10 Jun 2021

‘बल्ब बनेर अमेरिका बस्नुभन्दा बरू नेपाल फर्केर दीयो बाल्छु’

🖎  बिष्णुप्रसाद जोशी

  

‘हिमाल, नदीनाला र कला-संस्कृतिमा नेपाल साह्रै सुन्दर छ भन्छन्। एकचोटी नेपाल भ्रमण गर्ने सपना छ मेरो,’ क्यालिफोर्निया विश्वविद्यालय-बर्कलीका प्राध्यापक फ्रान्सिसले मतिर हेर्दै सोधे, ‘तर शिक्षा, स्वास्थ्य अनि सामाजिक सुरक्षा कस्तो छ त तिम्रो देशमा?’
म एकछिन द्वुविधामा परें- राम्रो छ भनुँ भने गुणस्तरीय उच्च-शिक्षाका लागि म आफैं किन विदेशिनु पर्थ्यो? नराम्रो छ भनुँ भने आफ्नै मातृभूमिको अपमान  गरुँ कसरी? काठमाडौंमा ठूल्ठूला अस्पताल छन भनुँ भने बाल्यकालमा एक चक्की सिटामोल नपाई फुपू मरणासन्न अवस्थामा पुग्नुभएको याद आयो।
केहीबेर घोरिएपछि संयमित भएर भनें- नेपालीहरू कर्मठ छन्। सादा जीवनयापन गर्छन, जे मिल्छ त्यसैमा सन्तोष गर्छन्। आमजनजीवनमा सरकार हुनु या नहुनुको खासै फरक छैन, नेपालमा।
स्यान्डविच टोक्दै प्राध्यापकले फेरि सोधे- पढाइ सकिएपछि के गर्ने विचार छ नि?
अमेरिकामै सेटल हुने विचार भए अहिलेदेखि नै तयारी गर भन्ने उनको सुझाव थियो। सधैँका लागि अमेरिका बस्ने कल्पनाले मात्र पनि मलाई उदास बनायो।
मैले भनें, ‘यहाँ सुविधायुक्त जीवन छ, जागिरका अवसर छन्। तर प्रोफेसर, मेरा केही सपना छन्-सूर्यकोमूनि बल्ब जलाउनुभन्दा जहाँ अँध्यारो छ त्यहाँ एउटा दियोमात्रै जलाउन पाएँ भने मलाई ज्यादा सन्तुष्टि मिल्नेछ।
मेरो भावुक अभिव्यक्ति सुनेर प्रध्यापकले भने, ‘आई एम इम्प्रेस्सेड बट स्टिल आई वुड सजेस्ट यु टु किप योर अप्सन्स ओपन।
ल्याबमा सानो एक्स्पेरिमेन्ट सकेर म त्यो दिन चाँडै घरतिर लागें। बाटोभरि मन कस्तोकस्तो भइरह्यो। अपार्टमेन्ट पुगेर केही स्वदेश गान सुनेपछि आजै नेपाल फर्किउँझैं पनि लाग्यो। एकछिन अनलाइनहरू खोलेर देशका समाचार हेरें। भ्रष्टाचार, बेरोजगारी र विरोधले भरिएका ती समाचार स्वदेशगानमा भावनासँग मिल्नेखालका थिएनन्। समाचारका बीचमा देखिए- विदेश पठाउन कन्सल्ट्यान्सीका विज्ञापन।  ती विज्ञापनले मलाई विगत सम्झाए।  
अमेरिका उड्नुअघि म पढेको जोरपाटीको शान्ति आदर्श माविका प्रधानाध्यापक मेरा श्रद्धेय गुरु हृषिकेश बराललाई भेट्न गएको थिएँ।
‘बिष्णु तँ सानो छँदा पढीलेखी ठूलो मान्छे बनेर देशको विकास गर्छु भन्ने निबन्ध लेख्थिस्, कविता सुनाउथिस्,’ बराल सरले भन्नुभयो, ‘तर आज यति धेरै पढेपछि तँ अमेरिका उड्ने भइस्?
मैले लामो सास तानेर भनें, ‘के गर्ने सर मायालेमात्रै पुग्ने भए मदन किन भोट जानुपर्थ्यो!’
अचेलका मदनहरू सात समुद्रपारिका भोट जान्छन्।
समयसँगै नेपालमा व्यवस्था फेरियो, तन्त्र फेरिए, नेता फेरिए तर भोट जानुपर्ने नेपालीको नियति फेरिएन।  मेरो नियति पनि कसरी फरक हुन सक्थ्यो र!
मेरा आमाबुवा निम्न माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो। बझाङ बाजुरालगायत सुदूरपश्चिमका प्राय: सबै माध्यमिक विद्यालयमा एसएलसी परीक्षाको नतिजा निराशाजनक थियो। प्राथमिक विद्यालय सकिएपछि आमाले आफ्नो कानमा भएको सुनको बाला बेचेर मलाई काठमाडौं पढ्न पठाउनुभयो।
