काठमाडौंबासीको तिर्खा मेट्ने सपना मेलम्चीको बाढी सँगै बग्यो

काठमाडौं, 

यसपालीको बाढी पहिरोबाट सबैभन्दा बढी प्रभाव सिन्धुपाल्चोकमा परेको छ । हेलम्बुदेखि मेलम्ची बजार क्षेत्रको त अस्तित्व नै जोखिमा पारेको छ । यति मात्र होइन, मेलम्चीको पानी खाने काठमाडौंबासीको २२ वर्षदेखिको पर्खाईमा समेत ठूलो धक्का लागेको छ । परीक्षणकै क्रममा भए पनि गत चैतमा केही दिन काठमाडौंका धारामा आएको मेलम्चीको पानी अब फेरि के आउला भन्ने चिन्ता थपिएको छ ।

यसपालीको बाढीपहिरोले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजारसम्मको अस्तित्व लगभग नामेटै पारेको छ। जनधनको अकल्पनीय क्षति र बगरमा परिणत बजारलाई पुरानै लयमा फर्काउन त अब तत्काल सम्भव समेत देखिन्न । स्थानीयलाई खाना, नाना र छानाको समस्या कसरी टार्ने चिन्ता एकातिर छँदैछ अर्कोतिर २२ वर्षदेखि काठमाडौंले पर्खेको मेलम्ची खानेपानी आयोजना समेत नराम्ररी प्रभावित भएको छ । 

देशले बर्षौ पर्खेको आयोजनामा असार १ गतेकै बाढीले बाँध र अन्य पूर्वाधारमा निकै क्षति पुर्याएको थियो । त्यहाँ पुग्ने र क्षतिको आंकलन समेत गर्नै नपाउँदा चार दिन अघि थपिएको अर्को विनासले आयोजना स्थल बगरमा परिणत भएको छ । बाढीपछि पुरिएको पानी सुरुङमा पठाउने अम्वाथानमा रहेको मुख्य हिटबक्स कै नामोनिसान छैन् । आयोजना सम्म पुग्ने पाँचवटा पुल बगाएको छ भने,अन्य वैकल्पिक बाटोहरु समेत छैन । त्यसैले अहिलेसम्म मेलम्ची खानेपानी आयोजनामा कहाँ, के, कति क्षति पुग्यो भन्ने एकिन गर्नै लामो लाग्ने देखिएको  छ । तर सवैभन्दा महत्वपूर्ण पानी ल्याउने टनेलमा असर नपरेकोले आयोजना धरासायी हुनबाट भने जोगिएको छ । त्यसो त मेलम्ची आसपासमा अझै बाढीको जोखिम कति छ भन्ने एकिन भैसकेको छैन । नदीको मुहान र ससाना खोल्साहरुमा ठूलो पहिरो गएकोले अहिले माटो बगिरहेको भनिएको भेमाथाङ, याङग्री लगायतका माथिल्लो क्षेत्रमा जोखिम कायमै छ । अब त्यो रोकिन सक्छ कि सक्क्तैन र त्यसपछिको जोखिमका बारेमा अध्ययन हुन नै महिनौ लाग्ने देखिएको छ । त्यसपछि बल्ल इन्जिनियरिङ पक्षको विस्तृत अध्ययन गरेर आगामी दिनमा बग्नसक्ने गेग्य्रानलाई रोक्ने उपाय खोजिने छ । अनि मात्रै मेलम्ची क्षेत्र र खानेपानीको भविष्य जोगाउन सकिने विज्ञहरु बताउँछन् ।  

मेलम्ची क्षेत्रले यसपालीको बाढीको विनासबाट तङ्ग्रिन निकै संघर्ष गर्नुपर्ने भएकोले विपत्तिमा परेकाहरुको जीवनरक्षा अब राज्यको मुख्य दायित्व हुनुपर्छ । यससँगै मेलम्ची खानेपानी आयोजनामा मुलुकले गरेको लगानी र काठमाडौंबासीको तिर्खा मेट्ने सपना जोगाउँदै त्यसको भविष्य सुरक्षित पनि आयोजनाको क्षति पहिचान, पुनर्निमाण र सञ्चालनमा सरकार उत्तिकै संवेदनशील बन्नु आवश्यक छ ।  


Previous Post Next Post