एकीकृत पाठ्यक्रमको प्रयोग र मुल्यांकन कसरि गर्ने?

एकीकृत पाठ्यक्रम प्रायोग र मुल्यांकन

एकीकृत पाठ्यक्रम प्रायोग र मुल्यांकन

अहिले हामीले गर्ने भनेको एकिकृत पाठ्यक्रमले तय गरेका विषयगत सक्षमताहरू र समग्र पाठ्यक्रम संरचना अध्ययन गरी एक अर्का बिचको सहसम्बन्ध केलाउने, अन्तरविषयक ढाँचामा तयार विषयक्षेत्रमा एक भन्दा बढी विषय अन्तर सम्बन्धित गराई शिक्षण योजना बनाउन अभ्यास गर्ने, हरेक विषयबस्तु शिक्षणको लागि बहुविषयक थिममा रहेर सिकाइ गर्दा दैनिक जीवनसँग जोडेर कसरी सिकाउन सकिन्छ भनी खोज्ने, यो पाठ्यक्रम क्रियाकलाप बेशमा आधारित छ विद्यार्थीमा विभिन्न सिप विकासको अपेक्षा गरिएको छ हामीले त्यो कुरा र फरक शैलीबारे अध्ययन गर्नुछ

पाठ्यक्रम को परिचय

तोकिएका निश्चित सिकाइउपलब्धिहरु प्राप्तिका लागि विद्यार्थीहरुलाई विभिन्न खालका अनुभवहरु हासिल गर्न बाटो देखाउने माध्यम पाठ्यक्रम हो । पाठ्यक्रमले विद्यार्थीले हासिल गरेका अनुभवहरुलाई व्यवहार उपयोगी बनाउन मार्ग निर्देश गरेको हुन्छ । पाठ्यक्रम भनेको नै सिकाइको लागि तयार गरेको बृहत योजना हो । समग्र शिक्षाका उद्देश्यहरु प्राप्तिका लागि बनाइएको शैक्षिक दस्ताबेज पाठ्यक्रम हो । पाठ्यक्रमले विद्यालय भित्र तथा बाहिर सञ्चालन गरिने हरेक क्रियाकलापहरुलाई विद्यार्थीको सिकाइसँग जोडेको हुन्छ ।

पाठ्यक्रम सिक्ने(विद्यार्थी) र सिकाउने(शिक्षक) पक्षलाई शिक्षण सिकाइका सन्दर्भमा निश्चित सीमामा बाँध्ने साधन हो । पाठ्यक्रम त्यस्तो योजना हो जसले विद्यार्थीहरुको उमेर क्षमता आवश्यकता र रुची अनुरुपको ज्ञान र सीप हाँसिल गराउन आवश्यक बाटो देखाउँछ । समग्र शैक्षिक संस्थालाई आफ्नो योजना निर्माणमा पाठ्यक्रमले मार्गनिर्देश गरेको हुन्छ ।

पाठ्यक्रम कहिल्यै पनि स्थिर रहँदैन, यो समय सापेक्ष परिवर्तन भइरहन्छ हुनुपर्छ पनि । जब जब समाज विकास वा सामाजिक परिवर्तन हँदै जान्छ, पाठ्यक्रम पनि सोहि आधारमा परिवर्तन गरिनु आवश्यक हुन्छ । युग सुहाउँदो ज्ञान सीप प्रदान गर्नु वा युग अनुकुल मानिसलाई बाँच्न सक्षम तुल्याउनु पाठ्यक्रमको धर्म हो । फलस्वरुप २१ औं शताब्दीको समाज अनुकुल हुने गरी आधारभूत तह (कक्षा १–३) को एकिकृत नमुनाको पाठ्यक्रम विकास गरी यसै शैक्षिक सत्र २०७७ बाट देशभरका विद्यालयहरुमा कक्षा १ -३ मा लागू भइसकेको छ । यस लेखमा सोही पाठ्यक्रम कार्यान्वयन सहजता तथा असहजता, देखापरेका  कठिनाइँ र त्यसमा हाम्रो भूमिका बारेमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

एकीकृत पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?

