बालबालिकामा हुने तनावहरु यसरी गरौँ समाधान
‘तनाव’ शब्द सुन्दा जति छोटो महसुस हुन्छ, समयमै रोकथाम नगरे यसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने गर्छ। यस्तो समस्याको शिकार दूधे बालकदेखि यौवनावस्थामा पाइला टेक्दै गरेका लक्काजवान समेत हुने गर्छन्। यिनीहरूलाई तनावमुक्त राख्न सके यिनीहरूमा सकारात्मक सोचको विकास गर्न सकिन्छ। साथै यिनीहरूको शारीरिक तथा मानसिक विकास पनि राम्रोसँग हुन्छ। त्यसैले, बालबालिकाहरूलाई यस उमेरमा सकेसम्म तनाव रहित जिउन प्रेरित गर्नु पर्छ।
किन हुन्छ बालबालिकाहरूमा तनाव ?
बालबालिकाहरूमा तनावको कैयौं कारण हुनसक्छ। तनाव कुनै पनि उमेरमा हुनसक्छ। एकदेखि १५ वर्षका बालबालिकामा हुने तनावका कारण पनि अलग अलग हुने गर्छ। १-२ वर्षको उमेर, यो उमेर न त बालबालिकाहरूको तनाव लिने उमेर हो, न त उनीहरूले यस उमेरमा तनाव के हो भन्ने कुरा नै थाहा पाउँछन्। त्यसैले यस उमेरमा बालबालिकाहरूमा हुने तनावको कारण आमाप्रतिको उनीहरूको लगाव हुनसक्छ। आमाले कुनै शिशुलाई काखमा लिएमा आमाको माया बाँडिने डरले बालबालिका रुन थाल्छन् जुन एक प्रकारको तनाव नै हो। आमाहरूले गाली गरेको बालबालिकालाई मन नपर्न सक्छ। आमाले गरेको गालीकै कारण कैयौपटक बालबालिकाहरू यति धेरै तनावग्रस्त हुन्छन् कि उनीहरूले दूध नै खान छोडदिन्छन् र उनीहरूको सुताइ समेत कम हुने गर्छ।
३-६ वर्ष, तीन वर्षको बालबालिकाहरू कुरा बुझ्ने उमेरका हुन्छन्। यही उमेरमा बालबालिकाहरू स्कुल जान सिक्छन्। त्यसैले, यो उमेरमा उनीहरूमा हुने तनावको एउटा कारण स्कुल हुनसक्छ। नेपालमा तीन वर्षको उमेर देखि नै बालबालिकाहरूलाई स्कुल पठाउन सुरु गरिन्छ। बालबालिका जब नर्सरीमा जान्छन्, त्यतिबेला उनीहरू आमासित छुट्टएिर बस्ने गर्छन् र, बालबालिकाहरूलाई आमासित छुट्टनिुजस्तो ठूलो पीडा अरू केही हुँदैन। जसका कराण उनीहरू तनावग्रस्त हुने गर्छन्। विना कुनै चिनजान दिनभर स्कुलमा बस्नु बालबालिकाको लागि कुनै लडाइँभन्दा कम हुँदैन। यस उमेरका बालबालिका स्कुल, पढाइ र शिक्षक/शिक्षिका अनुसार आफूलाई ढाल्नमा आफूलाई यति धेरै अभ्यस्त गराउँछन् कि उनीहरू यसकै कारण तनावमा रहने गर्छन्।
७ -११ वर्ष, यो उमेरमा तनावको सबैभन्दा ठूलो कारण पढाइ हुने गर्छ। -बालबालिकाको टाउकोमा स्कुलको व्यागदेखि राम्रो नतिजा ल्याउनेसम्मको बोझ हुने गर्छ । यस्तो अवस्थामा बालबालिका कसरी तनावबाट अछुतो रहन सक्छन्? -यस उमेरमा आमाबाबुको इच्छा पूरा गर्न गर्न स्कुलमा नम्बर धेरै ल्याउन बालबालिकाले आवश्यकता भन्दा बढी मेहेनत गर्न थाल्छन्।
