सजिलै मोटोपन र तौल घटाउने तरिका

सजिलै मोटोपन र तौल घटाउने तरिका

मोटोपन बढेको बढ्यै छ। चिकित्सकहरु भन्छन्, ‘मोटोपनले अनेक रोग पैदा गर्छ।’ मोटोपन कसरी घटाउने त ? यसका लागि कोही जिम धाइरहेका छन्, कोही दौडिरहेका छन्, कोही खानेकुरामा कटौती गरिरहेका छन्। व्यायामले त शरीरको समूचित विकासमा सहयोग गर्छ। शरीरलाई लचिलो, फुर्तिलो र स्वस्थ राख्छ। तर, खानेकुरा कटौतीले ? नियमित खानेकुराको मात्रा अचानक घटाउँदा शरीरमा पोषक तत्व पर्याप्त नहुन सक्छ। किनभने हाम्रो शरीरलाई आवश्यक पोषक तत्व धेरैजसो खानेकुराबाट नै प्राप्त हुन्छ। जब मोटोपन घटाउने चक्करमा खानेकुरा खान छाड्छौं, पोषक तत्वको अभाव हुन थाल्छ । तर, अहिले मोटोपन नियन्त्रण गर्न धेरैले छाक छाड्ने गरेका छन्। खानपानमा कटौती गरेपछि तौल नियन्त्रण हुन्छ भन्ने बुझाई समाजमा व्याप्त छ।

जबकि मोटोपन नियन्त्रण गर्नका लागि खानेकुरा नै छाड्ने होइन, बरु खानेकुराको छनौटमा ध्यान दिन जरुरी हुन्छ। भनिन्छ, भरपेट खाएर खाएर पनि शरीरको तौल सन्तुलित राख्न सकिन्छ। यसमा एउटा सर्त छ। त्यस्तै खानेकुरा खानुपर्छ, जो शरीरले माग्छ। मन र मुखले मागेको कुरा खान थाल्ने हो भने शरीरले धान्न सक्दैन। मनले माग्दैमा जतिपनि खानेकुरा, जे पनि खानेकुरा खाने होइन। खानेकुरा खाइरहँदा सोचौं कि, यो मेरो शरीरका लागि हो। खानेकुरा शरीरको लागि हो भने भरपेट खाएर पनि फरक पर्नेवाला छैन। खानेकुरा स्वस्थ्यकर, पोषिलो हुनुपर्छ। सागपात, गेडागुडी, झोल आदिको सन्तुलन हुनुपर्छ। हाम्रो थालीमा सलादको मात्रा बढाउनुपर्छ। मौसम अनुसार काक्रा, मुला, गाँजर, चुकन्दर, बन्दा आदिको सलाद बनाउनुपर्छ। त्यसो त उसिनेको आलु, अण्डा आदिको पनि सलाद बनाएर खान सकिन्छ। खानेकुरा तारेको, भुटेको भन्दा उसिनेको, बफ्याएको सर्वोत्तम हो। यस्ता खानेकुरा जति खाएपनि मोटोपन बढ्ने भय हुँदैन।

हरेक विहान नास्तामा सलाद खानुपर्छ। भरपेट सलाद खाएपछि भोक महसुष हुँदैन । भोक महसुष नभएपछि बजारका खानेकुरा, प्याकेटबन्द खानेकुरा आदिको तलतल लाग्दैन। गाउँघरतिर गाई–बस्तुले सलाद खान्छ, शहरमा हामी जंकफूडले पेट भर्छौं। गाउँमा कांक्रा, फर्सी, इस्कुस, सागपात गाईलाई दिइन्छ। यता शहरियाहरु वेलामौकामा प्लेटभरी सलाद सजाएर खान्छन्। मुड चल्दा मात्र खाएर हुँदैन। नियमित रुपमा खानुपर्छ। खानेकुरा सेवन गर्दा पोषक तत्वमा ध्यान दिन जरुरी छ। कुन खानेकुराबाट के पोषक तत्व मिल्छ भन्ने कुरा थाहा भयो भने त्यही अनुसारको खानेकुरा मिलाउन सकिन्छ। यसरी शरीरलाई आवश्यक पोषक तत्व मिलाएर खाना खाएमा शरीरमा अतिरिक्त बोसो जम्दैन। बोसो नजमेपछि मोटोपन बढ्ने कुरै हुँदैन।

