10 Sept 2021

राष्ट्रिय एकता कायम गरी MCC पास गर्ने पक्षमा छौँ– प्रचण्ड


काठमाडौं ।
नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालसँग भेटवार्ता गरेकी छन्। शुक्रबार बिहान ८ बजेतरि सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो। भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी रहेको जनाइएको छ। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।
बिहीबार बिहान नेपाल आइपुगेकी सुमारले बिहीबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालसँग समेत भेटवार्ता गरेकी थिइन्। भेटका अवसरमा प्रचण्डले एमसीसीको बारेमा थप बहस आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ। यो राष्ट्रिय बहसको विषय बनिसकेको भन्दै अध्यक्ष प्रचण्डले यसमा सबै दलबीच सहमति हुनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ। सो अवसरमा उपाध्यक्ष सुमारले आफू कसैलाई दवाव दिन वा लबिङमा आएको नआएको बताउँदै एमसीसीको विषयमा अन्तर्क्रिरया गर्न मात्र आएको जानकारी दिएको भेटलाई उद्धृत गर्दै अध्यक्ष प्रचण्डको सचिवालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस