विद्यार्थी बिरामी भएपछि विद्यालय अनिश्चितकालका लागि बन्द

विद्यार्थी बिरामी भएपछि विद्यालय अनिश्चितकालका लागि बन्द

पर्वत,

खुलेको दुई साता नपुग्दै धमाधम विद्यार्थी बिरामी भएपछि जिल्लाका २ विद्यालय पुनः अनिश्चितकालका लागि बन्द गरिएका छन् । कोरोनासंग मिल्दोजुल्दो लक्षणसंगै अधिकांश विद्यार्थी बिरामी भएपछि कुश्मा नगरपालिका–११ पकुवाका दुई विद्यालय बन्द भएका हुन् ।

वडाध्यक्ष शिवप्रसाद पौडेलका अनुसार गत बिहीबारदेखि विश्वज्योति मावि र रानीस्वाँरा आधारभूत विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । बिहीबार केही विद्यार्थीमा लक्षण देखिएको र भोलिपल्ट विद्यालयका अधिकांश विद्यार्थी बिरामी भए । अघिल्लो दिन सामान्य रुघाखोकीबाट सुरु भएको लक्षण भोलिपल्ट ज्वरोसमेत आएपछि विद्यालयले शुक्रबारदेखि नै विद्यालय बन्द गर्ने तयारी गरेको थियो । तर, सम्बन्धित निकायबाट अनुमति नभएपछि उक्त दिन नियमित पढाइ भएको प्रधानाध्यापक गणेश तिमिल्सिनाले बताए ।

सुरुमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी बिरामी भएको र आइतबारसम्म सबैजसो कक्षामा उक्त लक्षणका बिरामी देखिएपछि गाउँ शिक्षा समितिले आपत्कालीन निर्णय गरेर विद्यालय बन्द गरेको हो । ‘कोभिडको जस्तै लक्षण सबैजसो बिरामीमा देखियो,’ पौडेलले भने, ‘एक सय चार डिग्रीसम्म ज्वरो आएपछि हामीले तत्कालै निर्णय गरेर विद्यालय बन्द गरेका हौं ।’ बिरामी विद्यार्थीमध्ये सबैको पीसीआर परीक्षण गरिएको र विशेष निगरानीमा राखिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको रानीस्वाँरा आधारभूत विद्यालयले जनाएको छ । सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेको र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । अहिले लक्षण देखिएका ७० जना विद्यार्थीको पीसीआर परीक्षणका लागि पठाइएको वडा अध्यक्ष पौडेलले बताए । भाइरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीलाई भनिएको छ । उनीहरूले स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरेर औषधि सेवन गरिरहेको प्रअ तिमिल्सिनाले बताए ।

स्वास्थ्यकर्मीले भने भाइरलमा पनि कोभिडको जस्तै लक्षण देखिने भएकोले सजगता अपनाउन सूचित गरेका छन् । पर्वत अस्पतालका डा. मानव तिवारीका अनुसार मनसुन सकिएर चीसो मौसम सुरु हुने सिजन भएकाले भाइरलको समस्या हुन सक्ने बताए । ‘सबैतिर कोभिडको महामारी भएकोले यसै हो भन्न सकिने अवस्था छैन । पीसीआरको रिपोर्ट आएपछि सबै तथ्य खुल्छ,’ उनले भने, ‘भाइरलको पनि उस्तै लक्षण भएकोले सामान्य औषधि दिएर सजगता अपनाउन भनेका छौं ।’

पर्वतमा कोभिड व्यवस्थापन तथा नियन्त्रण समिति (डीसीसीएमसी) को आदेशसँगै असोज १ देखि विद्यालयले भौतिक उपस्थितिमा पढाइ सुरु गरेका हुन् । जिल्लामा कोरोना संक्रमण दर भने न्यून छ । अहिले जिल्लाभरमा सक्रिय संक्रमित सात जना छन् ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url