आइतबार बिदा किन र के का लागि ?

बिदाको इतिहासले के भन्छ ?

यहुदीहरू बाइबलको ओल्ड टेस्टामेन्ट मान्छन् । त्यहीँ जेनिसिसको १ र २ ले भन्छ- परमेश्वरले पहिलो दिन उज्यालो र अँध्यारोको सृष्टि गरे । दोस्रो दिन स्वर्ग र पृथ्वीको । तेस्रो दिन जमिन र बिरुवाको । चौथो दिन दिन र रातको । पाँचौं दिन समुद्र र हावाको । छैटौं दिन अरू जीवको । सातौं दिन परमेश्वरले साबाथ लिए । साबाथ भनेको आरामको दिन हो । त्यसैले यहुदीले त्यस दिनलाई सुत्ने दिन माने । आरामको दिन । क्रमशः उनीहरूले शुक्रबारको सूर्यास्तदेखि आइतबारको सूर्यास्तसम्मलाई बिदाको दिन बनाए । साबाथको दिन । 

इसाईले बाइबलको न्यु टेस्टामेन्ट मान्छन् । यिनीहरूमध्ये अधिकांशले विश्वास गर्छन् कि जिसस शुक्रबार शूलीमा चढे । शनिबार चिहामा आराम गरे । आइतबार ब्युँतिए । जसले तीन दिन तीन रातको चिन्तन मान्छन्, उनले अर्कै तर्क दिन्छन् (म्याथ्यु, १२ः३८-४०) । पासओभरचाहिँ यहुदीको चाड हो । इजरायलीहरू इजिप्टको दासताबाट मुक्त भएको दिन । मोजेजले माउन्ट साइनाईमा चौथो कमान्डमेन्ट दिएको दिन । त्यो दिन शनिबार थियो । तर रोमन क्याथोलिक इसाईहरूले सन् ३२१ मा शनिबारको सट्टा आइतबारलाई पवित्र दिन मान्ने चलन चलाए । उनीहरूको तर्क हो- सो दिन इस्टर सन्डे (आइतबार) हो । जिसस ब्युँतिएको दिन । समग्रमा हेर्दा, यहुदी तथा इसाईले शुक्रबारलाई जिससले शूली चढेको दिन माने । त्यही दिनको सम्झनास्वरूप शुक्रबार साँझलाई गुड फ्राइडे भने । परमेश्वरले आराम गरेको दिन भनेर शनिबारलाई आरामको दिन माने । अर्थात्, जिसस गाडिएकै ठाउँमा आराम गरे भनेर साबाथको दिन माने । आरामको दिन । जिसस ब्युँतिएको दिन भनेर आइतबारलाई चर्च जाने दिन बनाए । प्रार्थना गर्ने । हप्ताभर गरे–गराएका अपराधहरू स्विकार्ने । क्षमा माग्ने । अब अपराध गर्दिनँ–गराउँदिनँ भन्ने । यसरी यहुदी तथा इसाईका चिन्तन जोडेर पश्चिमाहरूले शुक्रबार गुड फ्राइडे मनाए । शनिबार र आइतबारचाहिँ बिदा दिने चलन चलाए । यसैले उनका लागि शनिबार र आइतबार होली डे हुन् । पवित्र दिन ।

नेपालले किन शनिबार बिदा दियो त ?