एकीकृत पाठ्यक्रम भन्नाले विभिन्न विषयलाई अन्तरसम्बन्धित गरेर जीवनसापेक्ष हुने गरी सिकाइ सञ्चालन गर्ने भन्ने बुझाउँछ । विभिन्न विषयका ज्ञान र सिपलाई कुनै समस्यामा वा विषयक्षेत्रमा केन्द्रित गर्ने वा कुनै मुद्दा वा समस्यामा केन्द्रित भई विषयवस्तुको निश्चित सीमा निर्धारण नगरी समस्या समाधानका लागि आवश्यक ज्ञान तथा सिप प्राप्त हुने गरी शिक्षण सिकाइ सञ्चालन गर्ने गरी तयार गरिएको पाठ्यक्रम एकीकृत पाठ्यक्रम हो । विभिन्न विषयगत ज्ञान र सीपहरुलाई एकिकृत रुपमा सिकाउन सकिने गरी तयार गरेको पाठ्यक्रमलाई एकिकृत पाठ्यक्रमको रुपमा लिइन्छ । दुई वा दुई भन्दा बढी विषयहरुको संयोजन गरी एक अर्को विषय बिचको अवधारणाको सम्बन्ध खोज्न लगाउने, विद्यार्थीको समूह निर्माण गरी सिक्ने सिकाउने अवसर प्रदान गर्ने गरी तयार पारिएको पाठ्यक्रमलाई एकीकृत पाठ्यक्रम भनिन्छ । दुई वा दुईभन्दा बढी विषयका उद्देश्यहरु सँगै मिलाएर सिकाउन सकिने पाठ्यक्रम एकिकृत पाठ्यक्रम हो । अथवा विषयहरु जोडेर समग्र रुपमा सिकाउने विधि हो ।

बहु विषय तथा बहु शिक्षकबाट फरक–फरक समयमा फरक विधि र अलग अलग विषयबस्तु शिक्षण गर्दा विद्यार्थीको सिकाइमा सहसम्बन्ध कायम गर्न सकिएन, विद्यार्थीको बुझाईमा एकरुपता कायम हुन सकेन । सिकेका कुरालाई विद्यार्थीले व्यवहारमा प्रयोग गर्न सकेनन्, विभिन्न विषय तथा विषयवस्तुको अन्तरसम्बन्ध, सिकाइ क्रियाकलापमा संयोजन हुन सकेन फलस्वरुप एकीकृत पाठ्यक्रमको अवधारणा अगाडि ल्याइयो ।

यद्यपि यो अवधारणा नौलो भने होइन । विभिन्न मुलुकमा यसको प्रयोग गर्ने सन्दर्भमा सन् १९२० तिर नै चर्चा परिचर्चा चलेको थियो । नेपालको सन्दर्भमा पनि यसलाई धेरै पटक लागू गर्न खोजिएको थियो । प्राथमिक शिक्षा पाठ्यक्रम २०४९ ले कक्षा १–३ मा मेरो सेरोफेरो विषय तयार गरी केहि समय व्यबहारमा ल्याएको थियो । त्यसरी नै कक्षा ६–८ को पेशा व्यवसाय र प्रविधि, सामाजिक अध्ययन र जनसंख्या शिक्षा, कक्षा ९–१० को स्वास्थ्य, जनसंख्या र वातावरण विषयलाई एकिकृत रुपमा विकास गरी कार्यान्वयनमा ल्याइयो तर तिनलाई अन्तरविषयक संयोजन मात्र गरिएको मान्न सकिन्छ । साझा थिम निर्माण गरी प्रयोग भएको थिएन । अहिलेको एकीकृत पाठ्यक्रम ले तोकिएको सबै विषयका विषयबस्तु तथा क्षेत्रमा साझा थिम निर्माण गरी प्रयोग गर्न खोजिएको छ ।

