पूर्वीय दर्शनको केन्द्रीय प्रस्थान : वेदान्त दर्शन

पूर्वीय दर्शनको केन्द्रीय प्रस्थान

भारत वर्षमा उत्पत्ति र विकास भएको दर्शनलाई पूर्वीय दर्शन भनिन्छ । पाकिस्तान, नेपाल, बंगलादेश र भारतलाई भारत वर्ष भनिन्छ । पूर्वीय दर्शन धेरैजसो हिन्दुधर्मबाट बढी प्रभावित भएकोले यसलाई हिन्दु दर्शन पनि भनिन्छ । हिन्दु दर्शन धार्मिक दर्शन हो । यो धार्मिक मात्र नभई वैज्ञानिक दर्शन पनि हो र यसलाई सनातन तथा आर्य दर्शन पनि भनिन्छ । यो संसारकै जेठो दर्शन पनि हो । प्राचीन ऋषिमुनिहरुको ज्ञान र तर्कबाट विकसित भएको यो दर्शन श्रुति (गुरूले भन्ने र शिष्यले सुन्ने प्रक्रिया) र स्मृतिबाट (घोकेर कण्ठस्थ पारेको कुरा पुनः सम्झने प्रक्रिया) विकास हुँदै आएको हो । पूर्वीय दर्शन श्रुतिबाट विकास हुँदै पछि गएर मात्र लिपिबद्ध भएको पाइन्छ । स्वर्णपत्र, ताम्रपत्र र शिलालेखमा लेखिँदै आएको प्रक्रिया कागजको आविष्कार भएपछि मात्र कागजमा लेखिएको पाइन्छ । प्रायः यो दर्शनसँग सम्बन्धित लेखन संस्कृत भाषामा उपलब्ध छ ।

वेदान्त भनेको के हो ?

पूर्वीय दर्शनको केन्द्रीय प्रस्थान नै वेदान्त हो । वेदको अन्तिम भाग वा वेदको निष्कर्ष वेदान्त हो । वेदको अन्तिम भाग उपनिषद् हो । उपनिषद् १०८ वटा छन् । यस्ता सबै उपनिषद्को मर्म समेटी एउटै बनाउने काम वादरायण व्यासले गरे । जुन ग्रन्थलाई ‘ब्रह्मसूत्र’ भनिन्छ । यही नै वेदान्त दर्शनको प्रमुख ग्रन्थ हो । पछि शंकराचार्यले वेदान्तको भाष्य तयार गरे । उपनिषद् नै पूर्वीय दर्शनको प्रमुख स्रोत हो । उपनिषद्को अर्को नाम नै वेदान्त हो । वास्तवमा उत्तर मीमांसाको प्रचलित नामलाई नै वेदान्त भन्ने गरिन्छ जसले ज्ञानलाई जोड दिन्छ ।

यसलाई वेदको सार वा वेदको अन्तिम भाग हो पनि भनिन्छ । शंकराचार्यका अनुसार वेदान्तको प्रमुख विषय ब्रह्मज्ञान (ईश्वरीय ज्ञान) हो । दर्शनहरुमा सर्वश्रेष्ठ दर्शन नै वेदान्त र अद्वैतवाद (शंकराचार्यको दर्शन) हो । यस दर्शनले ६ वटा प्रमाण (प्रत्यक्ष, अनुमान, उपमान, शब्द, अर्थापत्ति र अनुपलब्धि) मान्दछ भने ब्रह्म सत्य र जगत् मिथ्या छ, एक अद्वितीय ब्रह्म नै सत्य हो अरु सबै निरर्थक हो भन्ने मान्यता राख्दछ । ब्रह्म निर्गुण छ, अद्वैत छ, सद्रुप छ र जीव ब्रह्मको एकत्व ज्ञान नै मोक्ष हो भन्ने यस दर्शनको प्रमुख आशय हो । यस दर्शनलाई अघि बढाउन प्रमुख भूमिका खेल्ने शंकराचार्य, रामानुजाचार्य, मध्वाचार्य, निम्बार्काचार्य र बल्लभाचार्य हुन् । ब्रह्मज्ञानद्वारा मानिसले जन्म र मृत्युसम्बन्धी वास्तविक ज्ञान प्राप्त गर्छ र मोक्षमार्ग प्राप्त गर्दछ । ब्रह्मज्ञानलाई मोक्षज्ञान वा गुप्तज्ञान पनि भनिन्छ । वेदमा भएको ज्ञान नै स्वतः प्रमाण हुने भएकोले यसलाई स्वतः प्रामाण्यवाद पनि भनिन्छ ।

वेदान्त दर्शनमा के छ ?

