रामायणको लोकप्रियता

नेपाली साहित्य-भाषा अध्ययन गर्ने तथा नेपाली साहित्यका विद्यार्धी, प्रा.डा, शिक्षक तथा साहित्यका तमाम् विद्यार्थी तथा नेपाली भाषा-साहित्य लेख्न-पढ़्न रुचाउने बाहेक पनि नेपाली हुँ भनी गर्व गर्ने संसारभरिकै नेपालीले तनहुँमा पाइताला टेक्ने सौभाग्य नपाए पनि तनहुँको नाउँ ता अवश्यै सुनेकै हुनुपर्छ ।  तनहुँको नाउँ नसुन्ने पनि रम्घा गाउँको नाम नसुन्ने नेपाली विरलाकोटि पाइएलान् । नेपाली साहित्य फाँटमा तनहुँ अन्तर्गत रम्घा गाउँको नाउँ प्रसिद्ध छ । तनहुँबारे भानुभक्त स्वयमले जानकारी दिएका छन् –

“पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण आचार्य ब्राह्मण थिया,
खुप् उच्चा कुल आर्यवंशी हुन गै सतकर्ममा मन् दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिनको नाति म भानुभक्त हुन् यो जानि चिह्नी लिया ।।

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल अन्तर्गत रहेको तनहुँ गाउँमै २९ गते असार विं.सं. १८७१  (सन् १८१४) भानुभक्तको जन्म भएको हो ।

नेपालतिर कस्तो छ को’नि यता (भारततिर) वर्षैभरी रामायण कुन दुलामा हुन्छन् सो बारे अत्तोपत्तो नभए पनि भानुजयन्ती आउने दिनतिर भने रामायण धुइँपताल लाएर खोज्ने काम हुने गर्दछ । वर्षमा एक दिन मात्र भानु जयन्तीमा रामायण पाठको निम्ति रामायणका पानाहरू पल्टाइन्छन्…अरु ३६४ दिनमा भने रामायण थन्को लाउने काम हुन्छ । गणडकी अञ्चलमा रहेको तनहुँ । रामायण कहिल्यै नपल्टाउने नेपालीले समेत रामायण पढ़ेका कुरा गरेर भानुभक्त प्रेमी भइटोपल्छन् ।

भानुभक्तको भानुभक्तको रामायण विश्वप्रसिद्ध छ । सिङ्गो नेपाली जनमानसको जिब्रामा रामायण किन भिज्न सक्यो ?, किन रामायण अद्यापि श्रद्धेय र स्तुत्य छ त्यो पनि प्रश्न छँदैछ । संसारभरिका प्रत्येक नेपालीको घरमा रामायण नहोलान्, छैन पनि । तर रुपियाँमा पन्ध्रै आना नेपाली भानुभक्तको रामायण अत्यन्तै चाख मानेर पढ़्ने गर्दछन् । कति घर ता यस्ता पनि देखिन्छन् जुन घरमा साँझ-बिहान एकचोटि रामायणको श्लोक फलाकिन्छ । यो रामायण विश्वमै चाखिलो हुनुमा भानुभक्तकै अनुवाद शक्तिको बेजोड़ कला र सीप छ । भानुभक्त रामायणलाई संस्कृतमाथि सोझै अनुवाद गरेका छैनन् यो रामायण । उनको अनुवादेली शिल्प-सौन्दर्य, कला तथा सिपले नेपालीहरूको अन्तरात्मालाई छुन सकेको छ । रामायणमा प्रयोग गरिएका सरल र ठेट भाषाले सिङ्गो नेपालीका मुटुको सिरानमै वास पाएको छ । रामायणको सिरानदेखि पुच्छरसम्मैका अनुवादेली पङ्क्तिहरूमा नेपाली जातिको चरित्र, नेपाली जातिको विशेषता उल्लेख भएको पाइन्छ । नेपाली जातिको वीरताको कथालाई संसारैले स्वीकारेको छ । हाम्रै पिता-पूर्खाहरूले नाङ्गो सिरुपाते खुकुरीले जर्मन फाँड़ेका हुन्, “जय महाकाली ! आयो गोर्खाली !!”को गगनभेदी र वैरीको मुटु हल्लाउने हुङ्कारले संसारका मैँ हुँ मैँ हुँ भन्ने लड़ाकूहरूको सातो-पुत्लो खाएकै हुन् । संस्कृत भाषाको रामायण अनुवाद गर्ने क्रममा भानुभक्तले रामयणको चरित्रमा नेपालीको वीरतालाई आत्मसात गर्दै बहादुर, निडर, ढीट जातिको चरित्र दर्शाएकाले नै रामायण वीर जातिका सन्तान दर सन्तानको निम्ति लोकप्रिय हुन पुगेको हो । नेपाली वीर जातिको चरित्र युद्धकाण्डको श्लोक २४५  देखि २४८  सम्मका श्लोकमा वालछ्याल पाइन्छ –

