तपाईको आफ्नो राम्रो वा नराम्रो बानीले बच्चामा कस्तो प्रभाव पार्दछ?

 तपाईको आफ्नो राम्रो वा नराम्रो बानीले बच्चामा कस्तो प्रभाव पार्दछ?

विवाह होस् वा व्रतबन्ध, पारिवारिक होस् वा साथीभाइसँग जमघट, हरेक सभा, समारोहमा मदिरा अनिवार्य हुन्छ । परिवर्तित जीवनशैलीमा आफूलाई अभ्यस्त गराउन मदिराको सेवन गर्नु अब नेपाली समाजमा खासै नौलो रहेन । तथापि जमघटको नाममा दिनहँु मदिराको सेवन गर्दाचाहिँ व्यक्तिको स्वास्थ्यमा मात्र नभई त्यसको असर पूरै परिवारले समेत भोग्नु पर्छ । अझ घरमा बालबालिका छन्, भने त्यसको असर सबैभन्दा धेरै बालबालिकालाई नै हुने गर्छ ।

घरमा आमा, बाबु वा दुईजनामा मदिराको कुलतमा फसेका कारण उनीहरूको अधिकांश समय मदिरा सेवन गर्नमै बित्ने गर्छ । जसका कारण बालबालिकाले आफूलाई लागेको कुरा अभिभावक समक्ष खुलस्त भन्न सक्दैनन् । साथै उनीहरूको स्याहार समेत राम्रोसित हुँदैन । कतिसम्म भने बालबालिकालाई कुनै रोगको संक्रमण भएमा समेत उनीहरूको उचित उपचार हुन सक्दैन । यसको प्रत्यक्ष असर बालबालिकाहरूमा त पर्छ नै । बालबालिकाको मनोविज्ञान तथा वृद्धिविकासमा समेत यसको असर देखिने गर्छ ।

मदिराले बालबालिकालाई कसरी असर गर्छ?

आमाबाबुले अत्यधिक मदिराको सेवन गरेमा त्यसको असर सबैभन्दा बढी बालबालिकालाई पर्छ । उनीहरू सधैभरि तनावमा रहनुका साथै उनीहरूको अधिकांश समय आमाबाबुले मदिरा गर्नुको कारणबारे सोच्दैमा बित्ने गर्छ । -आफ्ना अभिभावकले अत्यधिक मदिराको सेवन गर्छन् भन्ने कुरालाई बालबालिकाले स्वीकारे पनि समाजका कारण ती बालबालिका अरूसित सजिलै घुलमिल हुन सक्दैनन् । यसबाट उनीहरूले एक्लो महसुस गर्न थाल्छन् ।

-त्यति मात्र हैन, यस्ता सामाजिक परिवेशमा हुर्केका बालबालिकाले आफ्ना कुरा अरूसित खुलस्त भन्न सक्दैनन् । जसका कारण उनीहरूले आफ्नो भावना दबाउने गर्छन् । उनीहरूमा तनाव तथा डिप्रेसनको समस्या निम्तने गर्छ । -घरमा आमाबाबु दुवैले मदिरापान गरेमा त्यस्तो घरको वातावरणले बालबालिकाको मनोविज्ञानमा त असर पर्छ नै । साथै, उनीहरूको पढाइलेखाइ, बुझाइ, स्वास्थ्य लगायतको सोच्न सक्ने क्षमतामा समेत असर पर्छ । – यस्ता बालबालिकामा आत्मसम्मानको अभाव, विश्वासको कमीका साथै धेरै तनाव रहने गर्छ, जसका कारण बालबालिका पछि गएर कुनै पनि कुरा गर्नबाट निरुत्साहित हुन्छन् ।

यस्तो वातावरणबाट बालबालिकालाई टाढा राख्नु प्रत्येक अभिभावकको जिम्मेवारी हो । कर्तव्य हो । यसको लागि प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई अत्यधिक मदिराको सेवन गर्ने व्यक्तिबाट टाढै राखेर पनि यो समस्या कम गर्न सक्दछन् । अत्यधिक मदिराको सेवन गर्ने व्यक्तिलाई मदिरा सेवन गर्नबाट निरुत्साहित गरेर, मदिरा छुटाउने ठाउँको बारेमा सही जानकारी दिएर तथा पुनस्र्थापना केन्द्रमा जाने सुझाव दिएर पनि यो समस्या हल गर्न सकिन्छ । यतिले पनि नभएमा भने अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिबाट टाढा भएर पनि बालबालिकालाई यस्तो परिवेशबाट टाढा राख्न सकिन्छ ।

 

 


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url