स्कुलको फी तिर्न आमाबुवाले आफ्नो सञ्चय कोषको सबै पैसा निकाल्नुभयो तर हाम्रो पढाइ रोक्नुभएन। बुबाआमाका अरू साथीहरू कोही तराई घर बनाई बसे, कोही काठमाडौं पसे।  मेरा  बुबाआमाले आजीवन बझाङ र बाजुरामा चक घोटेर भाइ र मलाई काठमाडौं पठाउनुभयो। काठमाडौं पढ्ने बेलामा दशैंतिहारमा घर जाँदा माओवादी भेटिन्थे। साम्यवाद ल्याउँछौं भन्थे। तिनकै लहैलहैमा लागि बुर्जुवा शिक्षा के काम भनी मेरा धेरै साथीले स्कुल छोडे। कैयौंले ज्यान गुमाए। ०६३ सालमा शान्ति सम्झौता भयो। माओवादी युद्ध सकियो। युद्ध त सकियो तर बेरोजगारी र अभाव सकिएन।  ‘बुर्जुवा शिक्षा नपढेका’ मेरा साथी पनि अरू थुप्रै युवायुवतीसँगै खाडी भासिन थाले।
मेरा बुबाआमाले आफ्नो सबै सम्पत्ति खर्चेर नपढाएको भए आज म पनि अरू साथीजस्तै खाडीमा हुन्थें होला वा भारतमा चौकिदारी पो गर्दै हुन्थें कि! मैले बुबाआमाले नखाइनलाई जोगाएको पैसा खर्चिएर राम्रै गरी पढें। छात्रवृत्ति पाएर भारतको श्री सत्य साई विश्वविद्यालयबाट रसायनशास्त्रमा डिस्टिंक्सन (ए ग्रेड) ल्याएर स्नातकोत्तर सकें। त्यसपछि आमाबुबाको सेवा गर्दै आफ्नो गाउँ-ठाउँमै केही गर्ने अठोट लिएर म  नेपाल फर्किएँ। ३० वर्ष पढाएर बुबाआमा रिटायर्ड हुनुभयो। आमाबाको सेवा गरी गाउँमै बस्ने मेरो अठोटलाई भने समयले साथ दिएन।
आमालाई मधुमेह र आँखाको समस्या देखियो। बझाङका स्वास्थ्य चौकीमा यी रोगको सामान्य जाँच गर्नेसमेत सुविधा थिएन। आमाको उपचार गर्न म फेरि काठमाडौं आएँ। आमा आएपछि बुवा पनि सँगै आउनुभयो।
पुरै परिवार काठमाडौंमा बस्न र आमाको उपचार गर्न महिनामा झन्डै पचास हजार रुपैयाँ चाहिने भयो। आफूलाई जागिरको प्रस्ताव आउँथ्यो- महिनाको १५ हजारको ।त्यसपछि मैले देशमै केही गर्ने अठोट त्यागें र पढ्न थाले जिआरई र टोफेलका बुक।जिआरईमा राम्रो नम्बर आएपछि अष्ट्रेलिया, क्यानडा र अमेरिकाका कलेजबाट विद्यावारिधीका साथै ‘टिचिङ असिस्टेन्ट’ का प्रस्ताव आए। युनिभर्सिटी अफ म्यासाचुसेट्स-एमहर्स्टले महिनाको २ लाख रुपैयाँ दिने प्रस्ताव गरेपछि अमेरिका आउने निधो भयो । भिनाजुसँग ऋण मागेर काठमाडौं-नयाँदिल्ली-न्यूयोर्क उडानको सबैभन्दा सस्तो टिकट काटें। दिल्ली विमानस्थलको अन्तर्राष्ट्रिय उडान टर्मिनलबाट विमान चढ्न जान लाग्दा एक भारतीय प्रहरीले मलाई मलाई रोके। शंकालु नजरले हेर्दै पासपोर्ट मागे। नेपाली पासपोर्टमा युमासको भिसा देखेपछि सोधे-असली है क्या ?झनक्क दिमाग तात्यो-यो हरिलट्ठकलाई ‘म्यासाचुसेट्स’ को उच्चारण त आउँदैन होला, यसले मलाई हेप्ने! अमेरिका जान लागेको मलाई त हेप्ने यी भारतीय प्रहरीले मजदुरी गरी फर्किएका नेपालीलाई जोगबनी, रक्सौल, रूपडियहा, गौरीफन्टा र गड्डाचौकी नाकामा के गर्दा हुन्!
एकछिनमा उसको हाकिमले भन्यो- असली है, छोड दे।
जहाज दिल्लीबाट न्यूयोर्कतिर उडिरहेको थियो मेरो मनमा देश गरिब हुनु पर्दा भोग्नु पर्ने हेपाइका शिलशिला खेलिरहेका थिए।  