एकीकृत पाठ्यक्रम ले विद्यालय शिक्षामा एउटा महत्वपूर्ण ईँटा थप्ने प्रयत्न गरेको देखिन्छ । यसले विद्यार्थीहरूमा व्यवहारकुशल सिपहरू विकास गराउन खाजेको छ । जुन सीपहरु सबैलाई आवश्यक हुन्छन् । व्यवहारकुशल सिपहरु कुनै निश्चित कार्य वा भूमिकामा मात्र सीमित नभई विभिन्न कार्य वा भूमिकाका लागि आवश्यक हुने गर्दछन् । व्यवहारकुशल सिपले विद्यार्थीका दैनिक जीवनका यथार्थ समस्या समाधान गर्न सहयोग पुर्याउँछन् ।

व्यवहारकुशल सिपलाई निश्चित सिकाइ उपलब्धि वा सक्षमता भन्दा माथि राखेर हेरिन्छ । निश्चित सिकाइ उपलब्धि वा सक्षमता हासिल गर्दैमा विद्यार्थीमा व्यवहारकुशल सिपहरू हाँसिल हुनसक्यो भनेर मान्न सकिदैंन । यसको दायरा फराकिलो छ । व्यवहारकुशल सिपहरू विभिन्न कार्य, पेसा, विषयक्षेत्र वा ज्ञानको क्षेत्रमा विद्यार्थीले प्रदर्शन गर्नसक्ने क्षमतासँग सम्बन्धित छन् ।

व्यवहारकुशल सिपहरुलाई मुख्य गरी ५ क्षेत्रमा विभाजन गरिएको छ (आधारभूत तह कक्षा १–३ को पाठ्यक्रम २०७६) । व्यवहारकुशल सिपका उल्लिखित पाँच विस्तृत क्षेत्रहरु निम्नअनुसार छन् ।

– सोचाइ सिप Thinking skills  (s1)

–वैयक्तिक सीपहरु Intrapersonal skills (S2)

–अन्तरवैयक्तिक सिपहरु Interpersonal skills (S3)

– सूचना प्रविधि तथा बहुसाक्षरता सिपहरुInformation communication and multiliteracy skills (S4)

–नागरिक सिप Citizenship skills (S5)

उक्त पाठ्यक्रमले विभिन्न विषयगत ज्ञान र सिपहरुलाई समस्या समाधान विधि मार्फत शिक्षण गराई व्यवहारकुशल सिपहरुको सिकाइलाई सुनिश्चित गराउन खोजेको छ । अब प्रश्न यहाँनेर नै उठ्छ , विषयगत रुपमा एकिकृत गरेर तोकिएका सिकाइउपलब्धि वा सक्षमतालाई कसरी व्यवहारकुशल सिपसँग जोड्ने ? माथि उल्लेखित व्यवहारकुशल सिप हाँसिल गर्नका लागि विद्यार्थीहरुमा थप के के क्रियाकलापमा सरिक गराउने त ? जस्तै सोचाइ सिप विकासका लागि गरिने थप क्रियाकलापहरु के के हुन् अनि सिकाइ सक्षमतासँग कसरी कति बेला जोड्ने ? हुनत यस पाठ्यक्रमलाई देशभरका छनौटमा परेका १०३ वटा विद्यालयमा एक वर्षको परिक्षण र प्राप्त सुझावका आधारमा नै प्रयोगमा ल्याउन खोजिएको छ साथै केहि सुझाव र असल अभ्यासहरु भने भएका होलान् ।