ठोस खानेकुरा जति खाइन्छ त्यो भन्दा बढी पेय पदार्थ पिउनुपर्छ। जुस, सर्वत, दही, मोही, लस्सी, पानी पिउने गरौं । बजारमा पाइने तयारी जुस भन्दा ताजा जुस उपयुक्त हुन्छ। घरमै कागती पानी मिसाएर सर्वत पिउन सकिन्छ। खानेकुरालाई बिस्तारै चपाएर, हतार नगरी, आनन्दसाथ खानुपर्छ। लामो समय खाली पेट बस्ने र एकसाथ धेरै खानेकुरा खानु हुन्न। थोरै थोरै तर धेरै पटक खानु राम्रो हो। यदि खानेकुराको सन्तुलन र शैली मिलाउने हो भने भरपेट खाएर पनि शरीरको तौल सन्तुलित राख्न सकिन्छ।

मोटोपन किन बढ्छ ? यो प्रश्न भन्दा पनि अर्को प्रश्नले हामीलाई बढी सताइरहेको छ। मोटोपन कसरी घटाउने? जबकी अघिल्लो प्रश्नमै त्यसको समाधान छ। अर्थात मोटोपन बढ्ने कारणहरु खोतलेर त्यसको सही व्यवस्थापन गर्नु नै मोटोपनबाट छुटकारा पाउने सरल उपाय हो। मोटोपन किन बढ्छ त? जवाफ हामीसँग नै छ। अनुचित खानपान, बढि आराम, मासिक धर्मको अनियमितता, थाइराइड, हार्मोनल असन्तुलन आदि कारणले मानिसको वजन बढ्छ।

मोटोपन आफैमा रोग हो त ?

मोटोपन आफैमा रोग होइन। तर, यसले रोगलाई जन्म दिन्छ। रोग भन्दा पनि हामी ज्यानलाई फिटनेस राख्न मोटोपन कसरी घटाउने भनेर घोत्लिरहेका हुन्छौ। मोटोपन भएपछि शरीर भद्दा हुन्छ। न लुगाफाटो लगाएको सुहाउँछ, न हेर्दा छरितो नै देखिन्छ। अर्कोतिर हिँडडुल गर्न सहज हुँदैन । शरीर मोटो भएपछि फुर्ति घट्छ।

मोटोपनले पैदा गर्ने रोग

मोटोपन घटाउनु वा मोटो हुँदै नहुनु वा मोटोपन व्यवस्थापन गर्नु भनेको शरीरलाई स्लिम बनाउनु मात्र होइन। संभावित रोगको जोखिमबाट बच्नु पनि हो। मोटोपनले उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर लगायत मुटु सम्बन्धी रोग जन्माउँछ। यसले स्वासप्रश्वासमा असर गर्छ। भनिन्छ, बाँझोपन पनि ल्याउँछ।

दक्षिण एशियाको तथ्यांक

मोटोपन वर्तमान समयको ठूलो चुनौती हो। अहिलेको जीवनशैलीले मोटोपनलाई बढाव दिइरहेको छ। नेपाली समाजका लागि मोटोपन टाउको दुखाईको विषय हो। तर, नेपाली परिवेशमा मात्र होइन, विश्वकै लागि यो टाउको दुखाईको विषय हो। ग्लोबल न्युटि्रसनले भर्खरै सार्वजनिक गरेको रिपोर्टले भन्छ, अघिल्लो बर्ष दक्षिण एसियामा मात्र करिब २४ प्रतिशत महिलामा मोटोपनको समस्या देखिएको छ। नेपालमा २२ प्रतिशत महिलालाई मोटोपनले गाँजेको छ। विश्व स्वास्थ्य संगठन भन्छ, ‘विश्वमा करिब एक अर्ब ९ करोड मानिस मोटोपनको शिकार भएका छन्। यसमा बालबालिकाको संख्या पनि उत्तिकै छ। अब के गरौं ?