राणाकालमा हप्तामा एक दिन बिदा दिने चलन चल्यो । कसैको मतमा देवशमशेरले । कसैको मतमा भीमशमशेरले । जसले बिदा दिने चलन चलाए पनि उनीहरूले ज्योतिषको आधार लिए । शनिबार शनि ग्रहको दिन हो । असल काम सुरु गर्नु नहुने दिन । त्यसैले यहुदी तथा इसाईका जस्ता ती हाम्रा होली डे अर्थात् पवित्र दिन हैनन् । बिदाका दिन मात्र हुन् । सुत्ने दिन पनि होइनन् । दिनहुँ पूजा–आराधना गर्ने संस्कार भएकाले प्रार्थनाका दिन पनि होइनन् । सृष्टिकर्ता सुतेका दिन पनि होइनन् । चिहानबाट ब्युँतिएका दिन पनि होइनन् । राणाकालीन शासकले त शनिबारलाई निषेधी दिन मानेका हुन् । नयाँ काम सुरु नगर्ने दिन । अब हामी आइतबार पनि बिदा दिन थाल्यौं । यस अर्थमा हामीलाई शनिबार र आइतबारको बिदा किन भनेर कुनै किरात धर्मावलम्बीले सोधे के उत्तर दिने ? हिन्दुले सोधे के उत्तर दिने ? बौद्धमार्गीले सोधे के उत्तर दिने ? ज्योतिषीहरूसँगै पो उत्तर छ कि ? यहुदी र इसाईकै होली डेकै अनुकरण गरेको भन्ने कि ? अरू केही भन्ने ? प्रश्न निर्णायकमा छाडें ।

बिदामा के गर्ने ?

चीनका प्राथमिक विद्यालयहरू बिहान ८ बजे खुल्छन् । अपराह्न ५ बजे बन्द हुन्छन् । निम्न माध्यमिक विद्यालयहरू बिहान ७ बजे खुल्छन् । राति ९ बजे बन्द हुन्छन् । माध्यमिक विद्यालयहरू बिहान ७ बजे खुल्छन् । राति ११ बजे बन्द हुन्छन् । विद्यार्थीहरू शनिबारका दिन बास्केटबल तथा कम्प्युटर गेम खेल्छन् । संगीत सिक्छन् । स्कुलमा पढाइने मूल विषयमा थप सिकाइ सिक्छन् । पढ्दा उत्तर नपाइएका कुराको खोजी गर्छन् । अन्य अतिरिक्त क्रियाकलाप गर्छन् । भविष्यमा के गर्ने भन्ने सोच बनाउँछन् । आइतबार क्रयाम स्कुल जान्छन् । त्यस्ता स्कुलमा चार घण्टा अंग्रेजी, भौतिक विज्ञान, गणित तथा भाषा पढ्छन् । ती सबै बेला शिक्षकको सेवा पाउँछन् । यसरी चिनियाँ बालबालिका हप्तामा ६५ देखि ७७ घण्टासम्म पढ्छन् ।

लामो बिदामा पनि चीनले स्कुले विद्यार्थीलाई व्यस्त राख्छ । संगीतमा । पहिले सिकेका कुरा सुदृढ गर्नमा । चिनियाँ जीवनसँग परिचित हुनमा । घुमघाम गर्नमा । रहरका अन्य काम गर्नमा । पढ्दा नबुझेका तथा नजानिएका कुराको थप जानकारी लिनमा । यसरी हेर्दा चिनियाँ बालबालिका कन्फुसियस तथा माओको पढ्ने, पढ्ने अनि पढ्ने दीक्षा लागू गर्छन् । छोटो अवधिका गरिखाने सीप पनि बिदाका दिनमा सिक्छन् । शिक्षकहरू तिनलाई सघाउँछन् ।

भारतका विद्यालयहरू वर्षमा २३६ दिन चल्छन् । हाम्रा २२० दिन । त्यसमा पनि वर्षको अलमलले १६५ दिन मात्र चल्छन् । २३६ दिन स्कुल चलेर पनि भारतले गरिखाने सीप सिकाउने अभियान थालेको छ । अनलाइन शिक्षा थालेको छ । हाम्रा शिक्षकहरूले के गर्ने हो ? हाम्रा विद्यार्थीहरूलाई के गराउने हो ? बिदा बढाएर शिक्षक तथा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने कि ? तिनलाई गरिखाने शिक्षा दिने हो कि ? तिनलाई व्यस्त राख्ने कुनै तरकिब छ कि ? निर्णायकहरूलाई प्रश्न गरें ।