“यो रावण रणभूमिमा जब पुग्यो सामने हुनुमान् गया ।
मूर्छा पारि गिराउँ यस् कन भनी एक् मुड़्की हान्दा भया ।।
छातीमा जब मुड़्कि बज्रन गयो खुप् बज्र तुल्यै गरी ।
घूँड़ा टेकि गिऱ्यो पनी दुइ घड़ी मूर्छा तुरन्तै परी ।।२४५।।”

२। “मूर्छा देखि उठ्यो र रावण  तहाँ स्याबास् तँ होस् वीर भनी ।
ठूला विर् हनुमानलाइ बुझि खूप् साह्रै सह्रायो पनी ।
रावणले हनुमानको सह्रनि खुप् ताहाँ गरेथ्यो जसै ।
रावणका सब सेखि तोड़्न हनुमान विर् बोल्न लाग्या तसै ।।२४६।।”

३। “हे रावण ! किन गर्दछस् सह्रनि यो धिक्कार् म मान्छू बरु ।
मेरो मु़ड़्कि पऱ्या पछी पनि बचिस् बोल्छस् यहाँ क्या गरू ।।
एक चोट् हान् तँ पनी मलाइ म पनि फेर् हान्छु छाती महाँ ।
एक् मुड़्की अब हानुला तँ न मरी उम्केर जालास् कहाँ ।।२४७।।”

४। “ई बात् श्रीहनुमान्ले जब गऱ्या बेसै  भन्यो हो भनी ।
एक् चोट् श्रीहुनुमानका हृदयमा ताकेर हान्यो पनी ।।
फेरी श्रीहुनुमान सऱ्या अघि तहाँ मुड़्की उठाई जसै ।
रावण् टिक्न सकेन एक् क्षण पनी अन्यत्र भाग्यो तसै ।।२४८।।”

उपरोक्त चारैवटा श्लोकमा अनुवादक भानुभक्तले हनुमानको चरित्रमा नेपाली वीर जातिको आँट, बल, साहस, रिसाहापन, सन्केपन थोपेर रामायणलाई मिठाइलो, टेसिलो बनाएका छन् । विश्वमा शत्रुसमेतले नेपाली वीरहरुको सह्राना गरेको इतिहास कतै छैन । रामायणको युद्धकाण्डमा पनि शत्रु रावणले हुनुमानको गतिलो मुड़्की खाएर पनि उनै शत्रु हनुमानको सह्राना गरेको पाइन्छ । यो नेपाली जातिको वीरताले पाउनुपर्ने सम्मान हो । रामायणका यी श्लोकहरूमा नेपाली वीरतालाई भानुभक्तले पनि यसरी नै सह्राना गरेकाले रामायण लोकप्रियताको चुलीमा पुग्न सक्षम भएको हो ।

वाणको प्रहारले रावणले मृत्युवरण गर्छन् । रावण मृत्युको खबर पाएपछि रावणका रानीहरू आएर रुन थाल्छन् ।

” रावणका सब रानि आयर विलाप् खुप् गर्न लाग्या तहाँ ।
पृथ्वीमा लड़ि खुप् विभीषण पनी रोया रहन्थ्या कहाँ ।।
बीत्या दाज्यु भनी विभीषण पनी खुप् रुन लाग्य  जसै ।
लक्ष्मणलाइ हुकुम् भयो प्रभुजिको संझाउ भन्न्या तसै ।।”
(युद्धकाण्ड २५३)