१२-१५ वर्ष, यो सबैभन्दा बढी संवेदनशील उमेर हो। यस उमेरमा बालबालिकाहरूले आफूलाई निकै ठूलो महसुस गर्छन्। यस उमेरमा बालबालिकाहरूलाई कुनै रोकटोक मन पर्दैन। यस उमेरमा बालबालिकाहरूको शरीरमा विभिन्न किसिमका परिवर्तन देखा पर्छन्। जस्तैः केटीहरूमा महिनावारी सुरु हुने, पुरुषहरूको स्वर धोत्रे हुने इत्यादि। यी परिवर्तनसित तालमेल मिलाएर हिड्नु पनि उनीहरूका लागि कम चुनौतीपूर्ण तथा तनावपूर्ण छैन। त्यसबाहेक पनि अन्य धेरै कारण छ, जसका कारण बालबालिकाहरूमा तनाव उत्पन्न हुने गर्छ ।
आमाबाबुको पारपाचुके
आमाबाबुका साथमा हरेक बालबाबलिकाले आफूलाई सुरक्षित महसुस गर्छन् तर त्यही आमाबाबुको पारपाचुके भएमा बालबालिकाहरू समेत तनावको शिकार हुने गर्छन् । आमाबाबुको पारपाचुके भएमा बालबालिकाहरूले आमा वा बाबुमध्ये एकलाई छनोट गर्नुपर्छ । कुनै पनि एकजनाको कमी बालबालिकाहरूको तनावको कारक बन्नसक्छ ।
मृत्यु
घरमा कसैको मृत्यु भएमा त्यसले बालबालिकाको मस्तिष्कमा गहिरो असर पर्छ । घर परिवारमा वा आमाबाबुमध्ये कसैको मृत्यु भएमा बालबालिकाले आफूलाई एक्लो महसुस गर्न थाल्छन् । जुन उनीहरूको तनावको कारक बन्न सक्छ ।
ग्याजेट्सको प्रयोग
आजकल धेरै बालबालिकाहरूमा मोबाइल, कम्प्यूटर लगायतको लत बसिसकेको छ । उनीहरू धेरैभन्दा धेरै समय मोबाइल, फोन, कम्प्यूटटर लगायतका ग्याजेट्सको प्रयोगमा विताउने गर्छन्। भिडियो गेम्स तथा सोसल मिडियामा अघि बढ्ने होडले पनि उनीहरूमा तनाव पैदा गर्न सक्छ ।
पारिवारिक झगडा
परिवारमा कलह, आमाबाबुबीच झगडा, रुवाबासी, झैझगडा, किचलो लगायतले पनि बालबालिकाको मस्तिष्कमा नकारात्मक असर पर्ने गर्छ। जसका कारण बालबालिकाले एक्लो महसुस गर्न थाल्छन् ।
नयाँ माहोल
प्रायः बालबालिकाहरू नयाँ ठाउँमा चाडै घुलमिल हुन सक्दैनन्। चाहे त्यो नयाँ स्कुल होस्, नयाँ शहर होस् वा नयाँ साथी नै। उनीहरूलाई पुराना कुरा भुलेर नयाँ वातावरणमा भिज्न नै समय लाग्छ। बालबालिकाहरूलाई तनावमुक्त राख्ने यस्ता छन् स्मार्ट टिप्स -बालबालिकाहरूको सबैभन्दा राम्रो साथी भनेको उनीहरूका आमाबाबु हुन् । बालबालिका आफ्ना आमाबुसित जति नजिक हुन्छन्, अरूसित विरलै हुनसक्छन्। त्यसैले, कुनै पनि समस्या आए त्यस्ता समस्यासित कसरी जुध्ने भन्ने कुरा आमाबाबुले नै आˆना बालबालिकाहरूलाई सबैभन्दा राम्ररी बताउन सक्छन्।