अमेरिकाले वर्षमा १८० दिन पढाउँछ । ६ घण्टा स्कुलमा बसाउँछ । चार्टर स्कुलले त्यसमाथि थप घण्टा पढाउँछन् । त्यति गर्दा पनि कार्नेजी इकाइको अध्ययनले भन्छ- १८० घण्टाको पढाइले पुगेन । हिउँ परेका दिन (स्नोडेज) अर्थात् हिउँदे बिदाका दिनले गर्दा शैक्षिक उपलब्धि घट्तो रहेछ भन्छ । यी र यस्तै अध्ययनका आधारमा अमेरिकी स्कुलमा विद्यार्थीहरूलाई थप पढाइका लागि अतिरिक्त क्रियाकलापमा संलग्न गराइन्छ । समुदायमा गएर सिक्ने काम दिइन्छ । अनुसन्धान तथा परियोजना कार्यमा लगाइन्छ । अर्थात्, सिक्ने काममै व्यस्त राखिन्छ । बिदाकै बेलामा शिक्षकलाई आफूले आफैंलाई अद्यावधिक गर्न आंशिक कलेज पठाइन्छ । समर कलेजमा । विन्टर कलेजमा । स्वेच्छाले रकम तिर्ने गरी । छात्रवृत्ति रकम पाउने गरी । विद्यार्थीको गल्ती खोज्न सिकाइन्छ । त्यसलाई सुधार्ने सोच बनाउन लगाइन्छ । त्यसैमा अनुसन्धान गर्न लगाइन्छ । विद्यार्थी के गर्दै छ भनी पहिचान गर्न रेखदेख क्रियाकलाप (केयर एक्टिभिटी) मा व्यस्त बनाइन्छ । के हाम्रा शिक्षक तथा प्राध्यापक यस्ता कार्यहरू गर्न–गराउन तयार छौं त ? बिदा दिन तथा बिदा बस्न मात्र रमाउने हामीले यो कुरा सोचेका छौं त ?

हामी नेपालमा हप्तामा ३६ घण्टा पढाउँथ्यौं । हप्ताका दुई दिन बिदा हुनासाथ हामी ३० घण्टा पढाउन थाल्छौं । साढे ९ र साढे ४ को स्कुल बनायौं भने ४२ घण्टा पढाउँछौं । हिमाली भेगमा यो नियम लागू होला त ? बिहानै काममा जाने संस्कृति भएको पहाडमा यो नियम स्विकार्लान् त ? यसरी छुट्ने वा ढिला स्कुल आउने विद्यार्थीलाई शिक्षकले विशेष ध्यान देलान् त ? किताबबाट सार्ने खाले गृहकार्य दिने संस्कृति बदल्लान् त ? यी प्रश्नका उत्तर नखोज्ने हो भने हाम्रा बिदा लिन र बिदा दिन बानी लागे–लगाइएका संस्कारहरूमा फेरबदल होला त ? अन्यथाको अवस्थामा बनेको आइतबार बिदा दिने क्रान्तिकारी सोचले हामीलाई कता लान्छ ? के चिनियाँको जस्तो आफूमा पढ्ने, समुदायमा पढ्ने, अनि विज्ञसँग पढ्ने संस्कृति सिकाउँछ त ? के हामी शिक्षक तथा प्राध्यापकले विद्यार्थीका हिजोका नतिजाहरू सुधार्ने बानी बसाल्छौं त ? के हामी हाम्रा शिक्षकहरूलाई प्रतिहप्ता अद्यावधिक गर्ने चीनको जस्तो साप्ताहिक अभियान चलाउँछौं त ? के हामी अमेरिकाको जस्तो हिउँदे तथा बर्खे बिदामा चल्ने कलेज चलाउँछौं त ? के हामी भारतले जस्तो अनलाइन छोटो अवधिको गरिखाने सीप सिकाउँछौं त ? के हामी अहिलेकै क्रान्तिकारी निर्णयले गुणस्तरीय शिक्षा सुनिश्चित गर्छौं त ? संविधानको धारा ५१ ज को १ ले भनेजस्तो शिक्षा दिन सक्छौं त ? शिक्षा मन्त्रालयका विचारक समूहमा यी प्रश्नहरू छाडें ।

लामा बिदा किन दिइए ?

