एमालेसंग अतालिएको गठबन्धनको आयु कति ?

एमालेसंग अतालिएर गरिएको गठबन्धनको आयु कति?

एमाले संग अतालिएको गठबन्धनको आयु कति ?

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै सम्भावित परिणामबारे बहस भैरहेको  छ । परिणाम आकलनको प्रमुख आधार २०७४ को स्थानीय तह निर्वाचन हो, जसले गठबन्धनको अवस्था बलियो देखाउँछ । तर २०७४ देखि हालसम्म आउदा दलहरुले जनाबिस्वास गुमाइसकेका छन् यसले गर्दा आँकलन गरिएका परिणामहरु गलत हुने सम्भावना छ। 

गत स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले स्थानीय तहका ३५ हजार ४१ पदमध्ये १४ हजार ९७ (करिब ४० प्रतिशत) पद जितेको थियो । एमाले विभाजित भएपछि गत असोजमा तीमध्ये १ हजार ५ सय १ जना (करिब १० प्रतिशत) ले एकीकृत समाजवादी रोजेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल अहिले पनि एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने संख्या उल्लेख्य रहेको बताउँछन् । ‘निर्वाचन मिति नजिकिएसँगै एमालेबाट जितेका स्थानीय तहका जनप्रतिनिधि हाम्रो पार्टीमा आइरहनुभएको छ,’ उनले भने, ‘अब एमालेसँग चार वर्षअघिको हैसियत बाँकी छैन ।’

भुसालले भनेझैं एमाले कमजोर नहुन पनि सक्छ किनभने माओवादी केन्द्रको एक समूहका साथै पछिल्लो समय अन्य दलका नेताहरू पनि एमाले प्रवेश गरिरहेका छन् । पार्टीका उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवाली एमाले विभाजन हुँदाको क्षतिपूर्ति अन्य दलबाट भइसकेकाले स्थानीय तह निर्वाचनमा पुनः पहिलो दल बन्ने दाबी गर्छन् । यद्यपि २०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा माओवादी केन्द्र र चौथो बनेको तत्कालीन संघीय समाजवादी फोरम (हाल : जनता समाजवादी पार्टी) एक ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन हुन सक्छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की गठबन्धन दलबीच संयन्त्र बनाएर स्थानीयस्तरमा दलहरूको अवस्था बुझ्ने र सोहीअनुसार चुनावी तालमेल गर्ने बताउँछन् । गत स्थानीय तह निर्वाचनमा कुल पदमध्ये कांग्रेसले ११ हजार ४ सय ५४ र माओवादी केन्द्रले ५ हजार ४ सय ४२ सिट जितेका थिए । यो संख्या एमालेले जितेको भन्दा करिब २ हजार ३ सयले बढी हो । त्यसमाथि एमालेबाट जनप्रतिनिधिको १० प्रतिशत हिस्सा एकीकृत समाजवादीमा गएको छ भने गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको जसपा थपिएको छ ।

गत स्थानीय तह निर्वाचनको परिणाम विश्लेषण गरेका संघीयताविद् एवं राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा गठबन्धन दलबीच समग्रतामा समीकरण हुने हो भने एमालेका लागि नतिजा निकै निराशाजनक आउने दाबी गर्छन् । ‘आफूले जितेको ठाउँ नछोड्ने र दोस्रो भएको स्थान पनि आफैं लिने गरी तालमेलको खाका बन्यो भने त्यसले गठबन्धन दलमै समस्या आउन सक्छ,’ उनले भने, ‘गठबन्धन दलले समग्रतामा समीकरण गरेमा भने राम्रो नतिजा प्राप्त गर्न सक्छन् ।’

स्थानीय तहमा निर्वाचित १ हजार ५ सय ६ प्रमुख–उपप्रमुखको चुनावी नतिजा केलाउँदा पनि गठबन्धनको अवस्था मजबुत देखिन्छ । एमालेले ६ सय २५, कांग्रेसले ४ सय ८९, माओवादी केन्द्रले २ सय १७ र तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) ले ६६ प्रमुख–उपप्रमुख जितेका छन् । एमाले ४ सय ५५ स्थानमा दोस्रो र २ सय ४ स्थानमा तेस्रो स्थानमा छ भने कांग्रेस ६ सय ५७ स्थानमा दोस्रो र २ सय १८ स्थानमा तेस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्र २ सय १३ स्थानमा दोस्रो र ६ सय ७७ स्थानमा तेस्रो स्थानमा छ । विश्लेषक देवकोटा एमाले विजयी भएका स्थानहरूमा दोस्रो र तेस्रो स्थानमा रहेका राजनीतिक दलहरू मिल्ने हो भने अन्यथाबाहेक ४ सय २७ स्थानमा एमाले पराजित हुने सम्भावना औंल्याउँछन् । उनका अनुसार एमालेले जितेका ६ सय २५ प्रमुख–उपप्रमुखमध्ये ३ सय जनाको मतान्तर ६ सय वा त्यसभन्दा कम छ ।

चुनावी परिणाम सिधा हिसाब गरेजस्तो आउँछ भन्ने छैन । विशेषगरी कांग्रेसभित्र तालमेल र उम्मेदवार छनोटलाई लिएर असन्तुष्टि बढ्ने जोखिम छ । शेखर कोइराला समूह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अडानमा कायम छ । यसले निर्वाचनमा असन्तुष्टिको बीजारोपण गरेर चुनावी परिणाम प्रभावित हुन सक्छ । यद्यपि कांग्रेसले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरिसकेको छ । यसपटक कांग्रेसले आफूले जितेका स्थान र एमालेले जित्दा दोस्रो भएका स्थानमा प्रमुख–उपप्रमुखको दाबी गर्ने रणनीति बनाएको छ । माओवादी केन्द्र र एमालेबाट विभाजित एकीकृत समाजवादीका लागि यो हितकर देखिँदैन ।

‘सम्बन्धित स्थानीय तहमा दलको जनमत र त्यसले चुनावी परिणामलाई पार्ने प्रभावलाई ख्याल गरेर तालमेलमा भागबन्डा गर्नुपर्छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘ठूलो दलमात्र भनेर जाने हो भने त त्यसले राम्रो परिणाम दिन सक्दैन ।’ गत स्थानीय तह निर्वाचनका आधारमा कांग्रेस र माओवादी केन्द्रको अवस्था मापन गर्न सकिए पनि एकीकृत समाजवादीको शक्ति स्पष्ट छैन । दल विभाजन गर्दा सनाखत गरेका जनप्रतिनिधिको संख्या केलाउँदा तुलनात्मक रूपमा कर्णाली, वाग्मती, मधेस र सुदूरपश्चिम प्रदेशमा उक्त दलको अवस्था बलियो देखिन्छ । एकीकृत समाजवादीमा सनाखत गरेका स्थानीय तहका १ हजार ५ सय १ जनप्रतिनिधिमध्ये कर्णालीका ३ सय ३९, वाग्मतीका ३ सय २८, मधेसका ३ सय १४ र सुदूरपश्चिमका २ सय ३ जना छन् । प्रदेश १, गण्डकी र लुम्बिनीमा उक्त दलको अवस्था कमजोर छ ।

एमालेले लिने रणनीति पनि गठबन्धनको गतिमा बाधक हुन सक्छ । उसले सत्ता गठबन्धन दलबाहेकसँग चुनावी समीकरणको प्रयास गरिरहेको छ ।

Previous Post Next Post