक्छ कि सक्दैन भन्ने कुरा बढी महत्वपूर्ण छ । 

अभिभावकले परीक्षामा अंक खोजिरहनुभएको हुन्छ । मेरो बच्चाको संस्कार भएन भन्ने कुरामा चिन्तित हुनुभएको देखिन्छ । अंक खोजेर संस्कारमा परिवर्तन आउँदैन । हामीले शिक्षाको गुणस्तरमा कहिले चिन्तन गरेका छैनौं । कक्षाकोठा कस्तो हुनुपर्ने हो ? त्यहाँ भौतिक मात्र नभई मनोवैज्ञानिक वातावरण कस्तो हुनुपर्ने हो भन्ने विषयमा ध्यान दिइनुपर्छ।  कक्षाकोठा, सिकाइ पद्धति आदिबारे चासो राखेपछि मात्र शिक्षामा सही चिन्तन हुन्छ । हाम्रो चासो अहिले ग्रेड, भवन लगायतका कुरामा भैरहेको छ । कक्षाकोठालाई चाहिने स्रोत पाइएको छैन । किताब समयमा नपाएको हामी बारम्बार सुनिरहन्छौं । सार्वजनिकका तुलनामा बढी भए पनि निजी विद्यालयमा समेत पर्याप्त स्रोत साधन उपलब्ध छैनन् । तर यस्ता कुराहरूमा राजनीतिक दल, शिक्षक संघ/संगठन लगायत कसैलाई पनि चासो भएको देखिँदैन । 

Previous Post Next Post