एकीकृत पाठ्यक्रम आधारभूत तह अन्तर्गत कक्षा १—३ को पाठ्यक्रमको समग्र संरचनालाई हाम्रो सेरोफेरो, गणित र भाषा अन्तर्गत नेपाली र अङ्ग्रेजी गरी चार विषयक्षेत्रमा समायोजन गरी केही वहुविषयगत र केही विषयगत थिममा सङ्गठित गरिएको छ । मातृभाषा वा स्थानीय विषयका पाठ्यक्रम भने सम्बन्धित स्थानीय तह मार्फत नै विकास र कार्यान्वयन हुने व्यवस्था रहेको छ । (आधारभूत तह (कक्षा १—३) को पाठ्यक्रम, २०७६) उक्त संरचना हेर्दा गणित र भाषा विषयमा वहुविषयक ढाँचाअन्तर्गत समावेश गरिएका सिकाइउपलब्धि तथा विषयवस्तुहरू अन्तरसम्बन्धित थिममा आधारित छन् । सेरोफेरोमा समावेश भएका विषयहरूलाई अन्तरविषयक ढाँचामा एकीकृत गरिएको हुँदा उक्त विषयक्षेत्रको शिक्षण सिकाइ क्रियाकलाप एकीकृत रूपमा सञ्चालन गर्नुपर्दछ । यसका लागि हाम्रो तयारी के छ ?

देशका कतिपय स्थानहरुमा विषम परिस्थितिका बावजुद नयाँ पाठ्यक्रमको प्रवोधिकरण भइसकेको छ भने कैयौं स्थानमा हुन बाँकि नै छ । अहिले विद्यालयको समय फुर्सदको छ जुन समयमा हामीले केहि भएपनि काम गर्न सक्यौं भने एकिकृत पाठ्यक्रम कार्यान्वयनमा सहजता आउने छ । अहिले हामीले गर्ने भनेको एकिकृत पाठ्यक्रमले तय गरेका विषयगत सक्षमताहरू र समग्र पाठ्यक्रम संरचना अध्ययन गरी एक अर्का बिचको सहसम्बन्ध केलाउने, अन्तरविषयक ढाँचामा तयार विषयक्षेत्रमा एक भन्दा बढी विषय अन्तर सम्बन्धित गराई शिक्षण योजना बनाउन अभ्यास गर्ने, हरेक विषयबस्तु शिक्षणको लागि बहुविषयक थिममा रहेर सिकाइ गर्दा दैनिक जीवनसँग जोडेर कसरी सिकाउन सकिन्छ भनी खोज्ने, यो पाठ्यक्रम क्रियाकलाप बेशमा आधारित छ विद्यार्थीमा विभिन्न सिप विकासको अपेक्षा गरिएको छ हामीले त्यो कुरा र फरक शैलीबारे अध्ययन गर्नुछ ।

विद्यार्थीहरूको भाषिक, सामाजिक,आर्थिक,पारीवारीक पृष्ठभूमि, सिकाइको स्तर क्षमता, अपाङ्गता आदिलाई विचार गरी विविधताको व्यवस्थापन गर्ने सिपको विकास,कस्तो शिक्षण प्रबन्ध अपनाउने हो कक्षा शिक्षण हो वा विषयगत शिक्षण प्रबन्ध गर्ने त्यसको योजना निर्माण गर्न, पाठ्यक्रमले निर्धारण गरेको मातृभाषा वा स्थानीय विषय ४ क्रेडिट आवरको पाठ्यक्रम निर्माण कसरी गर्ने, विषय क्षेत्र विषयबस्तु छनौट कसरी गर्ने, कक्षागत सक्षमताको विकास कसरी गर्ने, कक्षाकोठाको भाषिक विविधताको व्यवस्थापन कसरी गर्ने भन्ने जस्ता धेरै काम हाम्रो जवाफदेहिता भित्र पर्छन् ।

