अध्ययनका लागि दुबई ? यी हुन् थाहा पाउनै पर्ने जानकारी

अध्ययनका लागि दुबई ? यी हुन् थाहा पाउनै पर्ने जानकारी

अध्ययनका लागि दुबई ? पहिलोपटक जो-कोहीलाई पनि यो प्रश्न मनमा आउन सक्छ । कारण, धेरै नेपाली युवा कामका लागि दुबई गइरहेको हामीले देखेका छौं । तर दुबई अध्ययनको लागि पनि नेपाली युवाहरूको लागि गतिलो गन्तव्य हो भन्ने कुरा निकै कमलाई मात्र थाहा हुन सक्छ ।

सामान्यतया अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका र यूरोपियन मुलुकहरू पर्दै आएका छन् । तर विद्यार्थीले यी उल्लिखित देशहरूकै दाँजोमा शैक्षिक गुणस्तर दुबईमा पनि पाउन सक्छन् । त्यो पनि यी देशहरूको तुलनामा केही सस्तो मूल्यमा । त्यसो त दुबईमा अध्ययन गर्न विद्यार्थीले माथि उल्लिखित देशहरू जत्तिकै दरमा खर्च गर्नुपर्ने पनि हुन्छ । तर केही त्यस्ता विषय र कलेजहरू छन्, जो मध्यमवर्गीय नेपाली विद्यार्थीका लागि रोजाइमा पर्न सक्छन् ।

दुबई पछिल्लोपटक विश्वकै विकसित मुलुकको रूपमा दर्ज भइसकेको छ । अरू ठूला र विकसित भनिएका देशहरू पनि दुबईको विकसित रूप हेरेर अहिले चकित पर्छन् । यूरोप, अष्ट्रेलिया र अमेरिकाकै तुलनामा दुबईको विकास भैसकेको छ भन्दा अत्युक्ति नहोला ।

दुबई अध्ययन किन ?

दुबईको शिक्षा प्रणाली विश्वका उत्कृष्ट शिक्षा प्रणाली भएका देशहरूसँग दाँजिन्छ । र, यहाँ विश्वका उत्कृष्ट मानिएका थुप्रै कलेज अनि युनिभर्सिटीहरूले विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् । नेपाली विद्यार्थीका लागि दुबई किन उत्कृष्ट गन्तव्य बन्न सक्छ भने विद्यार्थीले दुबईमा अध्ययन गरिरहँदा सँगसँगै काम गर्ने अवसर पाउँछन् । र, विद्यार्थीले आफूले गरेको कामबाट भएको कमाइबाट आफ्नो दैनिक खर्चसँगै अध्ययन खर्च पनि सजिलै जुटाउन सक्छन् । अन्तर्राष्ट्रियस्तरको डिग्री विद्यार्थीले आफ्नै खर्चमा लिन सक्ने भएपछि त्योभन्दा राम्रो अरू के हुन सक्छ ?

दुबई बस्नको लागि पनि सुरक्षित देश हो । वातावरणीय हिसाबले पनि दुबई स्वच्छ मुलुक हो । ‘मिडल इष्ट’का अन्य देशको तुलनामा दुबई धेरै स्वतन्त्र देश पनि हो । दुबईमा बस्न, खान, हिंड्न र डुल्नमा कुनै खालको रोकावट छैन । महिलाहरूको हकमा पनि दुबई स्वतन्त्र मुलुक हो । अन्य इस्लामिक देशहरू जस्तै महिलाहरूलाई केही गर्न नपाउने खालको बन्देज दुबईमा छैन ।

अर्को गज्जबको पक्ष के हो भने दुबई अध्ययनका लागि आवश्यक सबै प्रक्रिया र कागजात जुटाएको खण्डमा दुबईको भिसा लाग्ने सम्भावना करीब शतप्रतिशत रहन्छ । सहज, सुलभ अनि झन्झटमुक्त प्रक्रिया भएका कारण नेपाली विद्यार्थीको अध्ययनको गन्तव्य दुबई हुन सक्छ ।

विद्यार्थीले दुबई अध्ययनको लागि गइसकेपछि करीब दुई महीनाभित्र ‘वर्क पर्मिट’ पाइसक्छन् । र, वर्क पर्मिट भइसकेपछि उनीहरूले दुबईको जुनसुकै सेक्टरको हरेक तहमा -आफ्नो क्षमताअनुसार) काम गर्न सक्छन् । यसरी वर्क पर्मिट पाएर काम गर्ने विद्यार्थीको लागि अर्को गज्जबको कुरा के हो भने, नेपालबाट वर्किङ भिसामै गएर काम गरिरहेका सामान्य कामदारको तुलनामा बढी कमाइ हुन्छ । र, कामको सवालमा विद्यार्थी केही स्वतन्त्र पनि हुन्छन् ।

कस्ता विषय रोज्ने ?