युद्धभूमिमा मात्रै शत्रु तर मानवताको नातामा कोही शत्रु हुँदैनन् । रामले सीता अपहरण गरेका रिस राममा भए पनि शत्रुसित शत्रुजस्तै युद्ध गरेर पछि रावणका पत्नीहरूको विलाप देख्दा रामको मन पलाउनु नै कमुलो नेपाली मन, सरल नेपाली हृदय हुन्छ भन्ने कवि भानुभक्तले यहाँ यस श्लोकमा देखाउने प्रयास गरेको देखिन्छ । पतिवियोग तथा भातृवियोगमा रुने शोकाकुल परिवारकहाँ गएर सम्झाउनु भनी रामले लक्ष्मणलाई आदेश दिनछन् । यो जस्तो ठूलो वसुधैव कुटुम्बकमको मन्त्र अरु कुन हुनसक्छ ? नेपाली मन, नेपाली हृदय मानवतावादीको पूजारी हुन्छ भन्ने जव्लन्त उदारण रामायणमा प्रस्तुत गरेकाले पनि रामायण लोकप्रिय भएको हो । रामायणमा रामलाई नेपाली रामकै रुपमा प्रतिष्ठा गरी नेपालीजस्तै रामलाई पनि दयालु बनाएर दयालु नेपाली जातिकै हुबहु चरित्र उदाङ्गो पारेको पाइऩ्छ ।

“बाचुनज्याल् रिस हुन्छ शत्रु सितको ऐल्हे मरी यो गयो ।
यसको रिस अब गर्नु छैन अब ता मेरो रिस् दूर् भयो ।.
रुन्छन् रानिहरू बुझाउ गर लौ क्रीया विधानले गरी ।
पैल्हे  यै न गरी हुँदैन तिमिले यै हो  क्रियाको  घरी ।।”
(युद्धकाण्ड २८०)

रामको उदारतामा नेपालीपन छर्लङ्ङै देखिन्छ । आफ्नी अर्धाङ्गिनीलाई अपहरण गर्ने, एक नम्बरका अभिमानी लङ्केश्वर रावणसित आरम्भमा अग्निशर्मा भए पनि उनकै हातद्वारा मृत्युवरण गर्ने दम्भी रावणप्रति पछि माया पलाउने रामको विशाल हृदयप्रति आप्लुप्त हुनेहरूद्वारा नै रामायण लोकप्रिय भएको हो भन्न सकिन्छ ।

रामायण लोकप्रिय, बहुचर्चित हुनाको कारण यो पनि हो –

“जो यो कथा कन खुसी भइ पाठ गर्छन् ।
सुन्छन् कहीं कहिं सुनायर पाप हर्छन् ।।
खुप् आयु बढ़्छ तिनको अति सौख्य हुन्छन् ।
धनलाभ हुन्छ बहुतै तब नित्य सुन्छन् ।।”
(श्रीउत्तरकाण्ड श्लोक ९३)

रामायण निशदिन पाठ गर्नाले, गराउनाले पापको नाश हुनाका साथै आयुसँगसँगै जीवन सुखिलो हुन्छ । त्यति मात्र होइन रामायण पाठ गर्नाले वा सुनाउनाले धनलाभ पनि हुने कुराले रामायणको महत्व बढ्नाका साथै नेपाली जनमानसमा लोकप्रिय भएको हो ।

रामायणमा पितृप्रेम, भातृप्रेम, भार्याप्रेम, शत्रुप्रेम जस्तो मर्यादा र सम्मान तथा आदरको दिग्दर्शन पाइन्छ । पिता-पुत्र, दाजु-भाइ, पति-पत्नि, शत्रु-मित्रमाझ कस्तो सम्बन्ध हुनुपर्छ सो पनि पाइने हुनाले रामायण बहुचर्चित भएको हो भन्न सकिन्छ । भातृत्वप्रेमको जव्लन्त नमूना –