यो कुरा हाम्रा नेताहरूलाई किन आभाष नभएको होला? राजदूतहरूको अगाडि लम्पसार परी आफ्नो परिवारको उपचार गर्न ‘राजकीय‘ भ्रमणमा अमेरिका/युरोप जाँदा उनीहरूका स्वागतमा एउटा सचिवस्तरीय कर्मचारी आँउछन्। हरे राष्ट्रको बेइज्जत! घन्टौंको यात्रापछि जहाज अमेरिका पुग्यो। अमेरिका अर्थात् सपना र अवसरहरूको देश। न्युयोर्कका गगनचुम्बी भवनमाझ सेन्ट्रलपार्क बगैंचा। शहरीकरण र प्रकृति संरक्षणको अतुलनीय समिश्रण।
केही दिनअघि काठमाडौंको धुलो र धुँवा खाएको मान्छेलाई त यहाँका गल्ली नै पार्क-उद्यानझैं लागे। सबैजना नियम-कानुन पालन गर्छन्, इमानदारी, पारदर्शिता र कर्तव्य परायणता त मानौं यहाँको माटो र हावामै छ। विकसित देशको व्यवस्थित शहरीकरण, सुशासन र उद्यमशीलतालाई टपक्कै टिपेर नेपालमा लान पाए नि हुन्थ्यो! केही वर्ष अमेरिकामा पढ्दै/पढाउँदै बिते। ऋण तिरियो, विवाह गरियो। भाइलाई काठमाडौंमा घर किन्न मद्दत गरियो। मेरो परिवारको हालत पहिलाभन्दा राम्रो भयो। तर देशको हालत अझै उस्तै छ।
व्यक्तिगत रूपमा सफल भए पनि देशको हालतदेखि मन खिन्न हुन्छ। देश कसरी सम्वृद्ध बनाउने? गरीबी कसरी हटाउने? भन्ने चिन्ताले दिनरात पिरोल्छ। मातृभूमि र आमाबुबाको काखबाट टाढा बस्नुपर्दा आफ्नो गाउँ-ठाउँ अनि देशको माया झन धेरै लाग्दो रहेछ! अहिले मेरासामू दुई विकल्प छन्। मेरा प्रोफेसरले भनेजस्तै अमेरिकामै सेटल हुने वा अमेरिकी संसारलाई तिलाञ्जली दिएर नेपाल फर्किने।
मेरा प्रोफेसरले भनेजस्तै मैले सबै विकल्प खुला राखेको छैन, नेपाल फर्किने सोच बनाइसकेको छु।  
बिनिशा श्रेष्ठ र राजेन्द्रप्रसाद पंगेनीजस्ता युवा नेपाल फर्कौं महाअभियानमा छन्। आफ्नो विद्वता साधन-स्रोतलाई स्वेदशमै परिचालन गरी उद्यमशीलताको नमूना अनि  रोजगारी सृजना गर्न चाहने युवालाई प्रवर्द्धन गर्ने पूर्वाधार निर्माणमा जुटेका छन्।
बिनिशा भन्छिन, ‘विदेश पठाउने सयौं संघसंस्था छन्। तर नेपाल फर्की आफ्नै देशमा केही गरौं भन्ने चाहना भएका नेपालीलाई फेरि नेपालमै स्थापित हुन सहयोग गर्ने, उनीहरूका  अधिकार सुरक्षित गर्ने, उद्योग-व्यवसाय दर्ताको प्रक्रिया सहज बनाउन मद्दत गर्ने संस्थाको रूपमा नेपाल फर्कौं महाअभियानलाई विकसित गर्दै लैजाने हाम्रो लक्ष्य हो।राजेन्द्र दाइ भन्नुहुन्छ-आफ्ना व्यक्तिगत महत्वाकांक्षा त्यागेर, आफ्नै गाउँ फर्कौं र सामूहिक योगदान गरौं।
बिनिशा र राजेन्द्र दाइजस्ता दृढ़ संकल्पित युवाबाट अब देशलाई ठूलो आशा छ। म पनि नेपाल फर्कौं अभियानमा ठूलो सम्भावना देख्छु। नेपालीहरू जहाँ भए पनि मन नेपाली नै हुन्छ।  भौतिक रूपमा सबैजना नेपाल फर्किन नसके/नचाहे पनि विदेशमा भएका लाखौं नेपालीहरूमा देशको लागि केही गर्ने भावना ओतप्रोत छ। उनीहरूसँग साधन, स्रोत र पुँजी छ तर आफ्नै गाउँ-ठाउँमा त्यो पुँजी परिचालन गर्न समय र स्थान छैन। अर्कातिर गाउँ-घरमै केही गर्न चाहने युवा छन् जोसँग समय र जोश-जाँगर त छ तर  स्रोत साधन र पुँजी छैन। अब परदेशिएका युवाले  विदेशमा कमाएको पुँजीलाई आ-आफ्नै गाउँ-ठाउँ मा रेमिट्यान्समात्र नपठाएर गाउँमा भएका युवालाई रोजगारीसमेत  हुने गरी लगानी गर्ने सञ्जाल बनाउनु पर्छ। अब नेपालमा आर्थिक विकास गर्न देशविदेशका नेपालीबीच कस्तो हातेमालो हुनुपर्छ भन्नेबारे मध्यपूर्वमा कार्यरत दीपक उप्रेतीको यो कविता सान्दर्भिक छ।