बालबालिका तनाव छ जस्तो भन्ने महसुस हुन्छ भने बालबालिकासित धेरै भन्दा धेरै समय व्यतीत गर्ने कोसिस गरौं, उनीहरूसित कुरा गरौं, के भएको हो, बुझ्ने प्रयत्न गरौं। उनीहरूलाई माया गरौं। अँगालोमा बाधौं ता कि बालबालिकाले आफूलाई एक्लो महसुस नगरून्। बालबालिकालाई स्पेशल महसुस गराऔँ। उनीहरूको इच्छा, आकांक्षालाई बुझ्ने प्रयास गरौं। उनीहरूले के मन पराउँछन्, के मन पराउँदैन त्यसको बारेमा जानकारी राखौँ। यसले बालबालिकाहरूलाई स्पेशल फिल गराउनुका साथै यस्ता प्रश्न गर्नाले उनीहरूलाई महसुस हुन्छ, घरमा उनीहरूको कुराले पनि महत्व राख्छ। अरू बालबालिकाले के गरे भन्नुभन्दा पनि आˆना बालबालिकाको क्षमता बुझ्ने प्रयास गरौँ।
बालबालिकाले जे गर्छ, त्यसको सराहना सिकौं। चाहे त्यो आर्ट होस् वा डान्स वा कुनै खेलकुद सम्बन्धी गतिविध नै किन नहोस्। अन्य बालबालिकासित आफ्नो बालबालिकाको तुलना गर्नुको सट्टा आफ्नो बालबालिकामा भएको कमी पहिल्याउने कोसिस गरौँ। उनीहरूको हौसला बढाऔँ। यसले बालबालिकाको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छ। सकेसम्म बालबालिकालाई ग्याजेट्सको प्रयोगबाट टाढा राखौ। शिक्षक/शिक्षिकाले पनि बालबालिकालाई गाली गर्नुका सट्टा उनीहरूको मनोदशालाई बुझेर व्यवहार गर्न जरुरी छ। बालबालिकाहरूलाई दैनिक ८ देखि १० घण्टाको निद्रा आवश्यक पर्छ। उनीहरूलाई समयमै सुत्न तथा उठ्न प्रोत्साहित गरौँ। अभिभावक जतिधेरै तनावमा रहन्छन्, बालबालिकाहरूमा यसको प्रभाव पनि उत्ति नै धेरै रहने गर्छ।
त्यसैले अभिभावकहरूले सबैभन्दा पहिले आˆनो तनावलाई बालबालिकाहरूबाट टाढा राख्नुपर्छ। कतिपय बालबालिकाहरूमा तनावको अर्को कारण उनीहरूको गल्ती बन्ने गर्छ। त्यसैले, हरेक अभिभावकले आफ्ना बालबालिकाहरूलाई गल्तीबाट डराउने हैन, सिक्नुपर्छ भन्ने सल्लाह दिनुपर्छ। गल्ती भइहालेको खण्डमा डराउने हैन, त्यसलाई सच्याएर अघि बढ्ने सल्लाह दिनुपर्छ। जब बालबालिका तनावमा हुन्छन् तब धेरै खान थाल्छन्। जथाभावी तरिकाले आवश्यकताभन्दा बढी खाएमा मोटोपनाको समस्या बढ्ने हुँदा बालबालिकाहरूलाई विशेष गरी जंकफुडबाट टाढा राख्नुपर्छ। बालबालिकाको स्वास्थ्यमा गम्भीर असर नपरोस् भन्नका लागि उनीहरूलाई सन्तुलित आहार ख्वाउनुपर्छ। गुलियो पेय पदार्थ तथा क्याफिनबाट टाढा राख्नु पर्छ।बालबालिकालाई जनावर मनपर्छ भने घरमा पाल्ने जनावर राखिदिनुपर्छ। यसले बालबालिकाको तनाव कम गर्न मद्दत गर्छ ।