उक्त विषय निर्माण तथा सहजीकरणका लागि स्थानीय निकायले सहयोग गर्ने भनिएकोछ त्यसको समन्वय गर्न ढिला भइसक्यो । कसले र कहिले गर्ने अन्योलता नै कायम छ । यस्ता विषयलाई हामीले अहिले नै टुङ्ग्याउनु पर्छ किनकि हामी अहिले कक्षाकोठामा प्रवेश गरिसकेका छौ ।

विद्यार्थी मूल्याङ्कन अर्को जटिल पक्ष छ । विद्यार्थी मूल्याङ्कनलाई शिक्षण सिकाइसँग जोड्नु छ । कक्षा १–३ मा विद्यार्थी मूल्याङ्कन निश्चित समय तोकेर विद्यार्थीलाई पेपर पेन्सिल टेष्टको साहयताले सिकाइको लेखाजोखा गर्ने नभई निरन्तर, नियमित तथा कक्षा व्क्रियाकलाप सँगसगै निरन्तर गर्न पाठ्यक्रमले नै निर्देश गरको छ ।

विद्यार्थी मूल्याङ्कन गर्दा निर्धारित सिकाइ उपलब्धि विद्यार्थीले केकति हासिल गर्न सके सकेनन् भन्ने लेखाजोखा गर्न सकिने प्रक्रिया र साधन निर्माण गर्नुछ । परिक्षणका साधन निर्माण गर्दा सबै उपलब्धि मापन गर्न सक्ने र सहज हुनुपर्छ । मापन बाट आएको नतिजालाई विभिन्न स्तरमा राखी, तत्काल परिणामको व्याख्या गरी अगाडि के गर्ने त्यसको समेत तय गर्नुपर्ने छ । विद्यार्थीको सिकाइ मापन गर्दा सिकाइको स्तरलाई ४ बर्गमा विभाजन गरी श्रेणीकरण गर्नुपर्ने व्यबस्था पाठ्यक्रमले गरेको छ । जसलाई तलको तालिकामा राखिएको छ ।

उपलब्धिस्तर

मापन

उपलब्धिस्तरको सामान्य व्याख्या

कमजोेर (below basic)

मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेको, सबैजसो सिकाइ उपलब्धिका लागि सुधारात्मक सिकाइ आवश्यक भएको

सामान्य (Basic)

मुख्य सिकाइ उपलब्धि आंशिक रुपमा हाँसिल गरेको तर सुधारात्मक सिकाइ आवश्यक भएको

राम्रो(Proficient)

मुख्य सिकाइ उपलब्धि धेरैजसो हाँसिल गरेको र सुधारात्मक सिकाइ आवश्यक भएको

उच्च (Advance)

मुख्य सिकाइ उपलब्धि हासिल भई माथिल्लोस्तरको उपलब्धि समेत हाँसिल गरेको

स्रोत – (आधारभूत तह (कक्षा १—३) को पाठ्यक्रम,२०७६)

माथिको तालिका अनुसार सिकाइको अवस्था १, २ वा ३ रहने विद्यार्थीको लागि पटक पटक थप सिक्ने अवसर दिई सिकाइ स्तर ४ मा पुर्याउन जोड दिनुपर्ने देखिन्छ । यदि धेरै पटकको सिकाइ अभ्यासबाट समेत सूधार नआए त्यस्ता विद्यार्थीको बारेमा छुट्टै अनुसन्धान गरी कोर समस्या पत्ता लगाई उपचारात्मक शिक्षणको प्रबन्ध गरी सिकाइलाई निरन्तरता दिनु पर्ने देखिन्छ । अब शिक्षकमा छुट्टै अनुसन्धान गर्ने सिपको अवस्था के छ त ? त्यो तयारीमा लाग्न ढिला गर्नु भएन । त्यस पछि उपलब्धिस्तरलाई अक्षराङ्कन पद्धतिसँग मिलान गरी विद्यार्थीको सिकाइस्तरलाई ग्रेडिङ गनुपर्ने हुन्छ । अक्षराङ्कन पद्धति अनुसार ग्रेडिङलाई तलको तालिकामा जस्तै विभिन्न ६ स्तरमा छुट्टा छुट्टै निकाली उपलब्धिको व्याख्या समेत गरी सकेपछि मूल्याङ्कनको काम सकिने देखिन्छ ।