“ख्वामित ! हजुरको म त दास पो हूँ ।
यो राज्य गर्ना गन योग्य को हूँ ।।
यो गादि ता याहिं हजुरको हो ।
मैले त सेवा गरि बस्नु पो हो ।।”
(श्रीअयोध्याकाण्ड श्लोक ९४)

“वेला त यो होइन जान वनमा ।
मेरा त यै निश्चय हुन्छ मनमा ।।
जाऔ घरै फर्कि सधाइ जावस् ।
मेरी इ माता सित रिस् न आवस ।।”
(श्रीअयोध्याकाण्ड श्लोक ९६)

“यसता प्रकारले गरि विन्ति गर्दै ।
आँखा भरी आँसु बहुत धर्दै ।।
रोया भरतले जब पाउमा गै ।
बोल्या प्रभूले पनि खूसि मन् भै ।।”
(श्रीअयोध्याकाण्ड श्लोक ९७)

“हे भाइ ! गर्छौ किन जिद्दी ।
फिर्नु असल् छैन र काम् न सिद्धी ।
जान्छू म वनमा तिमि फर्कि जाऊ ।
यस् राज्यको काम् तिमीले चलाऊ ।।”
(श्रीअयोध्याकाण्ड श्लोक ९८)

नीतिगत कारणले कसैसित वैरभाव भए पनि हामी नेपालीहरूमाझ नीतिगत वैर बिर्सी परस्पर मिल्ने गर्दछौं । रामले बालि वध गरेपछि बालिले रामले वर्षाएका वाण निकालिदिने अनुरोध गर्दा रामले शत्रुको सादर विन्तिलाई शिरोपर गरी बालिको छातीबाट वाण झिकिदिन्छन् । यो नै एकजना योद्धामा हुनुपर्ने गुण हो । यस्ता गुण नेपाली जातिमा मात्रै पाइन्छ । रामायणमा सोही नेपाली चरित्र प्रतिपादन गर्नाका साथै भानुभक्तले रामायणमा शत्रुप्रति निष्ठावान, शुभाकाङ्क्षी मित्रको सहृदय हृदयलार्इ परिचित गराएकामा पनि रामायण लोकप्रियका साथै ग्रहणयोग्य भएको देखिन्छ । जस्तो –

“पायाँ मर्न म भाग्यको कति बखान् मेरो म ऐल्हे गरूँ ।
को पाऊँछ हजूरलाइ भगवान् ! मर्न्या बखतमा अरू ।।
मेरो ता गति यै थियो मिलि गयो जान्छू परमधाम म ता ।
अङ्गद माथि दया रहोस् हजुरको हाजिर् छ सेवक् उ ता ।।”
(श्रीकिष्किन्धाकाण्ड श्लोक ५४)

“मेरा छाति महाँ छ वाण् हजुरको यो खैचि छोई दिया ।
शीतल् देह हुने थियो सहजमा प्राण् आज जान्या थिया ।।
बालीका इ वचन् सुनी प्रभुजिले बाण् झिकी छूँदा भया ।
ठाकुरका अघि देह छोडि खुसि भै बाली परमधाम गया ।।”

(श्रीकिष्किन्धाकाण्ड श्लोक ५५) ति देख्दा कुन बालीको गोहार सुठी नै चित्तदुख्दो छ । सुग्रीवका दाजु शत्रु भएकाले राम रुखमा छल लागेर बालीको वध गरे पनि एकजना पाठक वा रामायण वाचकका दृष्टिमा बालीको छटपटाइ, गोहारले मन नछुने कुरै होइन । बालीप्रति बरू टिठ्याइँ नै जन्मिन्छ । यो टिठ्याइँले पनि रामायणले प्रसिद्धि पाएको अर्को कारण हो ।

पति-पत्नीको प्रेमलाई जुन प्रकारले उजागार गरिएको छ सो साह्रै टिठलाग्दो छ । सीतालाई अपहरण गरेर अशोकवाटिकमा पुऱ्याएपछि सीताको विचलित अवस्था देख्ता वा पठन गर्दा पनि आँखामा आँसु नरसिने होइन । सीताको यो मार्मिक अवस्थाकै कारणले पनि रामायणले लोकप्रसिद्धीको पगड़ी गुँथ्न सकेको हो । जस्तो –