काठमाडौं उपत्यकाको हिउँदमा कुनै बेला दुई मिटर बाक्लो कुहिरो लाग्थ्यो । बाटामा तुसारो पर्थ्यो । धाराको पानी जम्थ्यो । पोखरी सेताम्य हुन्थ्यो । रैथाने वयोबड्डाहरूको भनाइमा माछा पनि कठ्यांग्रिन्थे । मीन भनेको माछा हो । पचास भनेको ५० दिनसम्म । त्यसैले काठमाडौंका शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई मीन पचास बिदा । जाडो छल्न । हिमाली बस्तीमा स्कुल खोल्दा मीन पचासको बिदा नै लागू भयो । अहिले हिउँदे बिदा भनेको मीन पचासको विस्तारित नाम हो ।

त्यस्तै, गुजारामुखी खेतीमा बाँचेका हामी मधेश तथा पहाडका शिक्षक, प्राध्यापक एवं विद्यार्थीले खेतीका बेला बिदा पायौं । असार–साउनको बिदा । हामीलाई मीन पचास बिदा थिएन । चाहिएन पनि । त्यसैको विस्तारित नाम बर्खे बिदा हो । ती दिनका बिदा कटाउनुको सोझो अर्थ हो- काठमाडौं उपत्यका तथा हिमाली भेगमा माछा कठ्यांग्रिँदैनन् । अर्थात्, त्यहाँ जाडोको दिन घट्यो । अथवा, त्यहाँका स्कुल–कलेजमा वातानुकूलित व्यवस्था छ । त्यस्तै बर्खे बिदा कटाउनुको अर्थ हो- अब हामी गुजारामुखी खेतीमा छैनौं । बजारमुखी खेतीमा गइसक्यौं । अथवा, हाम्रा विद्यार्थी, शिक्षक तथा प्राध्यापकहरू प्लेटोका शब्दमा कामदार वर्ग होइनौं । पेटको चिन्तन गर्ने । उनकै शब्दमा अभिभावक वर्ग भइसक्यौं । के यो कुरा सही हो ?

प्रत्येक जातजाति तथा धर्मका चाडपर्वमा स्कुल तथा कलेज बन्द गर्ने हाम्रो संस्कार बनिसक्यो । क्यालेन्डर पनि त्यसरी नै मिलिसक्यो । नमिलेको ठाउँमा मन्त्रिपरिषद्ले बिदा दिने निर्णय गर्ने चलन भइसक्यो । पराईका देशमा भने अर्कै चलन छ । जस्तो- क्यालेन्डरअनुसार पठन–पाठन गर्न क्यानेडियनले स्कुल–कलेजमै बहुसांस्कृतिक चाड मनाउँछन् । पठन–पाठन भने रोक्तैनन् । जातजाति तथा धर्मका मान्छेले आफ्नो आवश्यकताअनुसार बिदा लिन पाउने व्यवस्था गर्छन् । के हामी त्यसो गर्न सक्छौं त ? गर्छौं त ?

सरकारकै कर्मचारीलाई बिदा दिने नीति स्कुल–कलेजमा लगाए पनि हुथ्यो कि त ? जम्मा यति दिन बिदा पाउने । अनिवार्य बिदा नदिने । शिक्षक तथा प्राध्यापकले बिदा लिएका दिनमा पनि पढाइ निरन्तर रहने । कुनै दिन औपचारिक पढाइ । कुनै दिन अतिरिक्त क्रियाकलाप । कुनै दिन गरिखाने पढाइ । विद्यार्थीलाई पनि त्यस्तै बिदा दिने । सबै आएको दिनमा मूल विषय पढ्ने । नआएको दिनमा इच्छाधीन । यस्तो तरकिब बनाए पनि हुन्थ्यो कि त ? किन यस्तो सोच नबनेको होला ? नबनाइएको होला ? किन जबर्जस्ती बिदाको चिन्तनमै हामी अलमलिएका हौंला ? कसैले भनिदिन्छौं कि त ?

इन्धन बच्ला त ?

