दशैँमा माछा मासुसँगै हरियो सागपात पनि खाऔँ

दशैँमा माछा मासुसँगै हरियो सागपात पनि खाऔँ

काठमाण्डाै, 

चाडपर्वमा खानपानमा सन्तुलन नमिल्दा दीर्घ रोगको जोखिम हुने डाक्टरले बताएका छन् । चाडपर्वमा चिल्लो, पिरो हालिएका परिकार र मासु धेरै खाने गरिन्छ । यसले स्वास्थ्यमा जटिल समस्या समेत आउन सक्ने डाक्टरको भनाइ छ ।

दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै डाक्टर तथा पोषणविद्ले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् । चाडपर्वका नाममा धेरै माछामासु, मसलेदार परिकार तथा जाँडरक्सी खाने गर्दा मुटु रोगको समस्या बढ्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले बताउनुभयो ।

दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुने उहाँले बताउनुभयो । अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलेस्टेरोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्ने गरेको उहाँले बताउनुभयो । पोषणविद् कल्पना तिवारीका अनुसार चाडपर्वमा माछामासु मात्रै धेरै खाने होइन ।

माछामासुसँगै अन्न, गेडागुडी, सागपात र फलफूल मिलाएर खानु पर्छ । कोभिड भइसकेकाहरुले त अझ खानपानमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । चिल्लो पिरो र एकै पटक धेरै खानेकुरा खानु भन्दा नुन पिरो कम हालेर पटक पटक थोरै माछा मासुको झोल खाए छिट्टै तङ्ग्रिन सकिने तिवारीले बताउनुभयो ।

अर्का पोषणविद् डाक्टर अरुणा उप्रेतीले खानपानमा ध्यान नदिँदा स्वस्थ व्यक्ति पनि रोगी बन्न सक्ने भएकाले सन्तुलित र स्वस्थ खानपानमा ध्यान दिन सुझाव दिनु भएको छ । यस्तै, दिनहुँ शारीरिक व्यायाम गर्न र प्रशस्त पानी पिउन पनि उहाँको सुझाव छ । 


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url