वेदान्त दर्शनमा विद्या (शुद्ध स¤व प्रधान) र अविद्या (मलिन स¤व प्रधान) लाई प्रमुखरुपमा उठाइएको छ । विद्या मोक्षमार्ग हो भने अविद्या दुःखको कारण हो । मायाद्वारा उपहित चैतन्य नै ईश्वर हो र अविद्याद्वारा उपहित चैतन्य जीव हो । यस वेदान्त दर्शनले ईश्वरबाट आकाश र क्रमशः अन्य पञ्चमहाभूतको (आकाश, वायु, अग्नि, जल र पृथ्वी) उत्पत्ति भएको हो भन्ने मान्यता राख्दछ । यी सूक्ष्म पञ्चमहाभूतहरुबाट नै सूक्ष्म शरीरको उत्पत्ति हुन्छ भनेर संसारको सृष्टिको बारेमा यस दर्शनले व्याख्या गर्दछ ।

वेद के हो ?

यस दर्शनको आदिम ग्रन्थ नै वेद हो । वे भन्नाले लाभ र द भन्नाले धर्म अथवा धर्मलाभ भन्ने बुझिन्छ । त्यस्तै, वेद शब्द मूल शब्दको विद् धातुबाट आएको हो जसले ज्ञान, सत्ता, विवरणजस्ता अर्थ बुझाउँछ । वेद अपौरूषेय (कसैले सृजना गरेको होइन) र देव वाणी हो भन्ने कुरा मान्दै आइरहेको अवस्था छ । गुरूबाट सुनेर ग्रहण गरिने श्रुति शास्त्र वेद हो । श्रुति परम्परा निकै लामो समयदेखि चल्दै आएको हो । प्राचीन भारतमा वेदलाई नै प्रमाणिक ज्ञानको प्रमाणिक शास्त्र मानिएको थियो । सुरूमा वेद एउटा मात्र थियो जसलाई त्रयी भनिन्थ्यो (ऋक्, यजु र साम) र पछि अथर्ववेद थपियो र वेदलाई कुल ४ भागमा बाँडिएको हो । यो संसारको सबैभन्दा पुरानो र गौरवशाली ग्रन्थ हो । वेद गद्यात्मक, पद्यात्मक र गेय रहेकाले पनि त्रयी भन्ने गरिएको हो । श्रुति परम्पराबाट प्राप्त भएको र आजसम्म पनि लगभग यस्तै परम्परामा चल्दै आएकाले यसलाई श्रुति पनि भनिन्छ । सम्पूर्ण विषयवस्तुलाई क्रमबद्ध छन्दमा भनिएकाले छन्द शब्दले पनि वेद बोध्य छ । चारै वेद संहिता, ब्राह्मण, आरण्यक, उपनिषद्, श्रौतसूत्र, गृह्यसूत्र, धर्मसूत्र र शुल्वसूत्र गरी भिन्न भिन्न रुपमा उपलब्ध छन् ।

वेदको वर्गीकरण

वेद मुख्यतः चार प्रकारका छन् । सृष्टिको आदिमा वेद एउटै थियो । यसलाई कालान्तरमा महर्षि कृष्णद्वैपायनले चार भागमा विभक्त गरेको मान्यता स्मृति आदि ग्रन्थमा उल्लेख भएको पाइन्छ । चार वेदका शाखा थुप्रै रहेका छन् । ऋग्वेदका २१ शाखा, यजुर्वेदका १०१ शाखा, सामवेदका १००० शाखा र अथर्ववेदका ९ शाखा । यसरी जम्मा ४ वेदका ११३१ शाखा रहेको महाभाष्यकार पतञ्जलीले व्याकरण महाभाष्यमा प्रस्ट पारेका छन् । यी ४ प्रकारका वेदहरुमा फरक खालका निम्न विशेषताहरु पाइन्छन् ।

ऋग्वेद : यसमा देवताको स्तुति छ ।
यजुर्वेद : यसमा कर्मकाण्डसम्बन्धी कुराहरु छन् ।
सामवेद : यसमा वेद पाठ गर्ने विधि–विधानहरु उल्लेख छन् ।
अथर्ववेद : यसमा यज्ञ गर्ने विधि–विधानहरु समावेश छन् ।

