Advertisment

सूर्यवंशी चलचित्रको ‘बक्स अफिस’मा कब्जा

सूर्यवंशी

यो घृणास्पद कथनी अहिले भारतको ‘बक्स अफिस’मा कब्जा जमाइरहेको ‘सूर्यवंशी’ चलचित्रको कथानक संक्षेप हो । चलचित्रले ‘लव जिहाद’को घातक षड्यन्त्रको सिद्धान्तलाई उचाल्ने काम गरेको छ । ‘लव जिहाद’मा मुसलमान पुरुषलाई हिन्दू महिलालाई सम्मोहनमा पारेर वा अपहरण गरेर मुसलमान बनाउने व्यक्तिका रूपमा चित्रित गरिन्छ । तर, ‘लव जिहाद’बाहेकका अन्य इस्लामद्वेषी दृश्यहरूलाई यस चलचित्रको मुख्य आकर्षण बनाइएको छ । यो चलचित्रको मुख्य नायकको भूमिकामा भारतका चर्चित अभिनेता अक्षय कुमारले अभिनय गरेका छन् । स्मरण रहोस्, अक्षय कुमार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अनन्य प्रशंसक एवं उग्रराष्ट्रवादी छवि भएका अभिनेता हुन् ।  ‘सूर्यवंशी’ लकडाउनपछिको सबैभन्दा सफल चलचित्र हो । यो चलचित्रको सफलताले भारतका करिब २० करोड मुसलमानले दैनन्दिन भोगिरहेको घृणा एवं भेदभावको माहोललाई मलजल गरेको छ ।  

एक युवा मुसलमान पुरुष जिहादका नाममा आफ्नी श्रीमतीको हत्याको साक्षी बन्छन् । कार मेकानिकका रूपमा काम गरिरहेका यी पुरुष आफ्नो पहिचान हिन्दू बनाएर दैनिकी बिताइरहेका हुन्छन् । ती मेकानिककी श्रीमती आफ्ना श्रीमान् आतंककारी हमलाको षड्यन्त्रको हिस्सा भएको थाहा पाउँछिन् । षड्यन्त्रबारे थाहा पाएपछि जब श्रीमतीले प्रतिरोध गर्ने कोसिस गर्छिन् तब ती युवकलाई हमलामा सामेल गराउन आएका आतंककारी संगठनका नाइकेले श्रीमतीको नृशंस ढंगले हत्या गरिदिन्छ । हत्यालगत्तै ती युवा र अन्य नमाज पढिरहेका पुरुषहरू युद्धस्तरमा आतंककारी हमलाको तयारी गर्छन् ।

चलचित्रका हरेक तेस्रो फ्रेममा रगत उमाल्ने इस्लामद्वेषी दृश्य देखाइएका छन् । जहाँ माथिल्लो जातिको हिन्दूको चरित्र निभाइरहेका अक्षय देशप्रेमको पाठ पढाइरहेका छन् भने मुसलमान खलनायकले घृणाको जवाफ फर्काइरहेको छ । चलचित्रका नायक लामो दाडी भएका र ‘स्कल क्याप’ (इस्लाम धर्मावलम्बी पुरुषले पहिरने जालीदार टोपी, तकियाह) पहिरेका पुरुषप्रति सख्त छन् । चलचित्रका नायक जतिपटक भारतीय मुसलमानलाई देशप्रेमको पाठ पढाउँछन् त्यतिपटक दर्शकदीर्घाबाट ताली र सिठीको फोहोरा छुट्छन् । यस चलचित्रले मोदी सरकारको दक्षिणपन्थी हिन्दू राष्ट्रवादी एजेन्डालाई लुकाउने प्रयत्न गर्दैन । चलचित्रले भारतीय राज्य कास्मिरलाई दिइएको विशेष हैसियतलाई लत्याउने कानुनलाई जायज ठह¥याउँछ । स्मरण रहोस्, कास्मिरमा अहिले हजारौँ युवा हिरासतमा छन् र सन् २०१९ देखि इन्टरनेट सेवाबाट वञ्चित छन् । सरकारले दाबी गरेझैँ चलचित्रले पनि भारतीय संविधानको धारा ३७० खारेजीपछि कास्मिर उपत्यकाबाट आतंकवाद नामेट भएको दाबी गर्छ ।  

