बुटवलको ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर जोखिममा

बुटवल,

बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर जोखिममा परेका छन्। चुरे पहाडबाट खसेको पहिरोका कारण मनमाया भाट क्षेत्रीलगायतका ६ घरमा क्षति पुगेको छ।  बस्ती माथिको चुरे पहाडमा भदौ ११ गते नै पहिरो गएको थियो। पहिरो गएपछि स्थानीयले घरका सरसामानमा र गोठका बस्तुभाउ सारिसकेका छन्। 

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँका विद्युतका पोल बगाएको छ। यसअघि २ वटा पहिरो गएको  बुटवलको वडा नं. ३ र ४ माथिको चुरेमा योसँगै ३ वटा ठूला पहिरो गएका हुन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का कार्यबाहक बडा अध्यक्ष लिला श्रेष्ठले पहिरोले ४ वटा घर पुरिए पनि  उज्यालो भएपछि पहिरो खसेकाले कुनै मानवीय क्षति नभएको बताए।

पहिरोले पुरिएका र जोखिममा परेका घरका बासिन्दालाई बुटवल बहुमुखी क्याम्पसको भवनमा राखिएको छ। २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो। 

यस्तै  तिनाउ नदीमा आएको बाढीले बुटवल–११ बुद्धनगरका १२ घरमा क्षति पुगेको छ। आईतबार बिहानदेखि बाढी बस्तीतिर सोझिएर घर कटान गर्न थालेको हो। क्षति बढ्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा लैजान लागिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url