वेदहरुले निर्दिष्ट गरेबमोजिम अथवा वैदिक परम्परामा आधारित ६ किसिमका हिन्दुधर्मको विकास भएको छ, जसलाई षट्दर्शन वा प्रणालीबद्ध दर्शन पनि भनिन्छ । यिनै षट्दर्शनको सार नै हिन्दु दर्शनको पनि सार हो । ६ वटा दर्शनमध्ये दुई/दुई वटाको जोडी केही समान खालका छन् । जस्तैः सांख्य–योग, वैशेषिक–न्याय र मीमांसा–वेदान्त । तीमध्ये सांख्य, वैशेषिक र मीमांसा ईश्वर नमान्ने खालका हुन् भने योग, न्याय र वेदान्तले ईश्वरलाई मान्दछन् । तीमध्ये पनि योगले जगतकर्ताको रुपमा ईश्वर होइन, न्यायले ईश्वर नै जगतकर्ता हो, वेदान्तले ईश्वर नै सर्वेसर्वा हो भन्दछन् । यी दर्शनमध्ये सबैभन्दा पुरानो दर्शन सांख्य हो, साधनाका दृष्टिले योग दर्शन सर्वोच्च छ, पद्धतिका दृष्टिले न्याय दर्शन उत्तम छ, त¤व चिन्तनका दृष्टिले वैशेषिक दर्शन बलियो छ र ज्ञानका दृष्टिले वेदान्त दर्शन निकै मह¤वपूर्ण छ । हिन्दु दर्शनले भौतिक संसार क्षणिक र नाशवान भएकोले ईश्वरीय अथवा आध्यात्मिक विचार अनुसरण गर्दै मानवीय सद्गुणहरुको उच्च विकास द्वारा जीवनलाई पूर्णता दिनुपर्दछ भन्ने निचोड निकालेको छ ।

वेदान्त दर्शनको विकास

रामानुजका (विशिष्टाद्वेत दर्शन/वैष्णव धर्मका अनुयायी) मतअनुसार आत्माको बन्धन कर्मको परिणाम हो । कर्मको कारण नै आत्माले शरीरलाई धारण गर्दछ । यो पूर्वजन्मको कर्मको फलस्वरुप आत्माले भौतिक शरीर प्राप्त गरेको हो । शरीर धारण गरेपछि आत्माको चैतन्य शरीर र इन्द्रियसित बाँधिन्छ । अणुरुप भएको कारण आत्माले शरीरको प्रत्येक भागलाई चैतन्ययुक्त गरिदिन्छ । जस्तैः एउटा सानो बत्तीले एउटा कोठा वा कक्ष पूर्णरुपमा उज्यालो हुन्छ । आत्माले चैतन्ययुक्त शरीरलाई आफ्नो यथार्थ रुप मान्न लाग्दछ, यो नै अविद्या हो । वास्तवमा उपनिषद्हरुमा पाइने यस्ता चिन्तनलाई समन्वय गरी वेदान्त दर्शनको विकास भएको हो ।

अन्य दर्शनमा जस्तै वेदान्त दर्शनमा पनि विभिन्न विद्वान्हरुले विभिन्न मत राख्दै विभिन्न सम्प्रदायहरु बनाएका छन् । तीमध्ये मुख्य सम्प्रदाय र विचारकहरु यी हुन् :

१. शंकराचार्य : अद्वेतवाद
२. रामानुज : विशिष्टाद्वेतवाद
३. भाष्कराचार्य : भेदा–भेदवाद
४. माध्वाचार्य : द्वेतवाद
५. निम्बाकाचार्य : द्वेता–द्वेत भाव
६. कण्ठाचार्य : शैबविशिष्टा द्वेतवाद
७. श्रीपति आचार्य : वीर–शैव–विशिष्टा द्वेतभाव
८. बल्लभाचार्य : शुद्धाद्वेत भाव
९. विज्ञान भिक्षु : अविभागाद्वेत भाव
१०. बलदेव स्वामी : अनित्य भेदाभेदवाद

वेदान्त अध्ययन गर्नुपूर्व चाहिने योग्यता

वेदान्त दर्शनले वेदान्त अध्ययन गर्नुअघि आफू वेदान्त दर्शनका लागि आधिकारिक अधिकारी बन्न आवश्यक हुन्छ भन्दछ । वेदान्त अध्ययन गर्न निम्न विषयमा पूर्ण हुनुपर्दछ, जसलाई चतुष्ट्य साधनाका मापदण्ड पनि भनिन्छ । ती मापदण्डहरु यसप्रकार छन् :

१. नित्यानित्य वस्तुको विवेक : नित्य र अनित्य वस्तुको भिन्नता (कुन खाना खानु ठीक र कुन खाना खान नहुने भन्ने भेद) छुट्याउन सक्ने योग्यता भएको ।

२. इहामुत्रार्थ भोग विराग : लौकिक र परलौकिक सबै प्रकारका भोग तथा आकांक्षाहरुको इच्छालाई परित्याग गर्न सक्नु ।

३. शमदमादि साधनसम्पद् : शम, दम, श्रद्धा, साधन, उपरति र तितक्षा गरी ६ साधनद्वारा सम्पन्न हुनुपर्छ ।

४. मुमुक्षत्वम् : साधकलाई आफ्नो मनमा मोक्षप्राप्तिको निम्ति दृढ इच्छा र संकल्प उत्पन्न हुुनुपर्छ ।