आइतबार बिदा दिनु भनेको इन्धन बचाउनु हो । इन्धन किन्ने डलर बचाउनु हो । सरकारको बलियो तर्क यही रह्यो । यसो हो भने, हामी इको चिप्स प्रयोग गर्न सक्छौं त ? इको चिप्स भनेको टर्निङ बक्स हो । यसमा ओबीडीटू कनेक्टर हुन्छ । यो गाडीमा जोडिनासाथ इन्धन बचत हुन्छ । त्यस्तै, हामी इको राइडको व्यवस्था गर्न सक्छौं कि त ? इको राइड पनि प्लग एन्ड राइड सामग्री हो । कार फ्युल सेभरको प्रयोग गर्न सक्छौं त ? तिनीहरूको परीक्षणले भन्छ- इको चिप्सले ५५ प्रतिशत इन्धन बचाउँछ । इको राइडले १५ प्रतिशत । कार फ्युल सेभरले केही प्रतिशत । यो चिन्तन गरेको भए हुने थियो कि त ? शिक्षा मन्त्रालयमै विज्ञान तथा प्रविधि मन्त्रालय पनि छ । यसबारे किन नसोचिएको होला ? विज्ञान प्रविधि मन्त्रालयसँग पो यसको उत्तर छ कि त ? इन्धन पनि बच्ने । शिक्षामा अपत्यारिलो नियति भोग्नु पनि नपर्ने ।

उपसचिव तथा सोभन्दा माथिका सरकारी कर्मचारी, संस्थानका कर्मचारी, गैरसरकारी संस्थाका कर्मचारी, निजी विद्यालयका सञ्चालक, निर्वाचित तलबी जनप्रतिनिधि, निजी विद्यालयमा पढ्ने–पढाउने विद्यार्थी एवं शिक्षकहरू पनि त जनताकै सन्तति हुन् । तिनले एक दिन सार्वजनिक यातायात चढे हुँदैन र ? हिँडेरै गन्तव्यमा पुगे हुँदैन र ? अर्थात्, मोटर चढ्न पाउने भाग्यमानी व्यक्तिहरूले त्यस दिन जनता बन्न मिल्दैन र ? त्यसो गरेको भए क्रमशः सार्वजनिक यातायात समयमा चल्थे होलान् कि त ? ती भाडाका सवारीमा चढ्नु नपर्नेहरूले पनि जनताका दुःख–दर्द बुझ्थे कि त ? त्यसो गर्न मन नलागे केही सार्वजनिक गाडीहरूको रुट आइतबारका लागि बदल्न पो सकिन्थ्यो कि त ? क्यानाडातिर त्यसो गर्छन् भन्ने कुरा हामी निर्णायकहरूले जानेका छैनौं र ? यसो गरेको भए आकाश खस्थ्यो र ? किन सोचेनौं भाग्यविधाताहरूले ? सोच नपुगेको हो र ?

हाम्रा नेतृत्वहरू जनताका कुरा गर्छौं । जनताकै जीवनशैली जिउनचाहिँ किन डराउँछौं ? यदि नडराउने हो भने एक दिन जनता चढ्ने गाडीमै चढे के हुन्छ ? त्यसो गर्न सकिँदैन भने धेरैवटा कार्यालयका लागि एउटा गाडी घुमाए के हुन्छ ? यसो गर्दा गाडी किन्ने खर्च बच्छ । जागिर छोड्दा पनि मोटर चढ्नुपर्छ भन्ने चाहना हुन्न । फलतः भ्रष्टाचार घट्छ । जनतासँगको सम्बन्ध बनिरहन्छ । यसबारे जनताका कुरा गर्नेहरूले किन सोचेनौं ? शिक्षा मन्त्रालयका निर्णायकहरू यसबारे केही बोल्न सक्छौं त ?