यदि चलचित्रकर्मीले कास्मिरबारे थोरै भए पनि समाचार पढेका भए उनीहरूले यथार्थ देखाउँथे होलान् । जब सिनेमाको उद्देश्य नै प्रोपोगान्डा फैलाउनुरहेको छ भने यथार्थ किन देखाइयोस् ? आखिर समाचारको सट्टा प्रोपोगान्डा नै बिक्री हुने गरेको छ । अक्टोबरमा भारतको उत्तर–पूर्वी राज्य त्रिपुरामा मुसलमानविरुद्ध भएको हिंसाविरुद्ध आवाज मुखर गर्ने पत्रकार, अभियन्ता एवं अधिवक्तासहितका एक सय दुई ट्विटर एकाउन्टविरुद्ध हालै प्रहरीले मुद्दा दायर गरेको छ । त्रिपुरामा हिन्दू राष्ट्रवादीहरूले मस्जिद र मुसलमानका घरमा हमला बोलेका थिए, तर यी हमलाविरुद्ध आवाज मुखर गर्नेहरूविरुद्ध प्रहरी देशद्रोहको आरोपमा पक्राउ गर्न उद्यत छ ।  हप्तौँदेखि नयाँदिल्लीमा हिन्दू राष्ट्रवादीहरूले मुसलमानहरूको शुक्रबारको प्रार्थनामा अवरोध पुर्‍याउँदै आएका थिए । अन्ततः मुसलमानलाई यही गोवर्धन पूजाका दिन भाजपाका एक नेताको उपस्थितिमा पूजाबाट वञ्चित गराइयो ।   

यी सन्दर्भमा ‘सूर्यवंशी’जस्ता चलचित्र केवल मनोरञ्जन मात्रै होइन, चलचित्रभरि मुसलमानले गरेका हिंसाका घटना देखाइन्छ, तर हिन्दू अतिवादीले गरेको हिंसालाई भने नियतवश देखाइँदैन । नायक अक्षय कुमार सन् १९९३ को मुम्बई विष्फोटको जिकिर गर्छन्, तर यो हमला हुनुअगाडिको सन् १९९२ को मुसलमान नरसंहारलाई लुकाउँछन् । उनी सहजै सन् २००२ को गुजरात दंगा, सन् २००६ मा मुसलमानलक्षित मालेगाव हमला र मालेगावमै सन् २००८ मा अवकाशप्राप्त भारतीय सेना संलग्न रहेको विष्फोटनलाई बेवास्ता गर्छन् ।      विदेशी पैसा लिएर आतंक फैलाएको आरोपमा भारतका कैयौँ मदरसा र मुसलमानहरूको धार्मिक संगठनलाई मोदी सरकारले सिकार गरिरहेको छ ।

चलचित्रमा मुसलमान विद्वान् र संगठन सञ्चालक पात्रलाई पाकिस्तानबाट लगानी भइरहेको आतंकवादी गिरोहको ‘मास्टरमाइन्ड’का रूपमा प्रस्तुत गरिएको छ । वास्तवमा चलचित्रकर्मीहरूले कमसेकम पटकथाको श्रेय मोदी र उनका साझेदारलाई दिनुपथ्र्यो । विडम्बना, चलचित्रका निर्माता करण जोहर हुन् । उनी एक सम्मानित निर्देशक हुन् । जोहरले ११ सेप्टेम्बर २००१ पछि मुसलमानहरूको दानवीकरणलाई सम्बोधन गर्ने हेतुले ‘माई नेम इज खान’को निर्माण गरेका थिए । तर, यो चलचित्र मोदी सत्तामा उक्लिनुअगाडि आएको थियो । जोहरको हालको नयाँ विचारधारालाई सरकारले निकै सराहना गरेको छ, अर्थात् जोहरले प्रधानमन्त्री र उनका शक्तिशाली गृहमन्त्री अमित शाहको उपस्थितिमा राज्यकै प्रतिष्ठितमध्येको एक सम्मान पाएका छन् । 

सूर्यवंशी चलचित्रको ‘बक्स अफिस’मा कब्जा

‘सूर्यवंशी’ भयंकर खतरनाक छ । यो चलचित्र हेरेपछि नाजी जर्मनीमा हिटलरले कसरी सिनेमालाई आफ्नो बफादार सेनाका रूपमा एवं यहुदीविरुद्ध प्रोपोगान्डा फैलाउने अस्त्रका रूपमा प्रयोग गरेका थिए सम्झन बाध्य बनाउँछ । परिस्थिति राम्रो हुन्थ्यो भने भारतीय चलचित्र उद्योग, कलाकार, निर्देशक एवं निर्माताले यो आपराधिक एवं नांगोे इस्लामद्वेषको निन्दा गरिसक्थे । यदि बलिउड आफ्नो आक्रामक राष्ट्रवाद र घृणालाई प्रोत्साहन गर्ने गरी चलचित्र उत्पादन गरिरहन्छ भने, बलिउड रक्तरञ्जित हत्यारा बन्नेछ । र यो छवि कुनै ‘बक्स अफिस’ रेकर्डले मेटाउन सक्नेछैन ।


Subscribe Our Newsletter

avatar
"सकारात्मक संचार र परिवर्तन को संवाहक"

सम्बन्धित थप


Article Top Ads

Parallax Ads

Article Center Ads

Article Bottom Ads