17 Jul 2021

सत्ता भागबन्डा: प्रभावशाली मन्त्रालय आफ्नो भागमा पार्न दलहरुबीच खिचातानी

काठमाडौ,


सत्ताको नेतृत्व लिएको कांग्रेसले मन्त्रालय भागबन्डा र सरकारको न्यूनतम साझा कार्यक्रमलगायत काम गर्न अनौपचारिक तहको कार्यदल बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बालुवाटारमा शुक्रबार बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठकले सत्ता गठबन्धन दलबाट दुई/दुई जना सदस्य रहने गरी कार्यदल बनाउन प्रस्ताव गरेको हो ।

दलहरूबीच प्रभावशाली मन्त्रालय आफ्नो भागमा पार्न खिचातानी चलिरहेको छ । मन्त्रालय भागबन्डाको मापदण्ड तय गरेर निर्णयका लागि सहजीकरण गर्न कार्यदलले काम गर्ने कांग्रेसका एक नेताले बताए । एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय नभएकाले मन्त्रालय भागबन्डामा अन्योल भएको उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएकै दिन कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना सरकारमा गए पनि अन्य मन्त्रालय भागबन्डा हुन नसक्दा मन्त्रिपरिषद् विस्तार भएको छैन ।

कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी तयारी अघि बढाएको छ । भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशनको तालिका तोकिएको छ । तल्लो तहका अधिवेशन भने साउन १२ देखि नै सुरु हुने भएको छ । क्रियाशील सदस्यता र निर्वाचन समितिको निर्देशिका टुंगो लगाउने काम भइरहेको कांग्रेस नेता रमेश लेखकले बताए । उनले समयमै महाधिवेशन सम्पन्न गर्ने गरी छलफल केन्द्रित भएको बताए । क्रियाशील सदस्यता र निर्वाचन समितिको निर्देशिका सम्बन्धित कामहरू टुंगो लाग्ने भएको बताए ।

क्रियाशील सदस्यतासम्बन्धी विवादलाई लिएर सिन्धुपाल्चोकका कांग्रेसका स्थानीय नेताहरूको अगुवाइमा आएका एक हूल कार्यकर्ताले शुक्रबार सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गरेका छन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका करिब १२ सय सदस्यताको विवाद उठेकाले समितिले शीर्ष तहमा पठाउने निर्णय गरेको थियो, त्यसैलाई लिएर घिमिरेमाथि हातपात भएको हो । ‘मलाई केहीछिन सल्लाह छ भनेर साथीहरूले बाहिर बोलाउनुभयो, राम्रै व्यवहार गरेर बोलाएकाले म साथीहरूमाझ गएँ । गेटबाहिर जानासाथ जथाभावी मुख छाड्दै ममाथि हातपात भयो,’ घिमिरेले भने ।

समितिले गौशालास्थित धर्मशालामा बसेर छानबिनको काम गरिरहेको छ । पूर्वमन्त्रीसमेत रहेका नेता मोहन बस्नेतले बिहान त्यही विषयलाई लिएर घिमिरेलाई टेलिफोन गरी धम्क्याएका थिए । ‘समितिका सदस्यमाथि नै हातपात हुनुलाई संयोग मात्रै मान्न सकिन्न,’ समितिका एक सदस्यले भने, ‘यो घटनालाई गम्भीरतापूर्वक लिन हामीले पार्टी शीर्ष नेताहरूको पनि ध्यान तानेका छौं । मकवानपुर, बारा, धनुषा र सप्तरीमा पनि सदस्यता विवाद चर्केको छ ।

पार्टीले विधानको प्रक्रिया पूरा नगरेका नयाँ क्रियाशील सदस्यतासम्बन्धी विवादलाई थाती राखेर पुराना सदस्यबाट अधिवेशन गराउने निर्णय गरेको छ । यसैलाई लिएर कार्यकर्ताले पार्टी कार्यालय धर्ना दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

बिज्ञापनको लागि सम्पर्क - ९८५७६२१९२० / 9857621920 - Email:- digitalparikalpanaa@gmail.com