मोटोपन किन हुन्छ भन्ने समस्याको निराकरण खोज्ने हो भने यसबाट छुटकारा पाइन्छ। मोटोपन मुलत हाम्रो खराब जीवनशैलीको कारण हुन्छ। एकातिर निस्त्रिmय दिनचर्या, अर्कोतिर अस्वस्थ्यकर खानपान। फास्टफुड, चिल्लोचाप्लो, मसलेदार खानेकुराको सेवन अत्याधिक बढेको छ। त्यसअनुरुप शारीरिक सक्रियता घट्दै गएको छ।

हामी काम पनि बसीबसी गर्छौ। खेल्नका लागि पनि मैदान होइन, मोवाइल वा भिडियो गेम रोज्छौ। यता भोज, पार्टी, फेमेली गेटटुगेदर, चाडपर्व आदिको नाममा खाने संस्कृति बढ्दो छ। यहि कारण हामी मोटो हुँदैछौ। भनौ, हामीलाई मोटोपनले गाँज्दैछ। चिकित्सकहरुले भन्दै आएका छन्, खानका लागि बाँच्ने प्रवृत्ति नै यसको मूल कारण हो। बाँच्नका लागि खाने होइन, खानका लागि बाँच्ने। बद्लिदो जीवनशैली, अस्वस्थ्यकर खानपान लगायतका कारण नेपाल लगायतको दक्षिण एसियाली मुलुकका महिलाहरुमा मोटोपनाको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्।

मोटोपनबाट छुटकारा पाउन मूलत आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ। निस्त्रिmय बस्ने वा शारीरिक गतिविधि नगरी बस्ने प्रवृत्ति त्याग्नुपर्छ। शरीर चलायमान हुनुपर्छ। त्यही अनुरुप स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ। त्यससँगै व्यायामलाई जीवनकै अभिन्न पाटोको रुपमा लिनुपर्छ। यहाँ सामान्य टिप्स दिइएको छ।

  1. चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा त्यागौं 

  2. सकेसम्म उसिनेको खानेकुरा सेवन गरौं 

  3. रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड खाने नगरौं 

  4. एकै पटक धेरै खाने, खाना खाइसकेर सुत्ने जस्ता बानी त्यागौं 

  5. थोरै थोरै तर धेरै पटक खानेकुरा सेवन गरौं 

  6. खानेकुरामा सलादको मात्रा बढी हुनुपर्छ 

ताजा फलफूल सेवन गरौं। फलफूल, सलादको सेवनले मोटोपन नियन्त्रणमा प्रभावकारी काम गर्छ। बढिभन्दा बढि पैदल हिँड्न प्रयास गरौं । मोटोपना घटाउन कसरतको ठूलो भूमिका हुन्छ। नियमित कसरतले शरीरलाई चुस्त र स्लिम राख्छ। नास्ताले हाम्रो दिनभरीको पोषणसम्वन्धि आवश्यकतालाई पूरा गर्छ। त्यसैले नास्तालाई बढिभन्दा बढि पौष्टिक बनाएर खाने गरौं। ओखर बेस्सरी खानुपर्छ। यसले ओमेगा ३ फ्याटी एसिडको राम्रो मात्रा प्राप्त हून्छ, स्मरणशक्ति तेज रहन्छ र जवान राख्छ। 

स्लीम राख्न दहीले पनि निकै मद्दत गर्छ। दहीमा प्रोबायोटिक्स हुन्छ, जुन राम्रो ब्याक्टेरिया हो। यसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ। दैनिक एक कचौरा दही सेवन गर्नुभयो भने शरीरमा उर्जा पनि प्राप्त हुन्छ। आइरनबाट भरपुर चिजहरु जस्तै स्याउ र मूला खाँदा शरीरमा ताकत प्राप्त हुन्छ। साथै केही समय घाममा बसेर बदाम खाएमा स्फूर्तिको महसुस गर्नेछन्।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url