स्थानीय तहका दलालहरु जसलाई हामि ‘नेता’ त भन्दै छैनौँ?

स्थानीय तहका दलालहरु जसलाई हामि ‘नेता’ त भन्दै छैनौँ?

नेता त्यो बन्दछ जसले जनताका लागि काम गर्दछ। सामाजिक मुद्दाहरुको उठान गर्ने ब्यक्ति नेता हो र त्यो मुद्दालाई आत्मसात गर्ने, निर्णय गर्ने समूह नेतृत्व हो । नेता ब्यक्ति हो र नेतृत्व सामुहिक विषय हो।

बैशाख ३० गते स्थानिय चुनाब हुने निश्चित जस्तै छ । निर्वाचन आयोगले आफ्नो काम तिब्रताका साथ अगाडी बढाई सक्यो । बिभिन्न राजनितिकदलहरू आफ्नो प्रचारप्रसार र संगठन विस्तारका लागि बिभिन्न योजनाहरू लिई गाउँगाउँ छिरिसके ।आफ्नो पार्टीलाई जिताउन भोट नै माग्न थालिसके राजनितिक दलहरूले ।

हुन त चुनाव एउटा प्रक्रिया मात्रै हो। चुनावी प्रतक्रियाले राम्रो परिणाम निकाल्छ । मतलब राम्रो परिणाम निकाल्छ भन्ने आस गरौँ । चुनावले राम्रो परिणाम निकाल्छ भनि रहँदा केहि कताकता नमिले झैँ आभाष होला । हुन पनि हो चुनावले राम्रो परिणाम दिन सक्ने नेतृत्व ल्याउने हो । परिणाम नेतृत्वले दिने हो नेताले दिने हो । तर पनि चुनाव चुनाव नै हो, यसले राम्रो परिणाम दिनुनै पर्छ । परिणामको वरिपरि किन यति घुमिरहेको छ भनेर अचम्ममा नपर्नुस् । कुरोको चुरो नै यहि छ । चुनावी माहोलले गाउँघर, सहरबजार र चोकचोकका चिया पसलहरू तातिईसकेका छन् ।

परिभाषा ले जे जस्तो भनेपनि यहा खच्चड हरु र गोठालाहरु लाइ हामि नेता र नेतृत्व मान्दै आइरहेका छौ। बिचरा बबुरा पछौटेहरुलाई भारि बोक्दैमा फुर्षद छैन, कहिले ठेकेदार, कहिले शैक्षिक माफिया त कहिले कालोबजारी। कहिलेकाँही दाना पाइहालिन्छ त्यत्ति भए भैहाल्यो।  खच्चर बाट प्रमोसन भएपछी त्यो पछौटे चाहिँ हनुमान बन्ने क्वालिटी राख्ने रहेछ र कहिलेकाही पहाडै उचालेर भएपनि माफियाको रक्षामा उत्रिन्छ। 

जसलाई नालीको गहिराइ र बाटोको चौडाई राम्रोसंग थाहा छ उसलाई जबज को बास्तबिक गहिराइ अनि बि पि को समाजबादको चौडाई कति थाहा होला? ग्याबिन जालीको साइज थाह हुने नेताले कुन नीतिको निर्माण गर्ला? खोलाको बालुवा तस्करी गरेर बेच्नेले चुसेको तपाइँ हाम्रो पसिना को चर्को स्वादमा तीनपाने थपिदिन फेरिपनि हामीले तिनीहरुलाई नै नेता बनाउन काँध थाप्ने हो त ? 

स्वास्थ्य, शिक्षा लगायत जनता संग प्रतक्ष जोडिएका बिसयबस्तु बाट टाढा हुन नसक्नेहरु बास्तबिक दलाल पुजीबादी माफियाहरु हुन्। जनताको जीवन संग खेलवाड गरेर कुम्ल्याउनेहरु न त स्वास्थ्य सुधार गर्न चान्हान्छन न त शिक्षा नै। बाघको खोल ओढेका श्यालहरु कहिले काही समाजसेवा गरेजस्तो पनि गरिरहन्छन तर गहिरियर सोचौं त तिनीहरु कसलाई चुसेर कति मोटाउछन अनि कति चुहाउँछन् ?

दलाल नेता जो साना तिना ठेक्का पट्टा बाट तातो लिइरहेको छ तेसको चालचलन हेर्नुहोस त, उम्रिदैको तिन पात, भोलि  नेतृत्वमा पुगेपछी के होला ? 

लाचार नेता जो इमान्दार छ उ कहिल्यै माथि हुन पाउदैन/ दिइदैन। इमान छ इज्जत छ मौका पाए काम पनि राम्रै गर्दो हो तर त्यो पनि माफियाकै थिचोमिचोमा पर्दछ। चट्टान फोडेर निस्कन जो कोहि सक्दैन तर जो सहस गर्छ त्यो एकदिन अवस्य सफल हुन्छ। यो समय ति सबै उर्जाशील युवाहरुको हो जो हिजो आज देखि नै तीनपाने र सुकुटीमा दिन बिताउन सुरु गरिसकेका छन्। बैशाख को अन्त्य संगै दाना पानि सकिने छ र परिवारमा झगडा सुरु हुन थाल्ने छ अनि फेरी ५ वर्षलाइ बेरोजगार बनेर देशलाइ गालि गर्ने। 

सिद्दान्त बोक्नुहोस तस्कर होइन। आफ्नो जिन्दगि त गुलामी मै बित्ला आफ्ना सन्ततिललाई पनि गुलाम नै बनाउने बिचार छ भने त भन्नु केहि छैन तर यदि संचिकै परिवर्तन चाहाने हो भने लाचार बनेर होइन हिम्मत गरेर सहि र गलत छुट्याउन सिक्नुहोस। यसो गर्दा जिन्दगीमा प्रगति केहि नहोला तर कमसे कम आफु भएर बच्न पाइन्छ। देश बच्ला र नेपाली हौँ भन्न पाइएला। 

चुनावनै हो जहाँ जनताले आफ्नो मतको शक्ति देखाउन सक्छन् , आफ्नो मतको सहि सदुपयोगले सहि व्यक्तिलाई नेतृत्वमा लान सक्छन् । असल र विकासवादी नेतृत्व छान्ने एउटै अवसर हो चुनाव । सहि ठाउँमा सहि व्यक्ति छान्न सके अवश्य विकासको मुल फुट्न सक्छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलको शब्दलाई सापट्टी लिने हो भने नेता भनेको चोर हो । हामीले चुनाबममा चोर मध्येको कम चोर छान्नुको विकल्प छैन । मह काड्नेले हात अवश्य चाट्छन् । हामी हात चाट्ने नेतृत्व चुनौँ, माहुरिको मह सहित घार नै खाने नेताबाट बचौँ ।

सकेसम्म देश बेच्ने दलालहरु समयमै चिनौ नत्र तपाईकै १ भोटले देश बेचिने छ। सत्तासिन ळेडुपेहरुका छाउराहरु फेरी  गाउँ गाउँ आउदै छन्, तिनीहरुलाइ एक सार्भौमसत्ता सम्पन्न आमनागरिकको हैसियतले "भोट माग्न आएकोमा धन्यबाद" दिंदै बिनम्रतापूर्बक २ वटा प्रश्न मात्र गर्यौ भने पनि आमलोकतान्त्रिक चरित्र निर्माणमा ठुलो योगदान हुने छ।

१. तपाइँहरुले बिगत पाँच वर्षमा आफ्नो वडा/टोल, क्षेत्र, प्रदेश र आमनागरिकहरुको जनजीविका संग जोडिएका सवालहरु सम्बोधन गर्नको लागि गरेका मुख्य-मुख्य कामहरु के के हुन्?

२. तपाइँहरुले अब पाँच वर्षमा आफ्नो वडा/टोल, क्षेत्र, प्रदेश र आमनागरिकहरुको जनजीविका संग जोडिएका सवालहरु सम्बोधन गर्नको लागि तयार पारेका मुख्य-मुख्य लक्ष्य र ती लक्ष्य प्राप्त गर्ने योजनाहरु के के हुन्?

हामी सबैले यी २ वटा प्रश्न मात्र गर्ने हो भने पनि हाम्रा नेताहरुले  "ओहो अब जनताले प्रश्न गर्न थालेछन्" भनेर केही जिम्मेवारी महसुस गर्ने थिए कि? प्रश्नमा शक्ति हुन्छ ।प्रश्नले हामीलाइ नागरकि बनाउनछ ।

यो भाषा अलि नम्र छ तसर्थ तपाइको मनमा भएको सबै पिडा ब्यक्त हुने किसिमका शब्द चयन गर्ने छुट तपाइँलाइ छ किन भने यो बेलामा नेताहरु रिसाउदैनन किन कि जित्नु छ फेरी हामिलाई नै चुस्नु छ। 

Previous Post Next Post