यी उल्लेखित मापदण्ड पूरा गरेको व्यक्ति मात्र वेदान्त दर्शनका लागि योग्य हुन्छ भनिन्छ, जुन वेदान्त दर्शन अध्ययनका लागि पूर्वपरीक्षा हुन् ।

वेदान्त दर्शनको मुख्य कुरा

वेदान्त दर्शनका अनुसार ज्ञानलाई २ भागमा बाँड्न सकिन्छ । ती हुन्— आत्मज्ञान र बुद्धिज्ञान । आत्मज्ञानलाई परविद्या र बुद्धिज्ञानलाई अपरविद्या भनिएको छ । ब्रह्म (परमत¤व) नै वास्तविक सत्य हो र यो अनन्त छ भन्नु नै वेदान्त दर्शनको मूल सिद्धान्त हो । साथै, वेदान्तले पञ्चकोशको पनि चर्चा गरेको छ । ती ५ कोशहरुलाई वेदान्तमा यसप्रकार वर्गीकरण गरिएको छ :

१. अन्नमय कोश/अन्न : यस्तो कोश ५ त¤वबाट (पृथ्वी, जल, तेज, वायु र आकाश) बनेको हुन्छ । यसबाट स्थूल शरीर बनेको छ जुन एकदिन अवश्य नास हुन्छ वा नष्ट हुने कोश नै अन्नमय कोश हो ।

२. प्राणमय कोश÷प्राण : यस्तो कोश ५ कर्मेन्द्रिय र ५ प्राणबाट (अपान, प्राण, ज्ञान, समान, उदान र उपप्राण नाग, कूर्म, त्रिकल, देवदत्त, धनञ्जय) बनेको हुन्छ । यसबाट सूक्ष्म शरीर बनेको हुन्छ जुन पनि कुनै दिन नास हुन सक्छ ।

३. मनोमय कोश/दिमाग : यो ५ ज्ञानेन्द्रिय र मनबाट बनेको हुन्छ ।

४. विज्ञानमय कोश/बुद्धिमय : यो ५ ज्ञानेन्द्रिय र बुद्धिबाट बनेको हुन्छ ।

५. आनन्दमय कोश/आत्मा वा लक्ष्य : यो ५ वटा त¤वबाट बनेको अज्ञानमय कोश हो । यो कारण शरीर हो ।

ब्रह्म के हो ?

वेदान्त दर्शनको परम सत्य नै ब्रह्म हो । ब्रह्म २ किसिमका छन् । क) सगुण ब्रह्म र ख) निर्गुण ब्रह्म

क) सगुण ब्रह्म : स¤व, रज र तम तिनै गुण हुने ब्रह्म सगुण ब्रह्म हो । यो पनि दुई किसिमको छ :

— सगुण साकार ब्रह्म : कृष्ण, राम, शिव, विष्णु, देवी आदि देवताहरु यस वर्गमा पर्छन् । यिनले धर्तीमा केही बनाएका हैनन् वा सृष्टि गरेका होइनन् । यिनीहरुको मूर्ति पूजा गरिन्छ ।

— सगुण निराकार ब्रह्म : यो कुनै स्वरुप नभएको ईश्वर हो, जसले अनुभूति र चेतना दिन्छ । जब ब्रह्ममा माया जोडिन्छ त्यो ईश्वर हो । यस्तो निराकार ईश्वर सृष्टिकर्ता हो भने ब्रह्मा निर्माणकर्ता हुन् । यिनीहरुको मूर्ति हुँदैन तर श्रीयन्त्र, शालिग्राम, शिवलिंगका रुपमा पूजा गरिन्छ ।

ख) निर्गुण ब्रह्म : स¤व, रज, तम तिनै गुण नहुने ब्रह्म निर्गुण ब्रह्म हो । जुन शुद्ध हुन्छ, यो अलौकिक त¤व हो, यो निर्गुण र निराकार हुन्छ ।

निष्कर्ष

अन्तमा, हिन्दु दर्शनअन्तर्गतको सबैभन्दा परिष्कृत र पूर्ण आध्यात्मिक दर्शन नै वेदान्त दर्शन हो र यो ज्ञानले भरिपूर्ण भएको दर्शन हो । वेदलाई श्रुति परम्परादेखि नै मान्दै हालसम्मको अवस्थासम्म आइपुग्दा वेद नै सबै धर्म र धार्मिक ग्रन्थको रुपमा पुरानो ग्रन्थ हो र यसमा भनिएका कुराहरु बुझ्न सके मानिसले आफूलाई चिन्न सक्ने हुन्छ भन्ने आशय वेदान्त दर्शनले व्यक्त गर्दछ । अस्तु ।

Post a Comment

Previous Post Next Post