हाम्रो अभ्यासले भन्छ- शनिबार पनि हामीले सरकारी गाडी कुदाएकै छौं । निजी स्कुलका गाडी दगुराएकै छौं । संस्थानहरूले त्यसै गरेका छौं । जनप्रतिनिधि पनि त्यही मार्काका छौं । यसो हो भने स्कुल–कलेज बन्द गर्दर्मौ आइतबार गाडी चल्दैन भनी निश्चिन्त हुने आधार छ र ? बढ्दो नवधनाढ्य तथा मध्यमवर्गीको रबाफले झन् गाडीहरू चले भने इन्धन बच्ला त ? उल्टै शनिबार तथा आइतबार पिकनिक, भेटघाट, घुमफिर भनेर गाडीको चाप बढ्यो भने सरकारको निर्णय के होला ? पहिले तथा अहिलेको शनिबार चल्ने–चलाइने गाडीहरूको चापको तुलना गरे सहजै जानकारी मिल्छ । यति कुराको जानकारी ट्राफिक प्रहरीले पनि दिन्थ्यो होला कि त ? किन हामीले खोजेनौं ? खोजाएनौं ? सकिएला त ?

केही अपवादबाहेक कोरोनाकाल बिदाकै दिन बन्यो । बनाइयो । ती दिनहरूमा हामी शिक्षक तथा प्राध्यापकले के गर्‍यौं ? विद्यार्थीलाई के गरायौं ? कसरी गुणस्तर कायम गर्‍यौं ? यति कुराको लेखाजोखा गरेको भए बिदामा हामी के गर्छौं भन्ने कुरा जानिन्थ्यो । शनिबार हाम्रा शिक्षक, प्राध्यापक, तथा विद्यार्थीको दैनिकी हेरेको भए अर्को कुराको जानकारी हुन्थ्यो । यो काममा सरकारलाई चासो भएन । बरु बिदा समायोजनमा हाम्रा भाग्यविधाताहरूको ध्यान गयो । यति हुँदाहुँदै पनि अहिलेको बिदा समायोजनको क्रान्तिकारी अभ्यासले केही कुराको संकेत गर्ला कि त ?

पहिलो संकेत हो- हामी केही शिक्षक तथा प्राध्यापकहरू पेसाकर्मी छौं । तिनको खोजी हुन्छ । सम्मान हुन्छ । अनुकरण हुन्छ । कोही पेसाधारी छौं । तिनलाई पेसाकर्मी बनाउने दह्रिलो जोडबल हुन्छ । कोही भुलिएर पेसामा आएका छौं । तिनीहरू पेसाबाट अलग हुन्छौं । कोही दलीय आशीर्वाद भजाउँदै विद्यार्थीको समय खाइरहेछौं । तिनीहरू पाखा लाग्छौं । दोस्रो, हाम्रा विद्यार्थीहरू हप्ताका दुईदिने बिदा तथा लामा बिदामा अनुसन्धान गर्छन् । परियोजना गर्छन् । समुदायमा गएर सिक्छन् । सिकाउँछन् । गरिखाने सीप सिक्छन् । अतिरिक्त विषयमा जानकार हुन्छन् । त्यसका लागि शिक्षक तथा प्राध्यापकको अथक एवं निरन्तर सहयोग पाउँछन् । यस क्रममा स्कुल, कलेज तथा विश्वविद्यालयहरू अहोरात्र खुल्छन् । बन्द मोडमा । खुला मोडमा । यस काममा हामी शिक्षक तथा प्राध्यापकहरू जिम्मेवार बन्छौं । तेस्रो, अब पश्चिमाको जस्तै हाम्रो शैक्षिक क्यालेन्डर तलमाथि हुन दिँदैनौं । जे भए पनि जसो भए पनि । चौथो, रहर लागेका बेला मन्त्रिपरिषद्ले बिदाको निर्णय पनि गर्दैनौं । पाँचौं, हाम्रा शिक्षक तथा प्राध्यापकहरूलाई तत्स्थानमै अद्यावधिक गर्ने प्रबन्ध मिलाउँछौं । छैटौं, लामो अवधिको स्कुल–कलेज होस् कि छोटो अवधिको, हामी शैक्षिक गुणस्तर सुनिश्चित गर्छौं । गराउँछौं ।

Previous Post Next Post