उपलब्धि प्रतिशत

अक्षरमा उपलब्धि स्तर

उपलब्धिस्तरको व्याख्या

३० भन्दा कम

E

ज्यादै कमजोर

३० र सो भन्दा माथि ४५ भन्दा कम

D

कमजोर

४५ र सो भन्दा माथि ६० भन्दा कम

C

सामान्य

६० र सो भन्दा माथि ७५ भन्दा कम

B

राम्रो

७५ र सो भन्दा माथि ९० भन्दा कम

A

उच्च

९० र सो भन्दा माथि

A+

उत्कृष्ट

स्रोत – (आधारभूत तह (कक्षा १—३) को पाठ्यक्रम,२०७६)

शिक्षामा कुनै नयाँ विषय ल्याउनु अनौठो विषय तबसम्म हुदैन जबसम्म कार्यान्वयनमा जाँदैन । विगतका धेरै अभ्यास निरर्थक बनेका उदाहरण छन् । अहिलेका अभिभावक तथा विद्यालयहरुको अंग्रेजी मोह चटक्कै छाडेर स्थानीय वा भाषा विषय अध्यापनमा कति सहज वा असहज होला । मैंले केहि विद्यालयका शिक्षक साथीहरुसँग यस विषयमा जिज्ञासा राख्दा स्थानीय वा भाषा विषयका सम्बन्धमा कुनै नयाँ काम भएको भन्ने जवाफ पाइन । यस अवस्थाबाट के प्रष्ट छ भने यो पाठ्यक्रमको अवस्था पनि हिजो हामीले पुरानो पाठ्यक्रममा भएको प्रावधानलाई लत्याएको जस्तै हुने पक्का छ ।

पक्कै पनि एकिकृत पाठ्यक्रम कार्यान्वयनको बाटोमा जाँदा शिक्षकको श्रम,मेहनत र समय ज्यादा नै लाग्छ। शिक्षकको विकासका लागि हिजोको पुरानो पद्धति भन्दा अलग खालको तयारी कोर्ष सम्बन्धित निकायले निर्माण गर्नुपर्छ। यस विषयमा गहन रुपमा तालिम कार्यशालाको आयोजना गर्नुपर्ला । शिक्षकहरुले सामुहिक रुपमा बसेर साझा धारणा निर्माण गरी शैक्षिक योजना निर्माणको अभ्यास नगरेसम्म यो विषय गाह्रो छ ।

एकिकृत पाठ्यक्रम मात्र भएर पुग्दैल होला विषयहरुको संयोजन गर्ने क्षमताको विकास पनि शिक्षकमा हुनुपर्छ । पाठ्यक्रम कार्यान्व्यन मार्गदर्शन,शिक्षक निर्देशिका जस्ता सामग्री विकास गर्न ढिला गर्नु भएन । हामीले जति नै ज्ञान, सिप, प्रयोग, अभिवृत्ति, उच्च दक्षता जस्ता पक्षमा ध्यान दिएका छौं भनेपनि ज्ञानात्मक सिकाइलाई प्रधानता दिएका छौं । यदि यो पाठ्यक्रमको साँच्चै प्रयोग गर्ने हो भने शिक्षकलाई यो साघुँरो दायराबाट बाहिर निकाल्नै पर्ने हुन्छ । सिकारुलाई गरिखाने सीपको विकास वा बजारमा बिक्न सक्ने क्षमतावान् नागरिक बनाउने सामथ्र्य शिक्षकमा हुनुपर्यो नै । व्यवहार कुशल सिपको विकास विद्यार्थीमा गराउनै पर्यो ।

Previous Post Next Post