“भोकि मैलि निन्याउरी न त कपाल् कोऱ्याकि सब् केश् उसै ।
लट्टा मात्र गऱ्याकि खालि भूमिमा रुँदै बस्याएकी यसै ।।
रा्म् राम् राम् यति मात्र बोलि रहँदी देख्या र साना भई ।
पातका अन्तरमा लुक्या ति हनुमान् रुखका उपरमा गई ।।
(श्रीसुन्दरकाण्ड श्लोक ३१)

“राममा चित्त दियेर मर्नु बढ़िया मानेर सीता तहाँ ।
झुऩडीन्या मतलब् लिई खडि भइन् पक्रेर हाँगा महाँ ।।
राक्षसका बिचमा बसी जिउनु धिक् मर्नू निको मर्दछु ।
चूल्ठो लामु छ झुण्डिना कन यहाँ डोरी त यै गर्दछू ।।
(श्रीसुन्दरकाण्ड श्लोक ५२)

यसबाहेक रामायमले सिङ्गो नेपाली संसारमा लोकप्रियता हासिल गर्ने अन्य धेरै कारणहरू पनि छन् । तिनको पछि बयान गरुँला । अहिलेलाई यो रामायणले यति लोकप्रियता हासिल गर्ने मुख्य कारण हो यसमा प्रयुक्त नेपाली ठेट, झर्रा तथा सरल भाषा । संस्कृत भाषाजस्तो क्लिष्ट भाषाको रामाय़णलाई नेपाली जिब्रामा भिज्ने नेपाली भाषामा उल्था गरिएकोले नै भानुभक्त उल्थित यो रामयण अद्यावधि लोकप्रिय भएको हो । मुख्य कुरो ता यो रामाय़ण साउँ अक्षरसम्म छिचोल्न सक्ने भाषामा उल्था गरिएको हुनाले यसले प्रसिद्धि पाएको हो ।

विशेष, भानभक्त उल्थित यस लोकप्रिय रामायण भाव र रसले ओतप्रोत देखिन्छ । यसमा श्रृङगाररस, हास्यरस, करुणरस, रौद्ररस, भयानकरस, वीभत्सरस, अद्भुतरस अनि शान्तरस अथवा नौवटै रस समाहित हुनाका साथै रामायणमा वेदान्ती अध्यात्मचेतनाको पछ्यौरामा बाँधी भक्तिरससमेत प्रवाहित गरेको हुँदा रामायणका श्रोता-पाठक दुवैलाई भक्तिभावविह्वल बनाउन सोह्रै आना सफल भएकोले पनि रामायणले यति धेर लोकप्रियता हासिल गर्न सक्षम भएको हो ।

यसबाहेक शब्दालङ्कार र अर्थालङ्काको प्रयोगले पनि रामायणलाई  रमणीय तुल्याएको पाइन्छ । भानुभक्तले रामायणमा शब्दालङ्कार मध्ये छेकानुप्रास, वृत्यानुप्रास र श्रुत्यनुप्रास अनि अर्थालङ्कारहरूमध्ये अतिशयोक्ति रुपक /  उपमा, दृष्टान्त. असङ्गतिहरू प्रयोग गरेर रामायणलाई रसिलो, टेसिलो बनाउने भक्कुचूर प्रयास गरेको देखिन्छ । अभिधामूलक कथन, लाक्षणिक र व्यञ्जनाशील गहन उक्तिले पनि रामायणलाई लोकप्रिय बनाउनुमा छिनु र मार्तोलो काम गरेको छ ।

नेपाली संसार रहुञ्जेल भानुभक्तको रामायण नेपालीका जिब्रामा झुण्डिएर बस्नेछ । यसको लोकप्रियता दिनदिनै बढ़्नेछ….घटने चाहिँ पटक्कै होइन ।

Previous Post Next Post