तिमीलाई थोरै ज्ञान छ भने
आफ्नै घरको ध्यान छ भने।
तिमी गर्ने कोशिस गर
कठिन परे म सघाउँछु।
तिमी कर्मयोगी बन्छौ भने
आफ्नै खेतबारीमा रम्छौ भने।
तिम्रै खेतको कान्लोसम्म
बिजन बोकी म आउनेछु।
तिम्रो बाली फल्यो भने
भकारी नी भर्‍यो भने।
बजारसम्म लैजानलाई
भरिया लिई म आउनेछु।

देशमा उद्यमशीलता प्रवर्द्धन, रोजगारी सृजना, अनि भ्रष्टाचार उन्मुलन गर्न व्यक्तिगत, सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्दछ। राज्यकोष संकलन र वितरणमा पारदर्शिता अवलम्बन गर्न यी सेवाहरूलाई क्रमशः डिजिटल बनाई, आमजनताले हेर्ने पाउने गरी प्रकाशित गरिनुपर्छ। स्कुल, कलेज, विश्वविद्यालय, गुठी, अस्पताल, अख्तियार दुरूपयोग अनुसन्धानजस्ता संस्थालाई राजनीति अनि विभिन्न दलीय संगठनमुक्त बनाइनु पर्छ।
राजनीतिले हाम्रो जीवनको हरेक पाटोलाई रंगाइदिएको छ भने अब हामीले यसलाई फोहोरी खेल भनेर टाढा बस्ने स्थिति छैन। सड़कमा गई बन्द-हडताल गरौं भनेको होइन। सबैलाई सक्रिय रूपमा राजनीति गर्नुस् पनि भनेको होइन, तर अब वैचारिक रूपमा हामीले चासो देखाउनै पर्छ। सुशासन र निष्पक्षताको प्रवर्द्धन हुनैपर्छ। देश बदल्नु छ भने अब हामी सबै नेपालीले राजनीतिक आस्थामा स्वतन्त्र भई हाम्राभन्दा राम्राको चयन गर्नै पर्छ। अब सुसंस्कृत र मूल्यमान्यताको वैकल्पिक राजनीति गर्न चाहने सचेत नागरिक एकै छातामुनि उभिनु जरूरी छ। खासगरी युवाले अब सचेत हुनु जरूरी छ। अब पनि हामी सचेत भएनौं भने नयाँ पुस्ताका ‘मदन’हरूको पनि भोट जानु पर्ने नियति फेरिने छैन।
छान्ना, बझाङ
हाल: विद्यावारिधि(रसायनशास्त्र)
युनिभर्सिटी अफ म्यासचुसेट्स
प्रकाशित मिति: मंगलबार, असार १०,
[सेतोपाटी]


प्रतिक्रिया दिनुहोस

बिज्ञापनको लागि सम्पर्क - ९८५७६२१९२० / 9857621920 - Email:- digitalparikalpanaa@gmail.com