दुबईमा मेडिकल कलेजहरू निकै महँगा हुन्छन् । धेरै कम मात्र नेपाली विद्यार्थीले यस्ता कलेजहरू ‘अफोर्ड’ गर्न सक्छन् ।

तुलनात्मक रूपमा व्यवस्थापन संकायका कक्षाहरू दुबईमा सस्तो पर्छन् । हस्पिटालिटी म्यानेजमेन्ट, इभेन्ट म्यानेजमेन्ट, आईटी, स्पोर्टस् म्यानेजमेन्ट जस्ता विषय अध्ययनका लागि दुबई उत्कृष्ट गन्तव्य हो । त्यो बाहेक विद्यार्थीले फिल्म डाइरेक्सन, प्रोडक्शन म्यानेजमेन्ट जस्ता विषय पनि दुबईमा अध्ययन गर्न सक्छन् । विशेषगरी इभेन्ट म्यानेजमेन्ट र स्पोर्टस् म्यानेजमेन्टमा विश्वमै दुबई अग्रणी देश हो, त्यसैले यी विषय अध्ययन गरिरहँदा विद्यार्थीले त्यहाँका विज्ञहरूको टीममा सहभागी भएर काम गर्न पाउने अवसर पनि रहन्छ ।

त्यसैगरी दुबई पर्यटकीय मुलुक पनि हो । भ्रमणका लागि विश्वका थुप्रै मानिस दुबई आउँछन् । फाइभ स्टार लेभलभन्दा माथिका होटलहरूका लागि दुबई विश्वमै दोस्रो नम्बरमा आउँछ । हस्पिटालिटी म्यानेजमेन्ट सेक्टरमा अध्ययन गर्ने विद्यार्थीका लागि पनि दुबई उत्कृष्ट गन्तव्य हुन सक्छ । अध्ययन, इन्टर्नसिप र अध्ययनपश्चात पाइने विभिन्न खाले अवसरका कारण दुबई विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य हो ।

व्यवस्थापन संकायसँग जोडिएका विभिन्न विषय अध्ययन गर्न नेपालमै पनि ठूलै रकम खर्च गर्नुपर्ने हुन्छ । करीब नेपालमा हुने खर्चकै हाराहारीमा खर्च गर्न सके दुबईमा अन्तर्राष्ट्रियस्तरको डिग्री हासिल गर्न सकिन्छ । जुन डिग्रीले विद्यार्थीलाई कालान्तरमा विश्वव्यापी रूपमा दक्ष जनशक्तिको रूपमा काम गर्न सजिलो बनाउँछ ।

आर्थिक वृद्धिको हिसाबले पनि दुबईले निकै फड्को मारिसकेको छ । दुबईको जीवनशैली कुनै युरोपियन मुलुकभन्दा कम छैन । दुबईको प्रति व्यक्ति आय हेर्ने हो भने पनि त्यो विकसित मुलुकको तुलनामा कम देखिंदैन ।

नेपाली विद्यार्थी वैदेशिक अध्ययनमा जाँदा त्यहाँ गएपछि आफूले काम गरेर आफ्नो कलेज वा युनिभर्सिटीको शुल्क अनि आफ्नो दैनिक खर्च धान्न सक्छु कि सक्दिनँ भनेर सबैभन्दा बढी सचेत हुने गरेका छन् । र, यो मामिलामा नेपाली विद्यार्थीका लागि दुबई एकदम सही गन्तव्य हो ।

दुबईमा अध्ययन गर्ने विद्यार्थीले काम पनि गर्न पाउने र त्यहाँबाट भएको कमाइले आफ्नो खर्च धान्न सजिलै सक्ने भएकोले अझ विद्यार्थीको लागि गज्जबको अवसर छ । दुबईमा अध्ययनपश्चात् सम्बन्धित क्षेत्रमा सजिलै विद्यार्थीले रोजगारीको अवसर पाउने भएकोले पनि विद्यार्थीले दुबईलाई आफ्नो शैक्षिक गन्तव्य बनाउन सक्छन् ।

 

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url